नेपालमा मौसम बदलीसँगै ठाउँ ठाउँमा वर्षा हुन थालेपछि तापक्रममा क्रमशः कमी आउन थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, विशेष गरी पूर्वी नेपालमा पछिल्लो दुई दिनदेखि बढी वर्षा भएकाले तापक्रम घटेको छ। पश्चिमी क्षेत्रमा भने अझै गर्मी कायम रहे पनि बिस्तारै तापक्रम घट्ने सङ्केत देखिएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार, पूर्वी क्षेत्रमा तापक्रम पहिल्यै घटिसकेको छ भने पश्चिमी क्षेत्रमा अझै तातो छ। तर, वर्षाको प्रभावले तापक्रम क्रमशः कम हुँदै छ। उनले पूर्वी क्षेत्रको तुलनामा पश्चिममा गर्मी बढी हुने बताए। पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको छ। यो वर्षा बिहीबार र शुक्रवार पनि जारी रहने र तापक्रम थप घट्ने लामिछानेले बताए।
महाशाखाले देशव्यापी ठुलो वर्षा गराउने कुनै प्रणाली नरहे पनि दिउँसोको समयमा गर्मी महसुस हुने जनाएको छ। बुधवार साँझ जारी सूचनामा महाशाखाले कोसी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम र एक–दुई ठाउँमा भारी वर्षा भएको उल्लेख गरेको छ। यो वर्षा प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गएकाले गण्डकी र सुदूरपश्चिम प्रदेशमा पनि हल्का वर्षाको सम्भावना छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
मनसुनको स्थिति
मौसमविद् लामिछानेका अनुसार, हाल मनसुन जेठ १५ गतेको अवस्थामा कायम छ र कोसी प्रदेशबाहेक अन्यत्र फैलिएको छैन। उनले मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको र केही दिनमा नयाँ जानकारी प्राप्त हुने बताए। महाशाखाले मनसुनको अवस्थाबारे अनुगमन गरिरहेको छ र सबै मापदण्ड पूरा भएपछि बुलेटिनमार्फत जानकारी दिनेछ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ नजिकिँदै छ। यो वर्ष मनसुन १५ दिनअघि नै कोसी प्रदेशबाट प्रवेश गरेको थियो तर पछि पूर्वी एसियातर्फ फर्किएको महाशाखाले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान