तिहार नजिकिएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उनले दसैँ, तिहारको समयमा मादल बनाउने गर्छन् ।
नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसी भैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदै गर्दा मादलको माग बढेको वादीले बताए । “दसैँ र तिहारको समयमा मादल बनाउने माग बढी आउने गरेको छ, विशेष गरी तिहारको समयमा मादलको बिक्री हुन्छ”, उनले भने, “तिहारका मागअनुसार मादल पुर्याउन पनि सकिँदैन ।” तिहारमा मादल बिक्रीबाट रु. ४० हजारसम्म आम्दानी हुने गरेको उनले उल्लेख गरे ।
केही वर्ष अघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको वादीले बताए। “दुई–तीन वर्ष अघिसम्म तीजमा मादलको माग उच्च थियो, अहिले तिहारमा मात्रै खोजी हुन्छ”, उनले भने, “मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजारसम्म बिक्री हुन्छ ।”
कच्चा पदार्थ नपाउँदा समस्या
वाद्यवादनका सामग्री बनाउनु वादी समुदायको पुर्ख्यौली पेसा हो । पछिल्लो समय वाद्यवादनका सामग्री बनाउन कच्चापदार्थ पाउन कठिन भएपछि पेसा नै संकटमा पर्न थालेको दोधारा चाँदनी–३ का वादीले जानकारी दिए । “बाजेबुबाले वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गरे, अहिले कच्चापदार्थ रूपमा आवश्यक पर्ने छाला र काठ (खमारी) नपाउँदा समस्या हुन्छ”, उनले भने ।
मादलमा बाख्राको छालाको प्रयोग हुने बताउँदै भारतीय छिमेकी सहरमा छाला पाइने भए पनि नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउने गरेकाले समस्या हुने वादीको अनुभव छ । छाला र खमारी सहज रूपमा नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने सेवाग्राही बढी हुने गरेका उनले बताए ।
उनका अनुसार भारतीय बजारमा एउटा छालाको रु. एक हजारसम्ममा खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छाला मात्रै पाउँदैन”, उनले भने, “भारतीय सहरमा पाइन्छ सीमानाकामा ल्याउन पाइँदैन ।”
वादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री वितरण गर्नु हो । विभिन्न पर्वमा नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदायले बढ्दो आधुनिकतासँगै पुर्ख्यौली पेसा संकटमा पर्दै गएको बताउँछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु