हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहानको उज्यालोसँगै बजारका पसलहरू क्रमशः खुल्दै थिए । तर, बजारको एउटा कुनामा रहेको पुरानो पसलभित्र फलाम कुट्ने ठकठक, टकटकको आवाज गुन्जिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षीय रामकुमार बराइली हथौडाले फलाम पिटिरहेका थिए ।
शारीरिक रूपमा कमजोर भए पनि उनको अनुहारमा ताजगी र आँखामा चमक अझै उस्तै छ । कारण हो–उनको जीवनसाथी बनेको आरन, हथौडा र फलामसँगको गहिरो नाता । बराइलीको जन्म धनकुटाको पाख्रिबासमा भएको थियो ।
बाल्यकालदेखि नै आरन र हथौडासँगै हुर्किएका उनी २०३४ सालतिर झापाको गोलधाप बजार आए । यहाँ आएपछि उनले ‘दुर्गा फलाम रिपयरिङ सेन्टर’ नामक पसल खोलेर कुखुरी, बन्चरो, हँसिया, चुलेसीजस्ता दैनिक प्रयोगका औजार बनाउन थाले । “धान रोप्ने बेला किसानहरू हँसिया माग्न आउँथे, मकै टिप्ने बेला चुलेसी बनाइदिन भन्थे । कसैको चक्कु बिग्रियो भने मर्मतका लागि यही पसल खोज्थे,” बराइली सम्झन्छन् ।
उनका अनुसार, सुरुदेखि नै कामको कमी कहिल्यै भएन । तर, आज ७० वर्षको उमेरमा धेरैजसो साथीहरूले यो पेसा छाडिसकेका छन्, कतिपयले बुढ्यौलीले काम गर्न सकिरहेका छैनन् । बराइली भने अझै बिहानै पसल सफा गर्छन्, फलाम तताउँछन् र हातले कुटेर औजार बनाउँछन् ।
जीवनमा धेरै उतारचढाव देखेका उनी हाल श्रीमतीसँग गोलधापमा बस्छन् । दुई छोरीको विवाह भइसकेको छ, एक छोरा भारतीय सेनामा र अर्को छोरा वैदेशिक रोजगारीमा दुबईमा छन् । सन्तानहरू बिर्तामोडमा बस्छन्, तर बराइलीलाई गोलधापको यो पसल नै प्यारो छ ।
“मेरो जीवन यही आरनमै बित्यो, यो मेरो घर हो,” उनी भावुक हुँदै भन्छन् । तर, उनको यो सीप हराउने चिन्ता पनि उत्तिकै छ । “छोरा नाति कसैले यो सीप सिक्न चाहेनन्, सबैको सपना सहर वा विदेशतिर छ । अब मेरोपछि यो काम सकिन्छ,” उनले दुखेसो पोखे ।
बराइली मात्र होइन, देशभरका परम्परागत सीप बोकेका कारिगरहरू लोपोन्मुख अवस्थामा छन् । बढैया, शिल्पी, कामी वा लोहारलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ । तैपनि, बराइलीजस्ता सीपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन् ।
जीवनभर पुर्ख्यौली पेसालाई अँगालेर उनले परिवार पाले, समाजलाई योगदान दिए । तर, उनको आरनमा गुन्जिने फलामको आवाज बिस्तारै मन्द हुँदै छ । “म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि । तर, यो सीप बाँचिरहोस् भन्ने मेरो चाहना हो,” उनी भन्छन् ।
उनको यो चाहना केवल व्यक्तिगत इच्छा मात्र होइन, मौलिक सीप जोगाउन समाज र सरकार दुवैको साझा चुनौती हो । अब प्रश्न उठ्छ–हामी यो मौलिक पेसालाई जोगाउन तयार छौँ, वा बराइलीसँगै हराउन दिनेछौँ ?
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ३ अर्ब ९० करोड लागतमा ३० मेगावाट आयोजना अघि बढ्यो
- सुन्तला म्याग्दीको प्रमुख नगदेबाली
- नेपालको बहादुरी: इङ्गल्यान्डविरुद्धको सनसनीपूर्ण भिडन्त
- २५ वर्षमा २६ लाख पर्यटकले रोजे अन्नपूर्ण
- फागुन २१ को निर्वाचनअघि मतदाता सचेतना अभियान
- सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
- वायु प्रदूषण अस्वस्थ तहमा
- प्रतिनिधिसभा निर्वाचन : आयोगले ९ प्रकारका सामग्री पठाउने
- कुष्ठरोग प्रभावितविरुद्ध विभेद अन्त्य गर्न कानुन सुधार आवश्यक
- फोक्सिङटार बेलिब्रिज सञ्चालनमा आएपछि घुमाउरो बाटोबाट मुक्ति