म्याग्दीको अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्ग युवा पुस्ता अर्थात् ‘जेनजी’ को पहिलो रोजाइ बनेको छ। दसैँ-तिहारको बिदामा पोखराकी दिवाना सुनुवार र बनेपाकी अनुषा लामा जस्ता धेरै युवा पर्यटक अन्नपूर्ण आधार शिविर घुम्न पुगेका छन्।
मौसममा सुधार आएसँगै दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्, जसमा करिब ८० प्रतिशत जेनजी पुस्ताका छन्। सामाजिक सञ्जालमा भाइरल भएका फोटो र भिडियो देखेर लोभिएर आएका उनीहरू नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहन्छन्।
छोटो दूरीमा हिमाल, ताल, झरना, फरक भूगोल र वन्यजन्तुको अवलोकन गर्न पाइने भएकाले अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग युवाहरूबिच लोकप्रिय बनेको हो। सन् १९५० मा अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रान्सका मौरिस हर्जोगको सम्मानमा नामकरण गरिएको यो पदमार्ग वि.सं. २०८० देखि सञ्चालनमा आएको हो।
पर्यटकको चाप बढेसँगै हुमखोला, साँघीखर्क लगायतका ठाउँमा स्थानीयवासीले अस्थायी टहरा र टेन्टमा होटल चलाएका छन्। तर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले स्थायी संरचना बनाउन नदिएको र विद्युत् तथा सञ्चार सुविधाको समस्या रहेको व्यवसायी बताउँछन्।
फोहर व्यवस्थापन र होटलको क्षमता विस्तार मुख्य चुनौती बनेको छ। गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पदमार्गको स्तरोन्नति र सुविधा थप गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गर्ने आश्वासन दिएका छन्। गाउँपालिकाले पनि एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणलाई निरन्तरता दिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मावि सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा: राज्यको ध्यान कहिले जाने?
- पुल नहुँदा अस्थायी डाइभर्सनकै भर: बाढी आउनासाथ ठप्प हुन्छ पाँचथरको यातायात
- चरा संरक्षणमार्फत पर्यावरणीय सन्तुलन र पर्यटन विकासको बहस
- जर्मन सरकारको अनुदानमा धुलिखेल खानेपानीको पुन:निर्माण
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम:चट्याङसहित मध्यम वर्षाको सम्भावना
- श्रमदानबाट ठडियो धरानमा ज्येष्ठ नागरिक उद्यान
- नेपालगन्ज भन्सार: दस महिनामा ६८.२ प्रतिशत मात्र राजस्व संकलन
- समुद्री स्रोतको दिगो संरक्षण र अन्तर्राष्ट्रिय दिवस
- आज विश्व वातावरण दिवस