स्थानीय तहमा सक्दो छिटो सेवा दिने तयारी

जेन जेड पुस्ताको आन्दोलनका क्रममा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनबारे अन्योल छ । स्थानीय तहमा आगजनी र तोडफोड भएपछि सेवामा बाधा पुगेको छ ।

सरकारी कार्यालयका कम्प्युटरदेखि कागजात जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाहमा समस्या देखिएको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

“वडा कार्यालय र पालिकामा रहेका कम्प्युटरदेखि कागजात अधिकांश नष्ट भएका भएका छन्, केही शाखाको अलिकति मात्र बचेको छ”, उनले भने, “तत्काल सेवा दिन सकिने अवस्था छैन ।” उनले क्षतिको विवरण संकलन र मुचुल्का उठाउने काम भइरहेको उल्लेख गर्दै सेवा प्रवाहमा अझै केही दिन लाग्ने बताए । “अहिले सरसफाइमै बढी ध्यान दिएका छौँ, सक्दो छिटो सेवा दिने तयारीमा लागेका छौँ ।”

कञ्चनपुरमा मात्र आन्दोलनकारीले ३० सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । केही कार्यालयमा सामान्य क्षति भएको छ भने कतिपय कार्यालय ध्वस्त भएका छन् । शुक्लाफाँटा नगरपालिकाको कार्यालयसँगै वडा नं १, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का कार्यालयमा आगजनी र तोडफोड हुँदा पूर्ण रूपमा ध्वस्त भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले वडा कार्यालय पूर्ण क्षति भएका कारण तत्काल सेवा दिन कठिनाइ भइरहेको जानकारी दिए ।

कञ्चनपुरमा सरकारी कार्यालयसँग नेताहरूका निजी घर, पार्टी कार्यालय र व्यावसायिक प्रतिष्ठानमासमेत आगजनी र तोडफोड भएपछि स्थानीय तहका कर्मचारी त्रसित छन् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले ढुक्क भएर सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको बताए ।

“कार्यालयमा आगजनी र तोडफोड भएपछि कर्मचारी त्रसित बनेका छन्, सेवा प्रवाह गर्न तयारी गरिरहेका छौँ ।” आइतबारदेखि प्रशासनले निषेधाज्ञा कफ्र्यू हटाए पनि सेवा प्रवाह कसरी सञ्चालन गर्ने अन्योल छ । जिल्ला प्रशासन कार्यालयमा पनि आगजनी र तोडफोडका कारण सेवा प्रवाहमा समस्या भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले आगजनी र तोडफोडले विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको बताए ।

जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती र गुलरिया, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका कार्यालय र वडा नं १ देखि १२ सम्मका वडा कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय र चार वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

त्यसैगरी, भीमदत्त नगरपालिका कार्यालय र बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा नोक्सानी पुर्‍याइएको छ । तोडफोड र आगजनी हुँदा भौतिक संरचना, फर्निचर र सवारीसाधनमा ठुलो क्षति भएको छ । आन्दोलनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली काँग्रेसका पार्टी कार्यालयमासमेत आगजनी र तोडफोड गरिएको छ ।

त्यसैगरी, निवर्तमान गृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्व सांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, भीमदत्तका पूर्व नगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालगायतका घरमा आगजनी र तोडफोड गरिएको छ । प्रहरीका अनुसार होटेल ओपेरा, सीएमजी क्यासिनो, विपिन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा समेत तोडफोड, आगजनी र लुटपाट भएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link