भक्तपुरमा इन्द्रजात्रा सुरु
परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।
संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किवंन्दती छ ।
पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ ।
वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०:३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिए। यसअघि भदौ १५ गते ईन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो ।
भाद्र शुक्ल अष्टमीका दिन भोटाहिटीबाट ईन्द्रजात्राको लिङ्गो वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि लगी राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ । भाद्र शुक्ल द्वितीयाको राति भक्तपुरस्थित चित्तपोल सामुदायिक वनमा काटिएको सल्लाको रुख त्यसको भोलिपल्ट घिसार्दै भोटाहिटीमा ल्याई राखिएको थियो ।
त्यही लिङ्गोलाई आज बाँस, डोरीलगायतको सहायताले उठाइएको अर्थात् ईन्द्रध्वजोत्थान गरिएको हो । ईन्द्रध्वज र पताकासहित तान्त्रिक विधिले ईन्द्रध्वजोत्थान गरिएको संस्थानका धार्मिक एवं सांस्कृतिक शाखा प्रमुख राजेन्द्र दाहालले बताए ।
भाद्र शुक्ल द्वादशीका अवसरमा आज ईन्द्रध्वजोत्थान गरेपछि भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशीका दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको यात्रा गराइन्छ । यो दिन ईन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने प्रचलनसमेत रही आएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- धवलागिरि हिमाल आरोहणको ६६ वर्ष पूरा
- न्यूयोर्कमा नेपाली पहिचान झल्काउने ‘नेपाल डे परेड’को तयारी
- संसद्का दुवै सदनमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै
- राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
- गुजरातद्वारा हैदराबाद ८२ रनको विशाल अन्तरले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- सरकारको आव २०८३/८४ को नीति तथा कार्यक्रम : के के छ? (पूर्णपाठ)
- तरकारी खेतीले बदलिएको थारु महिलाको जीवनशैली
- रोमाञ्चक भिडन्त: दिल्ली क्यापिटल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित
- वन्यजन्तु जोगाउन सडक विभागसँग ओभरपास निर्माणको सुझाव