हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बसेका छन् । छेउमै जलेश्वरदेवी (विजयकी आमा) उसै गरी टोलाइरहेका छन्। शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उनको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जनीबाट अब विजय कहिल्यै फर्कने वाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले जेन जेड पुस्ता आन्दोलनमा गत मंगलबार संसार छाडिसकेका छन् ।
मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेक कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शंका । गाउँमा विजयबारे आएको खबर आधा मात्र हो । “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ ।
घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहेकी छन्। “भाइलाई आइसियुमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि खबर गर्छु ।”
पाँच वर्षदेखि काठमाडौँमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए । आमाबुबाको औषधि, घर खर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो । तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन् ।
भाइलाई गोली लागेको खबर पाएपछि हेटौँडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौँ पुगिन् । उनले राजधानीका दर्जनौँ अस्पताल चहारिन्। चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पारिन्। शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गरिन्। त्यसपछि विक्षिप्त बनेकी सुशीला बाबुआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताइन् । “छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवान्सँग कामना गरेकी छु”, आमा जलेश्वरदेवीले भनिन् ।
विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिवार फर्किँदै छन्। उनले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाएकी हुन्। सायद उनलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन् । यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो । गाउँमा अहिले पनि विजयको कोठा खुलै छ । उनको श्रीमती अझै अर्धचेत अवस्थामा छिन् । छोरीले बुझ्ने उमेर छैन । तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ-‘पक्कै आउँछ नि!
सबैसँग मिलेर बस्न सक्ने उनको स्वभाव थियो । लहान-१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्छन्, “विजय सधैँ शान्त स्वभावका थिए । कसैसँग झगडा गर्दैनथे । गाउँमा सबैलाई सम्झाई बुझाइ गर्थे ।” उनका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए । संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए । साथीहरूले फर्किन भनेका थिए, त्यसै बेला उनलाई गोली लाग्यो ।
गाउँमा अहिले सिंगो टोल स्तब्ध छ । तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा । आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ । आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु