२२ हजार बढी नागरिक बाढी पहिरोको उच्च जोखिममा

वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा बाढी पहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गत वर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकै परिवारका पाँच, मुसिकोटमा पनि एकै परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो ।

त्यसैगरी विसं २०७६ मा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित भए । उनीहरूको पुनः स्थापनाको काम अझै सकिएको छैन । २०६४ सालमै मुसिकोटमा छ जनाको पहिरोमा परी मृत्यु भयो । यस वर्ष पनि यहाँका नागरिक बाढी पहिरोको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा यस वर्ष २२ हजार ४०० नागरिक बाढी पहिरोको जोखिममा छन् । सबैभन्दा धेरै मुसिकोट नगरपालिकाका १० स्थानमा बाढी र १६ स्थानमा पहिरो गरी कूल २६ स्थानका नागरिक जोखिममा छन् । मुसिकोटको समुद्र, कालीरहलगायतका स्थान बडिगाढ नदीको बाढीको जोखिम छ ।

त्यसैगरी सिम्ले, तोलादी, दजाकोटलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । रेसङ्गा नगरपालिका–३, ६, १० र १४, सत्यवतीको ठूलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा, अश्लेवा, मदानेको अग्लुङ, निपाने, रघवाफेदी, पैयापाटा, बाँझकटेरी, म्यालपोखरी, पुर्कोटदह, धुर्कोटको नयाँगाउँ, गोपे, रातामाटा, अजिमिरकोट लगायतका स्थान पहिरोको उच्च जोखिममा छन् ।

त्यसैगरी छत्रकोटको कोटाग्दी, टुनिखर्क, चुरचुरे, बुटिल, मथुरे, हर्दिनेटा, रुरुक्षेत्रको रिमुवा, रिडी बजार, कालीगण्डकीको पूर्तिघाट, इस्माको अगारे, कँडेनी, हस्तिचौरलगायतका स्थान पहिरोको उच्च जोखिममा छन् ।

विपद्को पूर्व तयारीका लागि जिल्लामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । पहिरो गइसकेपछि प्रभावित नागरिकलाई नजिकैको विद्यालय वा खाली चउरमा सार्ने लगायतका तयारी गरिएको गैरेले जानकारी दिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link