कफीको बिरुवा – साढे १३ लाख कमाई

माङसेबुङ गाउँपालिका-२, रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन्। यस वर्ष उनले कफीका बिरुवा बिक्रीबाट १३ लाख ५० हजार रुपैयाँ कमाए। पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीको बिरुवा उत्पादन सुरु गरेका राई माङसेबुङमा एक कुशल बिरुवा उत्पादकका रूपमा परिचित छन्।

फेवाखोला नजिकै गजुरमुखी-इभाङ-चतुरे सडक छेउमा पाँच रोपनी जग्गामा उनले बिरुवा उत्पादन गरिरहेका छन्। यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरे।

राईका अनुसार, कफीको बिरुवा उत्पादनमा कम समय, श्रम र लगानीमा राम्रो आम्दानी हुने भएकाले उनले यसलाई प्राथमिकता दिएका छन्। उनका बिरुवा इलाम, सङ्खुवासभा, भोजपुर र भारतको सिक्किमसम्म पुग्छन्। विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले यी बिरुवा खरिद गर्छन्।

“बिरुवा उत्पादनमा धेरै मेहनत र समय लाग्दैन,” उनले भने, “यहाँका बिरुवा इलाम र बाहिर पनि बिक्री हुन्छन्।” कफीको बिरुवा प्रतिगोटा ३० रुपैयाँमा नर्सरीबाटै बिक्री हुन्छ। राईले कफीका साथै लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसजस्ता वन पैदावार र आँप, लिची, कटहरजस्ता फलफूलका बिरुवा पनि उत्पादन गर्छन्। यी बिरुवा प्रतिगोटा ४० रुपैयाँमा बिक्री हुन्छन्।

“कफीको बिरुवालाई मुख्य प्राथमिकता दिए पनि अन्य बिरुवा पनि उत्पादन गर्छु,” उनले भने, “ग्राहकले एकै ठाउँमा सबै बिरुवा पाउँदा सजिलो भएको छ।” बिरुवाको स्याहार, उखेल्ने र बिक्री गर्ने काममा राई आफैं खटिन्छन्।

उनले छोटो समयमा राम्रो आम्दानी हुने भएकाले बिरुवा उत्पादनमा जोड दिएको बताए। कोशी प्रदेश सरकारबाट उनको नर्सरीलाई राम्रो सहयोग प्राप्त भएको छ।

दुई वर्षअघि कृषि ज्ञान केन्द्र इलाममार्फत नर्सरी प्रवर्द्धनका लागि लागत साझेदारीमा २ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो, जसबाट व्यवस्थित टनेल निर्माण गरिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार, इलाममा १३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती भइरहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link