म्याग्दी जिल्लामा यस वर्ष भिरमह उत्पादनमा उल्लेखनीय कमी आएको छ। मह सिकारीहरूका अनुसार, विगतको तुलनामा ७५ प्रतिशतले कम मह उत्पादन भएको छ।
अन्नपूर्ण गाउँपालिकाका एक मह सिकारीले गत वर्ष एक हजार लिटर मह सङ्कलन गरेकोमा यस वर्ष जम्मा २०० लिटर मात्र उत्पादन भएको बताए। उनको टोलीले स्वाँत नजिकैको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेको थियो। हिउँदको खडेरी र मह सिकारको समयमा भएको वर्षाले मौरीहरू चरन क्षेत्रमा पुग्न नसक्दा गोलाको मह खाएकाले उत्पादनमा कमी आएको मह सिकारीले बताए। म्याग्दीको अन्नपूर्ण, रघुगंगा र धौलागिरि गाउँपालिकाका लेकाली क्षेत्रमा जेठ महिनामा भिरमह सिकार गर्ने प्रचलन छ।
वसन्त र शरद् ऋतु भिरमह सिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्तमा बेँसी र शरद्मा लेकमा पुगेर मह निकाल्ने गरिन्छ। धौलागिरि गाउँपालिका–२, खोरीयाका अर्का मह सिकारीको टोलीले गत वर्ष दुई हजार लिटर मह सङ्कलन गरेकोमा यस वर्ष ५०० लिटर मात्र निकाल्न सक्यो। गुर्जा, मुदी, रघुगंगाको चिमखोला, कुइनेमंगले र अन्नपूर्णको हिस्तानका भिरमा मह सिकार गर्ने टोलीहरूले पनि उत्पादनमा कमी आएको बताएका छन्।
भिर मौरीहरू खोल्सानजिकको ओसिलो अक्करे पहाडको बिच भागमा बस्छन्। वनजंगलमा फुल्ने फूलहरू तिनको आहार हुन्। हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढेसँगै माथिल्लो क्षेत्रमा बसाइँ सर्छन्।
डरलाग्दो भिरमा डोरीको सहायताले झुन्डिएर निकालिने भिरमह प्रतिलिटर रु. ३,००० देखि रु. ३,५०० मा बिक्री हुन्छ। स्वादिलो, स्वास्थ्य वर्द्धक र शक्ति वर्द्धक मानिने यो मह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ। विदेश र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजाने गर्छन्।
मह सिकारका लागि सिकारीहरू दुई समूहमा विभाजित हुन्छन्। एउटा समूहले भिरको माथिबाट तलसम्म डोरी (परङ) झुन्ड्याउँछ भने अर्को समूहले तल बसेर मह थाप्ने र व्यवस्थापन गर्ने गर्छ। महको चाका वरिपरि मौरीहरू घेरिएर बसेका हुन्छन्। धुवाँ लगाएपछि मौरी भाग्छन्, र सिकारीहरूले सावधानीपूर्वक मह निकाल्छन्।
मौरीले टोक्ने डरले धुवाँ लगाउँदा वरपरका सिकारीहरू रूख वा ओडारमा लुक्छन्। मौरी भागेपछि मात्र सिकारीहरूले मह निकाल्न सुरु गर्छन्। मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको मह डोरीको सहायताले भुईँसम्म ल्याइन्छ।
यस वर्षको उत्पादनमा आएको कमीले मह सिकारीहरूको जीविकोपार्जनमा समेत असर परेको छ। स्थानीय बासिन्दाहरूले मौसम परिवर्तन र पर्यावरणीय प्रभावलाई यसको प्रमुख कारण मानेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वी चितवनमा २८ जातका केराको परीक्षण गरिंदै
- करोडौंको लगानीमा बन्धाताल पूर्वाधार निर्माण गरिंदै
- घट्दै छन् दुर्लभ सुनौलो तोप चरा
- ट्रम्पले युक्रेनलाई मिसाइल र हतियार दिने, रुसलाई ५० दिनको अल्टिमेटम
- दक्षिण सुडानमा गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति चयन
- देशभर ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
- वर्षा नहुँदा धान ब्याडमै सुक्न थाले
- चेल्सीले जित्यो २०२५ फिफा क्लब विश्वकप
- इजरायली सेनाको आक्रमणमा मध्य गाजामा पानी लिन गएका बालबालिका सहित प्यालेस्टाइनीहरूको मृत्यु
- कफीको बिरुवा – साढे १३ लाख कमाई
