राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की बिच राजनीतिक सङ्क्रमणको सहज व्यवस्थापनबारे सहमति

जेनजी विद्रोहीपछि सर्वपक्षीय सहमतिमा नियुक्ति अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी अब देश सामान्य अवस्था तर्फ लागेकोमा व्रिफिङ्ग गर्नुभएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री बिचमा निर्वाचन केन्द्रित भएर सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाउने समझदारी बनेको पनि समाचार सूत्रहरूले उल्लेख गरेका छन् ।

संक्रमणकाललाई संवेदनशील रूपमा ग्रहण गर्दै सरकारलाई सहयोग पुर्‍याउन राष्ट्रपतिको संस्था पनि सकारात्मक रहेको सन्देश राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई दिनुभएको छ । तर संविधानमा थप क्षति नपुगोस् भन्नेमा राष्ट्रपति सचेत रहनु भएको र सरकारले पनि त्यसमा गम्भीर हुनुपर्ने सुझाव उहाँको छ ।

प्रधानमन्त्री कार्कीले पनि आफू तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा गरेजस्तै निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गरेर सहज सत्ता हस्तान्तरण गर्न कटिबद्ध रहेको आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुभएको बताइन्छ ।

भदौ २३ र २४ को जनविद्रोहको अवस्थाको बारे सबै पक्ष गम्भीर भएर नवयुवाहरूको माग र आक्रोशलाई सम्बोधन गर्न सकिने जति शासकीय सुधारका काम अगाडी बढाउँदा सहयोग पाउनु पर्ने र संवैधानिक तथा राजनीतिक सुधारको विषयलाई निर्वाचन मार्फत अनुमोदन खोज्नुपर्नेमा पनि राष्ट्रपति र प्रधानमन्त्री बिच एकमत रहेको समाचार सूत्रले उल्लेख गरेको छ ।

राजनीतिक सङ्क्रमणलाई निर्वाचनपछि जन अनुमोदित सांसदबाट व्यवस्थापन गर्न सबै पक्षलाई आव्हान गर्ने सहमति बनेको पनि सूत्रले स्वतन्त्र समाचार सेवालाई बताएको छ ।

यस छलफलपछि आजै राष्ट्रपतिबाट मतदाता नामावली सङ्कलनका लागि म्याद थप गर्न अध्यादेश जारी भएको छ । हाल मतदाता नामावलीमा नाम छुटेकाहरूले निर्वाचन आयोगले तोकेको म्याद भित्र नामावली दर्ता गर्न सक्नेछन् । यस बाट १८ वर्ष उमेर पुगेका जेनजी पुस्ताका नयाँ मतदाताहरू थपिन सहज भएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link