सूर्योदय नगरपालिका-१, धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी बोकेर जीवन धान्दै आएका बासिन्दाहरूको घरघरमा अब स्वच्छ खानेपानीको धारा बगेको छ। “पानी बोक्ने कष्टकर दिनहरू अहिले सपनाजस्तै लाग्छन्,” ८० वर्षीय वीरबहादुर राईले भावुक हुँदै भने। त्यस्तै, ६० वर्षीय तुलसा सापकोटाले विगत सम्झिँदै भनिन्, “पहिले एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्थ्यो, अहिले घरमै धारा बग्दा जीवन सजिलो भएको छ।”
विसं २०७५ मा सुरु भएको धजे-मकरजुङ खानेपानी आयोजना २०८१ चैत २ गते सम्पन्न भएको छ। यो आयोजनाले हाल १६७ घरधुरीमा खानेपानीको धारा जडान गरेको छ। कोशी प्रदेश सरकारको ५८ लाख २० हजार रुपैयाँ लगानीमा सम्पन्न यो आयोजनाले जोगमाई खोलाबाट ९.८ किलोमिटर पाइप लाइनमार्फत पानी वितरण गरेको छ। यसबाट ९४० स्थानीय बासिन्दा लाभान्वित भएका छन्, उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले जानकारी दिए।
शनिवार मकरजुङको सामुदायिक भवनमा आयोजित उद्घाटन समारोहमा कोसी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले संयुक्त रूपमा आयोजनाको शुभारम्भ गरे। सांसद लिम्बूले सुक्खा ग्रस्त क्षेत्रमा पानी पुर्याउन सामना गरिएका चुनौतीहरू उल्लेख गर्दै भने, “अब धजे-मकरजुङका बासिन्दाले शुद्ध खानेपानी प्राप्त गरेका छन्, पानीको हाहाकार सधैँका लागि अन्त्य भएको छ।”
आयोजनाअन्तर्गत ५० घनमिटर क्षमताका दुई र १० घनमिटर क्षमताका तीन ट्याङ्की निर्माण गरिएको अध्यक्ष सापकोटाले बताए। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले यो आयोजनाले स्थानीय समुदायको दीर्घकालीन समस्या समाधान गरेको बताए। यो योजनाले धजे-मकरजुङका बासिन्दाहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन