प्रगतिशीलहरूको विश्वव्यापी नयाँ आन्दोलनको आवश्यकता

मिसेल गोल्डबर्ग

यो एक अनौठो विडम्बना हो कि हालका वर्षहरूमा राष्ट्रवादी दक्षिणपन्थीहरूले विश्वव्यापी दृष्टिकोण राख्ने उदारवादी, प्रगतिशील र वामपन्थीहरूभन्दा अन्तर्राष्ट्रिय स्तरमा धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। कन्जर्वेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा विश्वव्यापी बन्यो। यसले इजरायल, दक्षिण कोरिया, हङ्गेरी र अर्जेन्टिनालगायतका देशहरूमा सम्मेलनहरू आयोजना गरिसकेको छ। अमेरिकी  रूढिवादीहरूले प्रेरणा लिने अन्तर्राष्ट्रिय नेताहरूको सूची लामो छ, जसमा हङ्गेरीका भिक्टर ओर्बान, एल साल्भाडोरका नायिब बुकेले र अर्जेन्टिनाका जाभियर मिलेई जस्ता नेता छन्।

यी अन्तर्राष्ट्रिय दक्षिणपन्थी समूहले विचार र मिमहरूको आदानप्रदान गर्छ। यसका सदस्यहरूले सीमा आरपार विभिन्न देशमा एक अर्कालाई समर्थन गर्छन्। अमेरिकी रूढिवादी रणनीतिकारहरूको निरन्तर प्रवाह, जसमा प्रभावशाली रणनीतिकार क्रिस रुफो पनि समावेश छन्, हङ्गेरीको डेन्यूब इन्स्टिच्युटमा पढ्दा रुसोले राज्यको सफल प्रयोगबाट उदारवादी संस्थाहरूलाई कसरी दबाउन सकिन्छ भन्ने समेत देखेका थिए। यस वर्षको सुरुवातमा एलेक्स जोन्सदेखि अमेरिकी उपराष्ट्रपति जेडी भान्ससम्मका मागा आन्दोलनका सदस्यहरूले रुसी हस्तक्षेपको आरोपमा अयोग्य ठहरिएका रोमेनियाली अति राष्ट्रवादी राष्ट्रपति उम्मेदवारको समर्थनमा एकजुट समेत भएका थिए। यसै साता प्याट्रियट्स फर युरोप फाउन्डेसन नामको राष्ट्रवादी समूहले भारतको दक्षिणपन्थी सरकारका सदस्यहरूसँग मिलेर युरोपेली संसदमा एक सम्मेलन आयोजना गरेका छन्।यस सम्मेलनको उद्देश्य “सार्वभौमिक सभ्यतामा” आधारित गठबन्धन निर्माण गर्नु थियो जसको उद्देश्य इस्लाम विरुद्धको लडाइँमा एक हुनु छ।

प्रगतिशीलहरूसँग दक्षिणपन्थी समूहको जस्तो विश्वव्यापी सञ्जालको कुनै समकक्ष छैन, जुन वामपन्थको गहिरो सङ्कटको एक सङ्केत हो।

आंशिक रूपमा हेर्दा प्रगतिशीलहरूको समस्या  जडताको हो। दशकौँदेखि जब वामपन्थीहरूले सीमा आरपार समन्वय गरे, उनीहरूले प्रायः उदारवादी संस्थाहरू मार्फत गरे। जस्तै अन्तर्राष्ट्रिय निकायहरू संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, शैक्षिक सम्मेलनहरू। यी संस्थाहरूले प्रायः अत्यधिक विशेषज्ञ र कूटनीतिक शैलीको सञ्चारलाई प्राथमिकता दिन्छन्। (उदाहरणका लागि, संयुक्त राष्ट्रसङ्घको परिधिमा रहन, आधारभूत नारीवादी समूहहरूले प्रायः जटिल शब्द जाल “लैङ्गिक मूलप्रवाहीकरण”, “कर्तव्यवाहकहरू”  जस्ता शब्द जाल सिक्नुपर्छ।ग्रिसका पूर्व प्रधानमन्त्री र वामपन्थी नेता एलेक्सिस सिप्रास भन्छन्- “प्रगतिशील, वामपन्थी र समाजवादी शक्तिहरूले जनतासँग कुरा गर्ने गर्ने बाटो गुमाएका छन् , उनीहरू अझ परम्परागत भए।”

अब वामपन्थलाई अँगाल्ने विशेष गरी शिक्षण संस्थाहरू र गैर-नाफामूलक सङ्गठनहरू जस्ता प्रणालीहरू सुनियोजित आक्रमणको सामना गरिरहेका छन्। भारत र युरोपका दक्षिणपन्थी आन्दोलनहरूबिचको सम्बन्ध अध्ययन गरेका लन्डन विश्वविद्यालयका विद्वान् सुभिर सिन्हाले भन्छन्- “वामपन्थहरू मूल रूपमा यस्ता संस्थाहरूको स्थिरताको काल्पनिक दृष्टिकोणमा निर्भर रहन्छन्।” सिन्हाको अनुसार प्रगतिशीलहरूले आजको समयको केन्द्रीय प्रश्नको जवाफ कसरी दिने भनेर न त अपेक्षा न त कुनै योजना बनाए। प्रश्न हो –  “ यति जब तपाईँको खुट्टामुनिको जमिन नाटकीय रूपमा खस्दछ भने तब तपाईँ कसरी राजनीति गर्नुहुन्छ?”

यद्यपि ढिलो भए पनि  केही यस्तो योजना अब सुरु भएको छ। यो साता ग्रिसका पूर्व प्रधानमन्त्री  सिप्रासले एथेन्समा उदार लोकतन्त्रको विश्वव्यापी सङ्कटबारे छलफल गर्न युरोप, टर्की, ल्याटिन अमेरिका र संयुक्त राज्य अमेरिकाका उदारवादी र प्रगतिशीलहरूको एक सम्मेलन आयोजना गरेका छन्। उनले यो आयोजना गरेको दोस्रो यस्तो जमघट थियो र ट्रम्प पुनः निर्वाचित भएपछि पहिलो थियो।सम्मेलनका वक्ताहरूमध्ये एक प्रमुख वक्ता अमेरिकी सिनेटर बर्नी स्यान्डर्स थिए। सिनेटर स्यान्डर्सले अनलाइन माध्यमबाट सहभागी हुँदै भनेका थिए – “दक्षिणपन्थी अतिवादीहरू विश्वभर प्रभावकारी रूपमा सङ्गठित भइरहेका छन् र मलाई लाग्छ की अब समय आएको छ हामी पनि अन्तर्राष्ट्रिय प्रगतिशील समाजवादी अभियान बनाउन तर्फ लग्नुपर्छ र यो सम्मेलन यसै अभियानमा अगाडी बढेको एक कदम हो”।

वामपन्थीहरूको लागि यो आन्दोलन कुन आधारमा बनाइने भनेर पत्ता लगाउनु नै एक चुनौती  छ। चाहे अन्यलाई जति पनि काल्पनिक लागे पनि दक्षिणपन्थीहरूसँग उनीहरूले सिर्जना गर्न चाहेको संसारको  एक स्पष्ट तस्बिर छ जुन यसका समर्थकहरूलाई यथार्थवादी लाग्दछ। यसमा गति र नियतको भावना छ।पहिले साम्यवादको पतनसँगै र पछि उदारवादको क्षयसँगै प्रगतिशीलहरूमाझ यो स्पष्ट तस्बिर हराएका छन्,। बराक ओबामाले प्रायः दोहोर्‍याउने मार्टिन लूथर किंग जुनियरको एउटा भनाइ थियो: “नैतिक विश्वासको चाप लामो छ तर यो न्यायतर्फ नै झुक्छ।” लगभग एक दशक अघिसम्म, कम्तीमा विश्वका सहरी क्षेत्रहरू अपरिहार्य रूपमा बृहत् प्रबुद्धता, समानता र एकीकरणतर्फ अघि बढिरहेछ जस्तो देखिन्थ्यो।

विशेष गरी ट्रम्पको पुनर्निर्वाचन पछि यस्तो आशा लगभग नष्ट भएको छ। वामपन्थीहरूको एक हिस्सा अझै पनि क्रान्तिका सहस्राब्दी आशाहरू पालि रहेका छन् तर यो प्रगतिशीलहरूको मनोदशा भ्रम र निराशाको संयोजन जस्तो मात्र देखिन्छ। पूर्व प्रधानमन्त्री सिप्रास भन्छन्- “  आफ्नो भविष्यको दृष्टि र दिशा गुमाउनु नै हाम्रो समस्या हो । हामीले जनतालाई यदि प्रगतिशीलहरू सरकारमा भएमा उनीहरूको भविष्य कति फरक हुने थियो भनेर विश्वास दिलाउने हाम्रो क्षमता पनि गुमाएका छौँ।”  सिप्रासको अनुसार प्रगतिशीलहरूले यो खुल्ला रूपमा छलफल गर्नुपर्छ।

अहिलेको अधिनायकवादी खतराको जवाफ दिन विश्वका कुनै नेताले केही संरचना मोडेल बनाइरहेका छन् भन्ने प्रश्नमा सिप्रास चिन्तित देखिन्थे। सिप्रासको अनुसार बाल्यकालमा उनी एक ग्रिसको साम्यवादी युवा आन्दोलनका सदस्य थिए। बर्लिनको पर्खाल ढलेपछि सिप्रासलाई समाज लोकतन्त्र बिना स्वतन्त्र र समान हुन सक्दैन भन्ने लाग्न थाल्यो। सिप्रासको अनुसार  दुर्भाग्यवश आजकाल उनलाई लाग्छ: “हाम्रो स्थिति यति गम्भीर छ कि उदीयमान  ओलिगार्की र स्वेच्छाचारितावादको विरोधमा हामीले लोकतान्त्रिक समाजवादको लागि होइन, तर लोकतान्त्रिक पुँजीवादको लागि लड्नुपर्छ भन्ने विश्वास बढेर आइरहेको छ”।

उदारवादी, प्रगतिशील तर्फका मानिसहरूको ध्यान खण्डित हुँदै गएको छ, र प्रगतिशीलहरूका लागि उनीहरूलाई कसरी आकर्षित गर्ने र उनीहरूका असीमित आशाहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने पत्ता लगाउनु एक विशाल चुनौती बनेको छ। त्यसैले गर्दा पहिला स -साना पाइलाहरू चाल्नु झन् महत्त्वपूर्ण छ।

मिसेल गोल्डबर्ग एक पुलित्सर पुरस्कार विजेता स्तम्भकार हुन्।

स्रोत: न्यु योर्क  टाइम्स् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link