लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोक मार्गअन्तर्गत जयराम–हलेसी सडक खण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल) बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए । पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् ।
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण आज बिहान ८ बजेर करिब १० मिनेट जाँदा च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ । च्यास्मिटारमा खसेको पहिरोले दाम्ली–डिकुवा सडकसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
अवरुद्ध सडक खुलाउन हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । ‘पहिरो ठुलो छ । सडकमा थुप्रिएको ढुङ्गा, माटो तथा रुखहरू हटाउने प्रयास भइरहेको छ’, उनले भने, ‘अवरुद्ध सडक तत्कालै खुलाउन सकिने अवस्था छैन । यद्यपि, प्रयास जारी छ । यात्रा गर्नेहरूले जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।’
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिना दिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भुटानलगायतका नागरिकसमेत आउने गरेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै
- ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नाराका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
- आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- देशभर मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
- वनभित्र पोखरी: मुहान पनि जोगिने, वन्यजन्तु पनि अल्झिने
- देवघाट–१ का १४ सुकुमवासी परिवारलाई चाँडै जग्गा उपलब्ध गराइने
- देशैभर मनसुनी वायुको प्रभाव: आज धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
- आज प्रतिनिधि सभाको बैठक बस्दै