बडादसैँ तथा नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको आराधना गरिन्छ।
यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन महागौरीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।
किंवदन्तीअनुसार देवीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले एकदिन मजाकमा ‘ए काली’ भनेपछि देवीलाई अप्रिय लाग्यो। त्यसपछि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले देवीको नाम महागौरी रहन गएको पुराणमा उल्लेख छ। उनी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा चित्रित गरिएको पाइन्छ।
नवरात्रका नौ दिनभर घटस्थापनास्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्रको पाठ गरिन्छ। यसरी देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजाआराधनाबाट प्राप्त प्रसाद ग्रहण गर्ने परम्परा छ। दुर्गा पक्ष भनिने यस पर्वमा शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म नौ रूपलाई ‘नवदुर्गा’ मानिन्छ।
देशभरका शक्तिपीठ र देवी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विशेषगरी फूलपातीका दिनदेखि सार्वजनिक बिदा हुने भएकाले शक्तिपीठमा चहलपहल अझै बढ्ने गर्दछ। यही दिनदेखि बडादसैँको विशेष रौनक सुरु हुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ३ अर्ब ९० करोड लागतमा ३० मेगावाट आयोजना अघि बढ्यो
- सुन्तला म्याग्दीको प्रमुख नगदेबाली
- नेपालको बहादुरी: इङ्गल्यान्डविरुद्धको सनसनीपूर्ण भिडन्त
- २५ वर्षमा २६ लाख पर्यटकले रोजे अन्नपूर्ण
- फागुन २१ को निर्वाचनअघि मतदाता सचेतना अभियान
- सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
- वायु प्रदूषण अस्वस्थ तहमा
- प्रतिनिधिसभा निर्वाचन : आयोगले ९ प्रकारका सामग्री पठाउने
- कुष्ठरोग प्रभावितविरुद्ध विभेद अन्त्य गर्न कानुन सुधार आवश्यक
- फोक्सिङटार बेलिब्रिज सञ्चालनमा आएपछि घुमाउरो बाटोबाट मुक्ति