वरिपरि घना जङ्गल, छेउमै सुसाउँदै बग्ने उत्तर गङ्गा नदी र नदी किनारमा अवस्थित दिज गाउँको मनोरम दृश्यले जोकोहीलाई आकर्षित गर्छ। काठ काठले बनेका मौलिक घरहरू र यहाँको स्थानीय जनजीवनले गाउँको सौन्दर्यलाई अझ जीवन्त बनाएको छ। ढोरपाटन उपत्यकाबाट केही पर रहेको यो गाउँ पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा बत्तीमुनिको अँध्यारो बनेको छ।
दिज गाउँको मौलिक संस्कृति, भेष भूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउँछ। तर, विकास र प्रचारको कमीले यो गाउँ ओझेलमा परेको छ। ढोरपाटन नगरपालिका–९ मा रहेको यो गाउँ प्राकृतिक सुन्दरताले सजिएको छ। ढोरपाटन–निसेलढोर सडक खण्डको पारीपट्टि अवस्थित दिज गाउँमा बिस्तारै विकासले गति लिन थालेको छ, तर प्रचारप्रसारको अभावले पर्यटकको आगमन न्यून छ। प्रकृति र मौलिकतासँग जोडिन चाहनेहरूका लागि यो गाउँ दुर्लभ गन्तव्यमध्ये एक हो।
स्थानीय सरकारको आगमनसँगै गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युतजस्ता आधारभूत पूर्वाधारहरू बिस्तारै जोडिन थालेका छन्। ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरका अनुसार, गाउँको मौलिकता र सुन्दरतालाई बाहिर चिनाउन नसक्दा पर्यटकहरू यहाँ आउनबाट वञ्चित भएका छन्। उनले भने, “यो पर्यटनका लागि भर्जिन गाउँ हो। नगरपालिकाले गाउँलाई घर बास (होमस्टे) को रूपमा विकास गरी स्थानीयको आयआर्जनसँग जोड्ने नीति बनाउँदै छ। स्थानीय उत्पादन र बजारीकरणमा पनि ध्यान दिइरहेका छौँ।”
दिज गाउँमा अझै सडक सुविधा पुगेको छैन। ढोरपाटन सिकार आरक्षले अवरोध सिर्जना गर्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयको गुनासो छ। गाउँमा काठका घरबाहेक अन्य सामग्रीले बनेका संरचना छैनन्। स्थानीय मनबहादुर घर्तीका अनुसार, बिस्तारै विकासले गति लिन थाले पनि पर्यटकको सङ्ख्या बढाउन नसकिएको छ। हिउँदमा चिसो हुने भएकाले बर्खा याममा पर्यटकहरू बढी आउने गर्छन्। विशेष गरी निसेलढोर जाने पर्यटकहरू फाट्टफुट्ट दिज गाउँ पुग्ने गरेका छन्। उत्तर गङ्गा नदीमा बनेको काठे साँघु पनि पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
तर, गाउँमा व्यवस्थित बसाइको सुविधा नहुँदा पर्यटकहरू ढोरपाटनमै फर्किन बाध्य छन्। भैरहवाबाट आएका पर्यटक कुशलराज बेलवासेले भने, “नेपालमा यस्ता सुन्दर ठाउँहरू छन्, तर पूर्वाधारको अभावले ओझेलमा परेका छन्। दिज गाउँ ढोरपाटनभन्दा पनि आकर्षक लाग्यो, तर बस्ने व्यवस्था नहुँदा समस्या छ।” उनले राज्यले सडक र अन्य पूर्वाधार विकासमा ध्यान दिएर स्थानीयलाई शिक्षित र व्यावसायिक बनाएमा यो गाउँ पर्यटकीय सम्भावनाको केन्द्र बन्न सक्ने बताए।
दिज गाउँको प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र स्थानीय आतिथ्यताले पर्यटकहरूलाई आकर्षित गर्ने अपार सम्भावना बोकेको छ। तर, सडक, बासस्थान र प्रचारप्रसारको अभावले यो गाउँले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन। स्थानीय सरकार र समुदायको संयुक्त प्रयासले यो गाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिएमा स्थानीयको जीवनस्तरमा सुधार आउनुका साथै देशकै पर्यटन क्षेत्रमा नयाँ आयाम थपिनेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तीन महिनाका लागि यारी भन्सार कार्यालय ठप्प
- तीन पुस्तादेखि टमाटर खेती
- हिउँदयामको चिसोमा मुस्ताङका पूर्वाधार काम पूर्ण रूपमा ठप्प
- सिड्नीबाट एक महिनामा युवाहरूको दश शव नेपाल पठाइयो !
- भार्सेका पाखा किबीले ढाक्यो
- इरानको आन्दोलन : राजतन्त्र र युवराज रेजा पहलभी
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गुर्जा सडक सञ्जालमा जोडिँदै
- पर्व अनुसार फरक आकारको ढिक्री बनाउँदै थारू महिलाहरू
- नेपालमा विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै