जोमसोम–कोरला सडक अवरोध : चीनबाट आयातित सामग्री बोकेका ट्रकहरू न्हेचुङमा अड्किए

लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् ।

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् ।

कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुश्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। अब दसैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने उनले बताए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या भएको हो । व्यापारीसँग समन्वय गरी डाइभर्सन निर्माण गर्न पहल भइरहेको उनले बताए ।

घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दासमेत सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि विसं २०७५ रु छ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जानासमेत लगाइरहेको भए पनि काम अझै अघि बढ्न सकेको छैन । एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link