आन्दोलनका कारण प्रभावित बनेको सार्वजनिक सेवा सहज बन्दै

जेन जेड आन्दोलनका कारण प्रभावित बनेको सार्वजनिक सेवा बिस्तारै सञ्चालन हुन थालेको छ । अदालतलगायत सरकारी निकाय र कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको हो ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले आइतबारदेखि मुद्दा, शान्ति सुरक्षा र विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा सञ्चालन गरिएको जनाएको छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सञ्चालन गरिने भएको हो ।

जेन जेड आन्दोलनका क्रममा यही भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण क्षति पुगेको कार्यालयमा सामान्य मर्मतसम्भार गरी अत्यावश्यक सेवा सञ्चालन गरिएको हो । विषम् परिस्थितिका कारण कार्यालयबाट प्रवाह हुने सेवाको प्राप्तिमा धैर्य गरिदिन कार्यालयले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आगजनीबाट जिल्ला प्रशासन कार्यालयका फर्निचर, कम्प्युटरलगायत महत्त्वपूर्ण जलेर नष्ट भएको जनाइएको छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतसँग सम्बन्धित सम्पूर्ण अभिलेख पनि जलेको कार्यालयले जनाएको छ । पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी गरिएको थियो ।

उच्च अदालत पोखरा, बागलुङ इजलासले पनि सोमबारदेखि मुद्दाको सुनुवाइलगायत अदालतको नियमित कामकारबाहीलाई नियमित रूपमा सञ्चालन गरिने जनाएको छ । जेन जेड आन्दोलनका कारण यही भदौ २५ गते सूचना जारी गर्दै अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अन्य मुद्दाको सुनुवाइ स्थगित गरेको थियो ।

अदालतका रजिष्ट्रार रामबहादुर क्षेत्रीले सोमबारदेखि साप्ताहिक पेसी सूचीमा चढाउनुपर्ने मुद्दाबाहेक अन्य मुद्दाको सुनुवाइ नियमित सञ्चालन हुने जानकारी दिए। जेन जेड आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिका कारण केही दिन अदालतको सेवा प्रवाह प्रभावित भएको थियो ।

पोखरा महानगरपालिकालगायत स्थानीय तहले पनि अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेका छन् । अन्य सरकारी कार्यालयले पनि बिस्तारै सेवा प्रवाहलाई सहज बनाउने प्रयासमा छन् । गण्डकी प्रदेशका कतिपय स्थानीय तहमा आइतबारदेखि नै विद्यालय सञ्चालनमा आएका छन् ।

पोखरा महानगरपालिकाका विद्यालय भने आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय नगर कार्यपालिकाको बैठकले गरेको छ । आन्दोलनका कारण विद्यालयहरूले लिने परीक्षा भने पछाडि सारिएको छ । शनिवारदेखि कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बनेको छ । सार्वजनिक यातायात पनि सञ्चालनमा आएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link