बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।
तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि यहाँका विद्यार्थीले पहल थालेका हुन् । बागलुङ बजारको चोकचोक र मुख्य सडकमा देउसी भैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन । हिन्दी, अङ्ग्रेजी र र्याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन् ।
मगर विद्यार्थीले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन् । स–साना बालबालिकादेखि युवायुवतीले पुरानो भाग गाउँदै मगर भेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्यान त्यतातिर गएको छ ।
मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणका लागि नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिले यस वर्ष देउसी खेल्न थालेको हो । बजारमा पश्चिमा संस्कृतिको हाबी हुँदै गएपछि त्यसलाई रोक्नका लागि आफूहरू मौलिक संस्कृतिलाई समेटेर देउसी खेल्ने थालेको जिल्लास्थित मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले जानकारी दिए ।
पुर्खाहरूरुले तिहारका बेला गाउने र नाच्ने नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि आफूहरू यसको संरक्षणमा जुटेको उनको भनाइ छ । खास गरी तिहारमा मारुनी, सोरठी नाच नाच्नुपर्ने भए पनि पछिल्लो समय हिन्दी र अङ्ग्रेजी गीतमा नाच्ने प्रचलन बढेको अध्यक्ष अठारेले बताए । मगर विद्यार्थी सङ्घले बुढापाकाबाट प्रशिक्षण लिएर मौलिक गीत र नाचमा देउसी खेलेको उनको भनाइ छ । युवा पुस्तामा पुरानो संस्कृति हस्तान्तरणका लागि पनि आफूहरू लागि रहेको अठारेले बताए ।
सोरठी र मारुनी नाच मगर समुदायको पहिचान भएकाले यसलाई सिकेर अन्य युवालाई सिकाउन थालेको सङ्घका सचिव प्रदीप थापामगरले जानकारी दिए । करिब चार वर्ष बुढापाकाबाट आफूले सोरठी र मारुनी सिकेको उनको भनाइ छ । गाउँका टीकाराम थापा, पदम श्रीसलगायतका बुढापाकाहरुबाट सोरठी सिकेपछि मगर विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरूलाई तालिम दिएर यसपालि देउसी खेल्न थालेको थापाले बताए ।
देउसी खेलेर सङ्कलन गरेको रकमले सांस्कृतिक साँझ गर्ने मगर विद्यार्थी सङ्घले जनाएको छ । विद्यार्थी सङ्घले विभिन्न समयमा भाषा, कला र संस्कृति संरक्षणमा काम गर्दै आएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै
- ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नाराका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
- आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- देशभर मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
- वनभित्र पोखरी: मुहान पनि जोगिने, वन्यजन्तु पनि अल्झिने
- देवघाट–१ का १४ सुकुमवासी परिवारलाई चाँडै जग्गा उपलब्ध गराइने
- देशैभर मनसुनी वायुको प्रभाव: आज धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
- आज प्रतिनिधि सभाको बैठक बस्दै