बागलुङका ग्रामीण क्षेत्रहरू, जुन लघुजलविद्युत्मा निर्भर थिए, त्यहाँ अब धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले गत एक वर्षमा २,१२० घरमा केन्द्रीय प्रसारण लाइन जडान गरेको छ। वर्षौँदेखि लघुजलविद्युत् आयोजनामार्फत बिजुली प्रयोग गर्दै आएका क्षेत्रहरूमा यो केन्द्रीय लाइन विस्तार गरिएको हो।
जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन पहिल्यै विस्तार भइसकेकाले अहिले पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको विद्युत् प्राधिकरणका प्रमुख पवन पौडेलले बताए। गत एक वर्षमा २,००० भन्दा बढी घरमा केन्द्रीय लाइन विस्तार हुँदा ३७,४१६ ग्राहक थपिएको उनको भनाइ छ।
प्रमुख पौडेलका अनुसार १५ करोड ९२ लाख ५२ हजार १७७ रुपैयाँको लागतमा ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर ०.४ केभी लाइनको संरचना निर्माण गरिएको छ। एक वर्षमा ३७ स्थानमा ट्रान्सफर्मर जडान भएको उनले जानकारी दिए। जिल्लाभर हालसम्म ८५ प्रतिशत घरमा बिजुली पुगेको र त्यसमध्ये २९.९ प्रतिशत घरमा मात्र लघुजलविद्युत् प्रयोग भइरहेको उनले बताए।
“बागलुङ वितरण केन्द्रले गत वर्षदेखि नै पश्चिम बागलुङलाई प्राथमिकतामा राखेर लाइन विस्तार गरिरहेको छ। यो वर्ष ढोरपाटन र बडिगाडका केही ठाउँमा बत्ती बाल्न सफल भयौँ। धेरै ठाउँमा लाइन विस्तार भएको छ,” प्रमुख पौडेलले भने, “अब जिल्लाका सबै दुर्गम क्षेत्रमा केन्द्रीय लाइन पुर्याउने काम भइरहेको छ। तर, अझै पनि जिल्लाको करिब ३० प्रतिशत क्षेत्रमा लघुजलविद्युत् नै प्रयोग भइरहेको छ।”
केन्द्रीय लाइन विस्तार भएपछि ग्रामीण क्षेत्रका बासिन्दाहरू खुसी भएका छन्। बडिगाड गाउँपालिका–९ का कुलबहादुर क्षेत्रीले केन्द्रीय लाइन जडान भएपछि लघुजलविद्युत् बिग्रिँदा महिनौँसम्म अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताए। यद्यपि, बर्खायाममा बारम्बार लाइन जाने समस्या रहेको उनको गुनासो छ। पछिल्लो एक महिनादेखि दैनिक २ देखि ५ घण्टासम्म लाइन जाने गरेको उनले बताए।
हालसम्म बागलुङका अधिकांश बस्तीमा केन्द्रीय वा लघुजलविद्युत् पुगेको छ। तर, निसीखोला गाउँपालिका–५ को निसेलढोर भने अझै अन्धकारमा छ। स्थानीय देवबहादुर विकले राज्यको उपेक्षाका कारण सिङ्गो गाउँ अँध्यारोमा बस्न बाध्य भएको बताए। गाउँमा लाइन नहुँदा सामान्य मोबाइल चार्ज गर्न पनि घण्टौँ हिँडेर ढोरपाटन पुग्नुपर्ने उनको गुनासो छ। जिल्लाभर ९८ भन्दा बढी लघुजलविद्युत् आयोजना सञ्चालनमा रहे पनि निसेलढोरमा लाइन पुग्न सकेको छैन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर