पर्सामा क्षतिको आङ्कलन गरिँदै: टेलिकमको कार्यालयमा पनि क्षति

गत हप्ताको आन्दोलनबाट वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट रु तीन करोड बराबरको क्षति भएको छ ।

यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो । नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्त्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी दिए । ‘‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’’ उनले भने, ‘‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ ।’’

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ ।

‘‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’’ उनले भने, ‘‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शिता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्य दृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’’

यहाँको वीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link