लामो समयपछि पानी पर्दा किसान हर्षित

लामो समयदेखि पानी नपर्दा खानेपानीको अभावमा काकाकुल भएका र धान रोपाइँको चिन्ताले पिरोलिएका महोत्तरीका किसान गए राति जिल्लामा भएको मुसलधारे वर्षाका कारण हर्षित भएका छन् ।

महोत्तरीको दक्षिण, पश्चिम, पूर्व र मध्य क्षेत्रमा करिब छ महिनापछि गए राति मुसलधारे पानी परेको थियो । उखरमाउलो गर्मीका बीच गाउँ गाउँमा रहेका पोखरी, ताल, ईनार, कुवा र चापाकलको पानी सुकेर खानेपानीको समस्या भइरहेको अवस्थामा पानीले राहत मिलेको जलेश्वर नगरपालिका–८ का मनोज ठाकुरले बताए ।

यसैबीच धान खेतीका लागि आधा साउन बितिसक्दा पनि जिल्लामा पानी नपर्दा धानबाली लगाउन नपाएका यहाँका किसान चिन्तामा परेका बेला ढिलै भए पनि अब जिल्लामा रोपाइँ हुने भन्दै किसान खुसी भएका छन् । जलेश्वर–११ का किसुन बिच्छा पोखरी, ताल, ईनार, कुवा र चापाकलमा पानीको सहत बढेको बताउँछन्।

मुसलधारे वर्षा भएपछि आज बिहानैदेखि महोत्तरीका किसान आआफ्ना खेतबारीमा हलो, कोदालो, टैक्टर र रोपाइँ गर्ने मजदुर साथमा लिएर पुगेका थिए । पानी नपर्दा साउन महिनाको पहिलो सातासम्म जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने अब जिल्लाका किसानले धमाधम धान रोपाइँ गर्ने प्रतिशत बढ्दै छ ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कूल ७१ हजार ५७० हेक्टर खेती योग्य जग्गा रहेको मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यस वर्ष ४० हजार हेक्टर जग्गामा यस वर्ष धान खेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले बताए । उनका अनुसार यसअघि जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सकिएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link