दक्षिणी युरोपमा तातो लहर र जङ्गल आगलागीले जनजीवन प्रभावित

दक्षिणी युरोपमा तीव्र तातो लहर र त्यसले निम्त्याएको जङ्गल आगलागीका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा इटाली, फ्रान्स, स्पेन, पोर्चुगल र बाल्कन क्षेत्रमा  चेतावनी जारी गरिएको छ। यी क्षेत्रमा तापक्रमले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ।

स्पेनको मौसम सेवाले सेभिल र कोर्डोभामा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ। स्पेनको त्रस कान्तोसमा आगलागीमा परेर एक घोडसवार केन्द्रका कर्मचारीको मृत्यु भएको छ। त्यहाँ ७० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाले आगो फैलाउँदा सयौँ मानिस घर छोड्न बाध्य भए। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उद्धार टोलीहरू आगो नियन्त्रणमा अथक प्रयास गरिरहेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा जङ्गल आगलागीको जोखिम अत्यधिक रहेको भन्दै सावधानी अपनाउन आग्रह गरे।

स्पेनको उत्तर पश्चिमी क्षेत्र क्यास्टिल र लियोनमा करिब ४,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँ ३० भन्दा बढी आगलागीका घटना भएका छन्, जसमध्ये युनेस्को विश्व सम्पदा सूचीमा रहेको लास मेदुलासको प्राचीन सुनखानी क्षेत्र पनि खतरामा परेको छ। त्यस्तै, दक्षिणी क्षेत्र आन्डालुसियाको तारिफा नजिकै होटेल र घरबाट २,००० मानिसलाई हटाइएको छ। स्पेनको सैन्य आपतकालीन इकाइले देशभर करिब १,००० सैनिक आगलागी नियन्त्रणमा खटिएको जनाएको छ।

पोर्चुगलमा पनि तीन ठुला जङ्गल आगलागीका घटना भएका छन्। त्रान्कोसो नजिकैको आगो मङ्गलवार नियन्त्रणमा आएको छ। यहाँ १,३०० भन्दा बढी दमकलकर्मी र १४ विमान परिचालित छन्। मोरक्कोले दुई वटा विमान सहयोगमा पठाएको छ किनभने पोर्चुगलका पानी बमवर्षक विमानहरू बिग्रिएका छन्। दक्षिणी क्षेत्रमा तापक्रम ४४ डिग्रीसम्म पुग्ने र रातमा २५ डिग्रीभन्दा तल नझर्ने अनुमान छ।

इटालीमा एक बालकको तातो लहरका कारण मृत्यु भएको छ। सार्डिनियामा कारभित्र बेहोस अवस्थामा भेटिएका चार वर्षीय बालकलाई रोमको अस्पतालमा भर्ना गरिएको थियो, तर उनको मृत्यु भएको छ। इटालीका १० सहरमा रातो चेतावनी जारी छ। फ्रान्समा पनि तीन-चौथाइ क्षेत्रमा तातो चेतावनी छ, जहाँ पेरिसमा ३६ डिग्री र रोन उपत्यकामा ४० डिग्रीसम्म तापक्रम पुग्ने अनुमान छ।

ग्रीसमा १५० भन्दा बढी आगलागीका घटनासँग जुधिरहेको छ। जकिन्थोस र पश्चिमी आचियामा ठुलो सङ्ख्यामा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आचियाका मेयरले आगो नियन्त्रणबाहिर रहेको र तटीय क्षेत्रमा अपूरणीय क्षति भएको बताए। टर्की, अल्बानिया, क्रोएसिया र मोन्टेनेग्रोमा पनि आगलागीले ठुलो क्षति पुर्‍याएको छ।

वैज्ञानिकहरूले विश्वव्यापी तापमान वृद्धिका कारण पुरा भूमध्यसागर ग्रीष्मकालीन मौसम तातो र सुख्खा हुँदै गएको र आगलागीको मौसम लामो र तीव्र भएको चेतावनी दिएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link