नेपालगन्जको मुटुमा रहेको मानव निर्मित कान्ति ताल कुनै समय सिँचाइको स्रोत थियो। अहिले यो ताल स्थानीय र विदेशी चराहरूको बासस्थान र प्रजननस्थल बनेको छ। कमलका फूलले सजिएको यो ताल जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण छ र चरा अवलोकन (बर्ड वाचिङ) को केन्द्रको रूपमा चर्चित छ। विज्ञहरूले यसलाई ‘बर्ड पार्क’ को रूपमा विकास गर्न सकिने सम्भावना औँल्याएका छन्। तर, केही समयअघि तालमा मोटरबोट सञ्चालनको प्रयासले स्थानीय र संरक्षणकर्मीहरूको विरोध निम्त्याएको थियो। विरोधपछि मोटरबोट योजना अलपत्र पर्यो, र अहिले तालको एक किनारमा एउटा काठको डुङ्गा बेवारिसे अवस्थामा छ।
कान्ति तालले जैविक विविधता र पारिस्थितिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। विशेष गरी, सारस चराको बासस्थानका लागि यो ताल बाँके जिल्लाको राप्ती नदी र मानखोल भन्दा उत्कृष्ट मानिन्छ। २५ बिघामा फैलिएको यो ताल नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २२ र २३ मा पर्छ। यहाँ वर्षभरि स्थानीय र दुर्लभ चराहरू बस्छन् भने जाडो र गर्मी छल्न अफ्रिका, साइबेरिया, उत्तरी चीन, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाबाट चराहरू आउँछन्।
फ्रेन्डस् फर वाइल्ड लाइफ कन्जरभेसनका अध्यक्ष आशिष चौधरीका अनुसार, नेपालगन्ज आसपासमा कान्ति तालजस्तो सिमसार क्षेत्र अरू छैन। “यो ताल प्रकृतिप्रेमी, जनावर र चराहरूका लागि उपयुक्त छ। लामो समयदेखि संरक्षणका कारण विदेशी चराहरू बर्सेनि यहाँ आइरहेका छन्,” उनले भने। तर, मोटरबोट सञ्चालनको प्रस्तावले संरक्षणकर्मीहरू चिन्तित छन्। मोटरबोटले तालको पारिस्थितिक प्रणाली र चराहरूमा नकारात्मक असर पार्ने भन्दै उनीहरूले चरा पार्क निर्माणको सुझाव दिएका छन्। “पोखराको फेवातालमा काठको डुङ्गा चल्छ, मोटरबोट होइन। कान्ति तालमा मोटरबोट चलाउँदा जीवाश्म इन्धनले चराहरूलाई हानि पुग्छ,” चौधरीले थपे।
नेपाल चरा विज्ञ सङ्घ र पन्छी संरक्षण समाजको हालैको सर्वेक्षणमा कान्ति तालमा ३२ प्रजातिका स्थानीय र आगन्तुक चराहरू भेटिए। नेपाल सरकारको संरक्षित सूचीमा रहेका नौ प्रजातिका चरामध्ये छ वटा तराईमा पाइन्छन्, जसमध्ये बाँकेमा पाँच र बर्दियामा दुई प्रजातिका चरा छन्। “कान्ति ताल मासियो भने यी चराहरूको अस्तित्व सङ्कटमा पर्छ,” चौधरीले चेतावनी दिए।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विस्टले कान्ति ताललाई सिमसार क्षेत्रको रूपमा लिइएको बताए। “यो सिमसार स्थानीय र विदेशी चराहरूको महत्त्वपूर्ण बासस्थान हो,” उनले भने। तालमा लामो समयदेखि माछा पालन हुँदै आएको छ, तर पर्यटकीय गन्तव्य बनाउने योजना हाल स्थगित छ।
कान्ति तालमा जाडोमा १५३ र गर्मीमा ६२ प्रजातिका चराहरू देखिन्छन्। यहाँ सारस, फिसिङ क्याट, मलाहलगायतका चराहरूको बासस्थान छ। संरक्षणकर्मीहरूले ताललाई बायोडाइभर्सिटी पार्क वा बोटानिकल गार्डेनको रूपमा विकास गरी टिकटमार्फत आम्दानी गर्न सकिने सुझाएका छन्। “यो ताल चराहरूका लागि मात्र होइन, भावी पुस्ता र नेपालगन्जलाई मानसरोवर यात्राको ट्रान्जिट प्वाइन्ट बनाउन पनि महत्त्वपूर्ण छ,” चौधरीले भने।
चराको गणनाअनुसार, दुई वर्षअघि २५ प्रजातिका चरा थिए, गत वर्ष २२ र यो वर्ष ३२ प्रजातिका चरा भेटिए। संरक्षणकर्मीहरूले ताललाई चरा अवलोकन र जैविक विविधता सिकाइ केन्द्रको रूपमा विकास गर्न जोड दिएका छन्, जसले दिगो पर्यटन र संरक्षण दुवैलाई प्रवर्द्धन गर्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान