उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नी छोरीलाई बेइजिङको कूटनीतिक भ्रमणमा लिएर गएका छन्, जसले शासनमा उनको बढ्दो भूमिकालाई सङ्केत गर्छ। तर, गहिरो कन्फ्युसियसवादी समाज भएको यो राष्ट्र के महिला शासकलाई स्वीकार गर्न तयार छ?
सन् २०२२ को नोभेम्बरमा उत्तर कोरियाली मिडियाले किम जोङ उनकी छोरी, जसको नाम किम जू ऐ भएको अनुमान छ, को पहिलो तस्बिर प्रकाशित गर्दा उनलाई गर्विलो पिता र पारिवारिक व्यक्तिको रूपमा प्रस्तुत गर्ने उद्देश्य थियो भन्ने आम धारणा थियो।
इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलको परीक्षण अवलोकन गर्दै स्टाइलिश सेतो प्याडेड ज्याकेट लगाएकी उनमा उनको दुई दाजुभाइलाई पछि पार्दै सन् १९४८ मा उनका हजुरबुबा किम इल सुङले स्थापना गरेको देशको भविष्यको नेताको रूपमा छनोट हुन सक्छ भन्ने कुनै सङ्केत थिएन।
राज्य सञ्चालित मिडियामा पहिलो पटक देखिएको लगभग तीन वर्षपछि (१२-१३ वर्षको उमेर भएको अनुमान गरिएको) किम जू ऐले आफ्ना बाबुसँगै बेइजिङमा दोस्रो विश्वयुद्धको समापनको अवसरमा आयोजित सैन्य परेडमा सहभागी भइन् र चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरिन्।
बाबुको उत्तराधिकारीको रूपमा ‘सबैभन्दा बलियो उम्मेदवार’
केही समयअघि मात्र उत्तर कोरियाको अर्को सर्वोच्च नेता महिला हुन असम्भव छ भन्ने विश्लेषकहरूले, कम उमेरका बाबजुद, यो महत्त्वपूर्ण कूटनीतिक भ्रमणले विश्वको एक मात्र कम्युनिस्ट राजवंशको उत्तराधिकारीको रूपमा उनको विश्व मञ्चमा अभिषेक हुन सक्छ भन्ने अनुमान गर्न थालेका छन्।
सियोलको कोरिया विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक आन यिन्हे भन्छिन्, “यो एक प्रमुख अन्तर्राष्ट्रिय घटना हो र उनले पहिलो पटक विदेश भ्रमण गरेको थाहा भएको छ, त्यसैले यो उनलाई आफ्नो बाबुको उत्तराधिकारीको रूपमा सबैभन्दा बलियो उम्मेदवारमध्ये एक भएको सङ्केतको रूपमा हामीले हेर्नुपर्छ — यद्यपि यो अझै निश्चित भएको छैन।”
आन उत्तर कोरियालाई नजिकबाट नियाल्नेहरू मध्ये एक थिइन्, जसले सुरुमा कहिल्यै विश्वास गरेकी थिइनन् कि परम्परागत जीवनशैलीलाई दृढतापूर्वक अँगाल्ने देशमा महिलाले नेतृत्वको जिम्मेवारी लिन सक्छिन्।
उनले भनिन्, “मलाई सम्झना छ, मैले उत्तर कोरियाबाट भागेर आएका केही व्यक्तिहरूसँग कुरा गरेको थिएँ, र उनीहरूले किमको उत्तराधिकारीको रूपमा महिलालाई कहिल्यै कल्पना गर्न नसकिने बताएका थिए।”
उत्तर कोरिया अझै पनि अत्यन्त कन्फ्युसियसवादी समाज हो, जहाँ सामाजिक र राजनीतिक संरचनाहरू कडा पदानुक्रममा आधारित छन्, जसमा पति पत्नीभन्दा माथि र पुरुष महिलाभन्दा माथि हुन्छन्।
किम राजवंशभित्र सत्ताको हस्तान्तरणको लागि यो प्रश्न नउठ्ने बाटो रहँदै आएको छ। यद्यपि, जेठा छोराले सधैँ नेतृत्व ग्रहण गरेका छैनन्। विगतमा सत्ताको हस्तान्तरण समयमा प्रतिस्पर्धा र हत्यासम्मका घटनाहरूले चिन्हित भएको छ। तथापि, सधैँ परिवारको पुरुष सदस्य नै नेता बनेको छ।
के किम जू ऐले यो परम्परालाई उल्टाउन सक्छिन्?
यो वर्षको सुरुमा यसका सङ्केतहरू देखिएका थिए। गएको मार्चमा राज्य सञ्चालित मिडियामा एक फार्म भ्रमणको बारेमा प्रकाशित समाचारमा किम जू ऐलाई “महान मार्गदर्शक व्यक्ति” भनेर वर्णन गरिएको थियो, जुन सम्मानजनक उपाधि सामान्यतया शासनका वरिष्ठ नेताहरूका लागि मात्र प्रयोग गरिन्छ।
यसअघि, किम जू ऐलाई किम जोङ उनको “आदरणीय छोरी” भनेर सम्बोधन गरिएको थियो र उनलाई आफ्ना बाबुसँगै औद्योगिक क्षेत्रहरू, सैन्य अखडाहरू र सशस्त्र बलका अभ्यासहरूमा “मार्गदर्शन” दिँदाका तस्बिरमा देखिएको थियो।
उत्तर कोरियाली सरकारले उनको बारेमा लगभग केही खुलासा गरेको छैन। उनको बारेमा थोरै जानकारी दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) बाट प्राप्त भएको छ। जानकारीअनुसार उनी घोडसवार, स्कीइङ र पौडी खेल्न मन पराउँछिन्।
गत वर्ष जनवरीमा जारी गरिएको एक प्रतिवेदनमा, एनआईएसले पहिलो पटक किम जू ऐलाई आफ्ना बाबुको “सम्भावित” उत्तराधिकारीको रूपमा उदय भएको सार्वजनिक गरेको थियो। यद्यपि, त्यसमा “धेरै चरणहरू” बाँकी रहेको भन्दै सावधानी पनि अपनाएको थियो।
तथापि, धेरैले अझै पनि उत्तर कोरियाली समाजको लागि महिला सर्वोच्च नेता हुनु एकदमै ठुलो छलाङ हुने विश्वास गर्छन्, चाहे त्यो तानाशाहको इच्छा नै किन नहोस्।
किम राजवंशबारे धेरै पुस्तकका लेखक तथा टोकियोको वासेदा विश्वविद्यालयका प्राध्यापक तोशिमित्सु शिगेमुरा भन्छन्, “किमले आफ्नी छोरीलाई आफूसँग नजिक देखाउन चाहनुका धेरै कारणहरू छन्। म अझै पनि भन्छु कि किम जू ऐको लागि नेता बन्नु सजिलो छैन।”
प्राध्यापक शिगेमुरा अगाडि भन्छन्, “किम हत्याको प्रयासबाट कुख्यात रूपमा डराउँछन्। एउटा सिद्धान्त यो हो कि उनले आफ्नी छोरीलाई नजिक राख्छन् किनभने उनलाई विश्वास छ कि अमेरिकाले उनलाई मार्ने हिम्मत गर्दैन।” प्राध्यापक शिगेमुराका अनुसार अर्को कारण भनेको नेता किमले साधारण उत्तर कोरियालीहरूलाई आफ्नो परिवार पनि अरूको जस्तै भएको देखाउन चाहन्छन् र यो देखाउन चाहन्छन् कि उनी पनि आफ्नी छोरीप्रति गर्व गर्ने एक गर्विलो बाबु हुन् जो आफ्नी छोरीसँग समय बिताउन चाहन्छन्।
के सेनाले विरोध गर्ला?
प्राध्यापक शिगेमुराले कन्फ्युसियसवादका सिद्धान्तहरूले महिलालाई राष्ट्रिय नेता बन्न धेरै कठिन बनाउने कुरामा जोड दिए। उनको विश्वास छ कि उत्तर कोरियाली सेनाको उच्च तहमा पुगेका वृद्ध पुरुषहरूले महिलाबाट आदेश लिनुपर्ने विचारको विरोध गर्नेछन्।
प्राध्यापक शिगेमुरा भन्छन्, “किम जू ऐ उत्तर कोरियाको नेतृत्व तहमा शक्ति र ज्ञानमा वृद्धि गरिरहेकी हुन सक्छिन्। तर भविष्यमा उनी नेता बन्न खोज्दै छिन् भने यसको अर्थ उनको बाबुको मृत्यु भएको छ र उनले आफ्नो धेरै समर्थन गुमाएकी छिन्। हामीलाई थाहा नभएका प्रतिस्पर्धाहरू हुन सक्छन् र भविष्यमा थप देखा पर्न सक्छन्। शीर्ष राजनीतिक र सैन्य नेताहरूबाट निश्चित रूपमा प्रतिरोध हुनेछ। उनको अगाडि धेरै चुनौतीहरू छन्।”
यी चुनौतीहरूका बाबजुद कोरियाली प्राध्यापक आनको अनुसार यदि किम जू ऐले आफ्नो बाबुको विरासतलाई सफलतापूर्वक ग्रहण गर्न सकिन् भने उनले आफ्नो बाबुको पाइलो पछ्याउने सम्भावना छ। यद्यपि, उनी एक अधिक उदार नेता पनि हुन सक्ने सम्भावना रहेको पनि प्राध्यापक आनको भनाइ छ।
“किमले उनलाई आफ्नै छविमा एक बलियो नेता बनाउन प्रशिक्षण दिइरहेका छन्, तर यो सम्भावना पनि छ कि उनी एक अधिक शान्त र दयालु शासक बन्न सक्छिन्,” प्राध्यापक आन भन्छिन्।
जुलियन रायल टोकियोमा आधारित पत्रकार हुन्, जसले जापान र कोरियाका राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरूमा समाचार लेख्ने गर्छन्।
श्रोत: डीडब्ल्यु
श्रोत: आइएनएस-स्वतन्त्र समाचार

