भरतपुर महानगरपालिकामा सञ्चालित भूमिगत विद्युतीकरणको काम वर्षायामका कारण तीन महिनाका लागि स्थगित भएको छ। सडक विभागले बर्खामा सडक खन्न अनुमति नदिने नीतिका कारण यो काम रोकिएको हो।
नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत सञ्चालित यो कार्यको नेतृत्व गरिरहेका आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले असार ३ गतेदेखि भदौ मसान्तसम्म काम रोकिएको जानकारी दिए। उनले भने, “पाइप गाड्ने, खाल्डा खन्ने र पाइप राख्ने जस्ता मुख्य कामहरू हाल स्थगित छन्।” यद्यपि, पाइप गाडिसकिएका स्थानमा केबल जोड्ने र पोल गाड्ने जस्ता सहायक कामहरू भने जारी छन्।
सडक विभागका अनुसार, वर्षातमा खाल्डा खन्दा सडकको गुणस्तरमा ह्रास आउने, पानी जम्ने र सडक भासिने जस्ता समस्याहरू देखिन्छन्। यही कारणले भूमिगत विद्युतीकरणको काममा रोक लगाइएको हो।
आयोजनाले हालसम्म भरतपुरमा ७५ प्रतिशत भूमिगत विद्युतीकरणको काम सम्पन्न गरेको सुवेदीले बताए। पूर्वपश्चिम राजमार्गको पुलचोकदेखि केन्द्रीय बस टर्मिनलसम्मको खण्डमा काम सकिएको छ। बाइपास सडकको आँपटारीदेखि केन्द्रीय बस टर्मिनलसम्म एकतर्फी काम सम्पन्न भइसकेको छ, भने अर्कोतर्फको काम बाँकी छ। “फाउन्डेसन राख्ने काम सकिएको छ, तर केही ठाउँमा मुख्य लाइन जडान गर्न बाँकी छ,” उनले थपे। हाल ३३ केभीको जडान सकिएको छ, जबकि ११ केभी र ४०० भोल्टको केबल राख्ने काम चलिरहेको छ।
वर्षातमा खाल्डा खन्दा पानी जम्ने समस्याले काम प्रभावित हुने भएकाले बर्खापछि कार्यलाई तीव्रता दिइने सुवेदीले बताए। उनका अनुसार, भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न कुल १ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्रारम्भमा १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।
यो आयोजनाको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएको छ। ठेक्का सम्झौताअनुसार पहिलो चरणको म्याद सन् २०२४ को जनवरीमा सकिएपछि थप आठ महिनाका लागि समय विस्तार गरिएको छ। कामको दायरा बढ्दै जाँदा म्याद पनि थपिँदै गएको सुवेदीले बताए। यो आयोजना एसियाली विकास बैंकको सहयोगमा सञ्चालित छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वी चितवनमा २८ जातका केराको परीक्षण गरिंदै
- करोडौंको लगानीमा बन्धाताल पूर्वाधार निर्माण गरिंदै
- घट्दै छन् दुर्लभ सुनौलो तोप चरा
- ट्रम्पले युक्रेनलाई मिसाइल र हतियार दिने, रुसलाई ५० दिनको अल्टिमेटम
- दक्षिण सुडानमा गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति चयन
- देशभर ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
- वर्षा नहुँदा धान ब्याडमै सुक्न थाले
- चेल्सीले जित्यो २०२५ फिफा क्लब विश्वकप
- इजरायली सेनाको आक्रमणमा मध्य गाजामा पानी लिन गएका बालबालिका सहित प्यालेस्टाइनीहरूको मृत्यु
- कफीको बिरुवा – साढे १३ लाख कमाई
