इलाम: फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान, स्थानीयद्वारा नियमित उडानको माग

इलाम जिल्लाको पर्यटन र अर्थतन्त्रसँग जोडिएको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल लामो समयदेखि सुनसान बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३३ उडान भएको यो विमानस्थल हाल जहाज उडानको पर्खाइमा छ। इलाम नगरपालिका-९ मा अवस्थित यो विमानस्थलमा नियमित उडानको माग स्थानीयले गर्दै आएका छन्।

विसं २०७५ जेठ २१ मा तारा एयरको ट्वीनअटर जहाजले पहिलो सफल परीक्षण उडान गरेको थियो। त्यसपछि २०७८ माघ २६ मा नेपाल एयरलाइन्सले पनि सफल परीक्षण उडान गरेको थियो। यद्यपि, नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका बासिन्दा झापा वा विराटनगर जान बाध्य छन्। गत जेठयता यहाँ कुनै पनि उडान भएको छैन।

सुरुमा तारा एयरले सातामा दुई दिन (बुधवार र शनिवार) उडान भरेको थियो। इलाम नगरपालिकाले काठमाडौँ फर्कँदा जहाजको सिट खाली भएमा भाडा व्यहोर्ने सम्झौता गरेको थियो। पछि २०७९ माघ १ देखि नेपाल एयरलाइन्ससँग समान तालिकामा उडान सम्झौता भएको थियो। तर, हाल कुनै पनि एयरलाइन्ससँग सम्झौता नभएको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए। उनले भने, “पहिला नगरपालिकाले केही रकम व्यहोर्ने गरी सम्झौता भएको थियो, तर अहिले त्यस्तो कुनै दायित्व छैन।”

नेपाल एयरलाइन्सले सातामा शनिवार एक दिन उडान भर्दै आएको थियो, तर मौसमका कारण २०८२ जेठ १४ पछि उडान रोकिएको विमानस्थलका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए।

इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालनका लागि पहल भइरहेको बताए। “नगर कार्यपालिकाको बैठकमा पटक पटक यो विषय उठेको छ, तर विमानको खराबी र मौसमजस्ता कारणले दीर्घकालीन समाधान हुन सकेको छैन,” उनले भने।

विमानस्थल ३२८ रोपनी क्षेत्रमा बनेको छ, जसको धावनमार्ग ६७० मिटर लामो र २० मिटर चौडा छ। यद्यपि, स्थायी टर्मिनल भवन, पक्की पहुँच मार्ग, र सुरक्षित तारबारजस्ता संरचना अझै अपूर्ण छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, विमानस्थल निर्माणमा हालसम्म २८ करोडभन्दा बढी खर्च भइसकेको छ, जसमा स्थानीयले करिब ४ करोड योगदान गरेका छन्।

विमानस्थलको प्रक्रिया २०५८ सालमा सुरु भएको थियो। २०६७ चैत १३ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए भने २०७८ फागुन १ मा उनैले उद्घाटन गरेका थिए। स्थानीयले एकदेखि ४२ रोपनीसम्म जग्गा प्रदान गरेर विमानस्थल निर्माणमा सहयोग गरेका थिए।

फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलको नियमित सञ्चालनले इलामको पर्यटन र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने स्थानीयको अपेक्षा छ। तर, पूर्वाधारको अभाव र उडान अनियमितताले यो सम्भावना अझै पूरा हुन सकेको छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link