म्याग्दी जिल्लामा यस वर्ष भिरमह उत्पादनमा उल्लेखनीय कमी आएको छ। मह सिकारीहरूका अनुसार, विगतको तुलनामा ७५ प्रतिशतले कम मह उत्पादन भएको छ।
अन्नपूर्ण गाउँपालिकाका एक मह सिकारीले गत वर्ष एक हजार लिटर मह सङ्कलन गरेकोमा यस वर्ष जम्मा २०० लिटर मात्र उत्पादन भएको बताए। उनको टोलीले स्वाँत नजिकैको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेको थियो। हिउँदको खडेरी र मह सिकारको समयमा भएको वर्षाले मौरीहरू चरन क्षेत्रमा पुग्न नसक्दा गोलाको मह खाएकाले उत्पादनमा कमी आएको मह सिकारीले बताए। म्याग्दीको अन्नपूर्ण, रघुगंगा र धौलागिरि गाउँपालिकाका लेकाली क्षेत्रमा जेठ महिनामा भिरमह सिकार गर्ने प्रचलन छ।
वसन्त र शरद् ऋतु भिरमह सिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्तमा बेँसी र शरद्मा लेकमा पुगेर मह निकाल्ने गरिन्छ। धौलागिरि गाउँपालिका–२, खोरीयाका अर्का मह सिकारीको टोलीले गत वर्ष दुई हजार लिटर मह सङ्कलन गरेकोमा यस वर्ष ५०० लिटर मात्र निकाल्न सक्यो। गुर्जा, मुदी, रघुगंगाको चिमखोला, कुइनेमंगले र अन्नपूर्णको हिस्तानका भिरमा मह सिकार गर्ने टोलीहरूले पनि उत्पादनमा कमी आएको बताएका छन्।
भिर मौरीहरू खोल्सानजिकको ओसिलो अक्करे पहाडको बिच भागमा बस्छन्। वनजंगलमा फुल्ने फूलहरू तिनको आहार हुन्। हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढेसँगै माथिल्लो क्षेत्रमा बसाइँ सर्छन्।
डरलाग्दो भिरमा डोरीको सहायताले झुन्डिएर निकालिने भिरमह प्रतिलिटर रु. ३,००० देखि रु. ३,५०० मा बिक्री हुन्छ। स्वादिलो, स्वास्थ्य वर्द्धक र शक्ति वर्द्धक मानिने यो मह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ। विदेश र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजाने गर्छन्।
मह सिकारका लागि सिकारीहरू दुई समूहमा विभाजित हुन्छन्। एउटा समूहले भिरको माथिबाट तलसम्म डोरी (परङ) झुन्ड्याउँछ भने अर्को समूहले तल बसेर मह थाप्ने र व्यवस्थापन गर्ने गर्छ। महको चाका वरिपरि मौरीहरू घेरिएर बसेका हुन्छन्। धुवाँ लगाएपछि मौरी भाग्छन्, र सिकारीहरूले सावधानीपूर्वक मह निकाल्छन्।
मौरीले टोक्ने डरले धुवाँ लगाउँदा वरपरका सिकारीहरू रूख वा ओडारमा लुक्छन्। मौरी भागेपछि मात्र सिकारीहरूले मह निकाल्न सुरु गर्छन्। मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको मह डोरीको सहायताले भुईँसम्म ल्याइन्छ।
यस वर्षको उत्पादनमा आएको कमीले मह सिकारीहरूको जीविकोपार्जनमा समेत असर परेको छ। स्थानीय बासिन्दाहरूले मौसम परिवर्तन र पर्यावरणीय प्रभावलाई यसको प्रमुख कारण मानेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीमितलाई एक लाख उपचार सुविधा कायम, ओपिडीमा सीमितता
- टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली
- अपराध गरेर विदेश लुकेका १० जनालाई इन्टरपोल सहयोगमा नेपाल फर्काइयो
- सञ्चारमाध्यम उल्लङ्घनमा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन
- निर्वाचन आयोगद्वारा नागरिक शिक्षा स्रोत सामग्री सार्वजनिक
- आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
- बुवाको पहिचान नहुँदा एघार वर्ष आमाको नामबाट नागरिकता
- कृषि क्षेत्र सुस्त, उद्योग र सेवा चलायमान, चालु आवको वृद्धिदर ३.५%
- आज उच्च पहाड र हिमालमा बदली, तराईमा तुँवालोको सम्भावना
- मुस्ताङ निर्वाचन : ३६ देखि ६८९ मतदातासम्मका केन्द्र, ३९ स्थान कायम