संयुक्त राष्ट्रसङ्घले विश्वका करिब ८० प्रतिशत गरिब, अर्थात् झन्डै ९० करोड मानिस, जलवायु परिवर्तनका प्रभावहरूको प्रत्यक्ष जोखिममा रहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का कार्यवाहक प्रशासक हाओल्याङ जूले खडेरी, बाढी, चरम गर्मी र वायु प्रदूषणजस्ता जलवायुजन्य समस्याहरूले सबैलाई असर पारिरहेको बताए। तर, यी समस्याहरूको सबैभन्दा ठुलो चोट गरिब समुदायले बेहोरिरहेको उनको भनाइ छ।
जूले आगामी नोभेम्बरमा ब्राजिलमा हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन (कोप–३०) मा विश्व नेताहरूलाई जलवायु कार्यलाई गरिबी निवारणको अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।
युएनडिपी र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभको संयुक्त वार्षिक प्रतिवेदनअनुसार विश्वका १०९ देशमा एक अर्ब १० करोड मानिस, अर्थात् विश्व जनसङ्ख्याको १८ प्रतिशत, तीव्र बहु–आयामिक गरिबीमा बाँचिरहेका छन्। यो गरिबी शिशु मृत्युदर, आवास, सरसफाइ, बिजुली र शिक्षाको पहुँचजस्ता आधारमा मापन गरिएको हो। यी गरिबमध्ये आधा बालबालिका छन्।
प्रतिवेदनले बोलिभियाको सान्ता क्रुज डे ला सिएरानजिकै बस्ने गुआरानी आदिवासी समुदायका रिकार्डोको उदाहरण प्रस्तुत गरेको छ। रिकार्डोले १८ जना परिवारसँग एउटा सानो घरमा बस्नुपर्छ, जहाँ केवल एउटा शौचालय छ, काठ र कोइलाले चल्ने भान्सा छ, र कुनै पनि बालबालिका स्कुल जान पाउँदैनन्। यो अवस्था बहु–आयामिक गरिबीको वास्तविक चित्र भएको प्रतिवेदनले उल्लेख गरेको छ।
उप–सहारा अफ्रिका र दक्षिण एसिया जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा छन्। प्रतिवेदनले गरिबी र चार प्रमुख वातावरणीय जोखिमहरू–चरम गर्मी, खडेरी, बाढी र वायु प्रदूषण– बिचको गहिरो सम्बन्धलाई प्रस्ट्याएको छ। गरिब परिवारहरू प्रायः असुरक्षित क्षेत्रमा बस्ने र कृषि तथा अनौपचारिक श्रममा निर्भर हुने भएकाले यस्ता जलवायु विपद्हरूले उनीहरूको जीवनलाई झन् कठिन बनाउँछ।
प्रतिवेदनअनुसार विश्वका ८८ करोड ७० लाख गरिब (७९%) कम्तीमा एउटा जलवायु जोखिमको सामना गरिरहेका छन्। यसमध्ये ६० करोड ८० लाखले चरम गर्मी, ५७ करोड ७० लाखले वायु प्रदूषण, ४६ करोड ५० लाखले बाढी र २० करोड ७० लाखले खडेरीको असर भोगिरहेका छन्। थप रूपमा, ६५ करोड १० लाखले दुई जोखिम, ३० करोड ९० लाखले तीन वा चार जोखिम, र एक करोड १० लाखले एकै वर्षमा सबै चार जोखिमको सामना गरेका छन्।
दक्षिण एसियामा गरिबी घटाउने प्रयासमा प्रगति भए पनि यहाँका ९९.१% गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिममा परेका छन्। प्रतिवेदनले यो क्षेत्रलाई गरिबी न्यूनीकरण र जलवायु कार्यबिच सन्तुलन कायम गर्ने नयाँ बाटो खोज्न सुझाएको छ।
विज्ञहरूले पृथ्वीको तापमान तीव्र गतिमा बढिरहेकाले अवस्था थप जटिल बन्न सक्ने र गरिब देशहरू नै सबैभन्दा बढी प्रभावित हुने चेतावनी दिएका छन्। प्रतिवेदनले मानव जीवन र पृथ्वीको संरक्षणलाई प्राथमिकता दिँदै जोखिमहरूको सामना गर्न तत्काल कार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हेम्जाकोट गाउँ र माछापुच्छ्रे हिमाल
- पनौती प्रेस पूर्ण सञ्चालनतर्फ : छ महिनामा नागरिकता-लाइसेन्ससहित नौ सेवा
- आज गणेशमान सिंहको १११औँ जन्म जयन्ती मनाइँदै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- ट्रम्पको भाषण सम्पादनको आलोचना पछि बिबिसीका निर्देशकले दिए राजीनामा
- विभिन्न सडक दुर्घटनामा एकको मृत्यु, १७ घाइते
- महाकाली करिडोर: सुदूरपश्चिमको लाइफलाइन अलपत्र
- ‘एनटिभी वर्ल्ड’ आजदेखि: पिएसबी नेपालको स्थापनाको प्रथम वर्षोत्सव
- आजको विदेशी मुद्राको विनिमय दर
- स्याउले सिप्तिङ होमस्टे: आठपहरियाको संस्कृति र पर्यटनको नयाँ ढोका