सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभूत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ ।
यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानी जस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरेर यहाँ आएका लोकबहादुर थापा मगर यहाँ अनेक दुःख झेल्नु परेको बताउँछन् । “यहाँको मुख्य समस्या सडक हो । सडक नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन्”, उनले भने, “बिरामी हुँदा उपचारका लागि निकै समस्या छ ।” बस्तीमा खानेपानीको सुविधा छैन ।
गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा पढाइ छाडेर भारत जाने चलन छ । महेन्द्रनगर सदरमुकामदेखि करिब १३ किमी ब्रह्मदेवसम्म सुविधा सम्पन्न सडक छ । ब्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन बाटोको यात्रा गर्नुपर्छ । “वर्षातको बेला बाटो नहुँदा बिरामीलाई उपचार गराउन समस्या हुन्छ, बाटो नहुँदा धेरै समस्या झेल्नुपरेको छ”, स्थानीय लीला पुन मगरले भनिन्, “विजुलीबत्ती र खानेपानीको सुविधा छैन ।” खानेपानी योजना आएको पाँच वर्ष भयो तर अहिलेसम्म पूर्णता पाएको छैन ।
छ सय बढी जनसङ्ख्या रहेको यस बस्तीमा आधारभूत तहको विद्यालय बाहेक अरू कुनै सुविधा उपलब्ध छैन । यहाँबाट ब्रह्मदेव पढ्नका लागि आठ किलोमिटर पैदल हिँड्नुपर्छ । सडक राम्रो नहुँदा यहाँ एम्बुलेन्स समेत ल्याउन सकिँदैन ।
यहाँ पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशामा दशक बितेको धनगिरी चुनारा बताउँछन् । उनले गाउँमा सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा धेरै पटक बिरामीलाई बोकेरै ब्रह्मदेव बजारसम्म पुर्याएको बताए । स्थानीयलाई यहाँ खेती गर्न सिँचाइसमेतको समस्या छ ।
वडा कार्यालय पनि ब्रह्मदेवमा भएकाले यहाँका स्थानीयले वडाबाट पाउने सेवा सुविधा समेत सहज रूपमा पाउन नसकेको स्थानीय रेखा विकको गुनासो छ । “गाउँगाउँमा सिंहदरबार आयो भन्छन् हामीले एउटा सिफारिसका लागि दुई घण्टा हिँड्नुपर्छ”, उनले भनिन्, “हामीलाई त आधारभूत सेवा सुविधा पाउनसमेत मुस्किल छ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फर्से बस्ती बगर बन्दा खल्लो बनेको दसैँ
- च्याम्पियन्स लिग: ८३ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडको रोमाञ्चक पुनरागमन
- आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको आराधना र पूजा
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- छ वटा प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
- कागजमै सीमित तनहुँका पूर्वाधार आयोजना
- नर्ड स्ट्रिम पाइपलाइन विस्फोट: युक्रेनी पूर्वसैन्य अधिकारीमाथि जर्मनीमा मुद्दा सुरु
- च्याम्पियन्स लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर युनाइटेड पराजित
- नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
- आजको मौसम पूर्वानुमान