एम्बाप्पे र बेलिंघमका गोलमा रियल मड्रिडले बार्सिलोनालाई हरायो

रियल मड्रिड आफ्नो चार एल-क्लासिको हारको सिलसिलालाई तोड्दै ला-लिगामा शीर्ष स्थान कायम छ र लिगमा पाँच अङ्कको अग्रता बनाएको छ।

किलियन एम्बाप्पे र जुड बेलिंघमका गोलमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले कडा र तनावपूर्ण एल-क्लासिको भिडन्तमा हराएको छ। सान्टियागो बर्नाबेउ मैदानमा आइतबार भएको यो खेलमा रियलले एल -क्लासिकोको चार खेलको हारको सिलसिलालाई तोड्दै ला लिगा शीर्ष स्थानमा पाँच अङ्कको अग्रता बनाएको छ। एम्बाप्पेले पेनाल्टी गुमाए पनि पहिलो गोल गरेका थिए भने बेलिंघमको दोस्रो गोल निर्णायक साबित भयो। बार्सिलोनाका फर्मिन लोपेजले बराबरी गोल फर्काए पनि, खेलको अन्त्यतिर पेड्रीको रातो कार्डले तनाव थपियो।

यो जितसँगै रियल मड्रिड ला लिगामा २७ अङ्कसहित शीर्ष स्थानमा छ, जसमा बार्सिलोना २२ अङ्कसँग दोस्रो स्थानमा छ। रियलका प्रशिक्षक जाबी अलोन्सोको टिमले सिजनको सुरुवातमा १० खेलमध्ये नौ खेल जितेको छ। सेप्टेम्बरमा एट्लेटिको मड्रिडसँगको डर्बी हारपछि यो ठुलो अवसरमा आएको जितले टिमको आत्मविश्वास बढाएको छ। अर्कोतर्फ, हान्सी फ्लिकको बार्सिलोनाले गत हप्ता गिरोना विरुद्ध जित हासिल गरेको थियो तर फ्लिक निलम्बनमा परेका कारण सहायक प्रशिक्षक मार्कस सोर्गले टिमको कमान्ड सम्हालेका थिए। बार्सिलोनामा राफिन्हा, रोबर्ट लेवान्डोस्की र डानी ओल्मो जस्ता मुख्य खेलाडी अनुपस्थित थिए भने, लमिन यमाल ग्रोइन चोटका कारण पूर्ण रूपमा फिट नभई सुरु गरेका थिए।

पहिलो हाफमा बार्सिलोनाले बल पोसेसनमा बढी थियो तर यसले केहि फाइदा भएन। रियलले भने बढी खतरनाक अवसर सिर्जना गर्‍यो। खेल सुरु हुते पनि रियललाई पेनाल्टी दिइएको थियो जब यमालले भिनिसियस जुनियरलाई फल गरे जस्तो देखियो। तर भिडियो सहायक रेफ्रि (भार) समीक्षापछि यो पेनाल्टी रद्द भयो । केही मिनेटपछि एम्बाप्पेले बाहिरबाटै गोल गरेको थियो तर यो पनि मिलिमिट्रिक अफसाइडका कारण रद्द भयो।

तर एम्बाप्पेको पर्खाई धेरै लामो भएन। बेलिंघमको उत्कृष्ट कामपछि एम्बाप्पे गोल लाइनतर्फ दौडिए र गोलकिपरलाई बाइपास गर्दै  गोल गरे। यो उनको लिगको ११औँ गोल थियो। यसपछि रियलले खेलमा नियन्त्रण लिन थाल्यो। बार्सिलोनाका किपर स्जेस्नीले डिन ह्विज्सेनको प्रयास रोके भने बेलिंघम र फेडे भाल्भर्डेले नजिकबाट गोल गर्न सकेनन् । स्जेस्नीले भिनिसियस र बेलिंघमका प्रयास पनि रोके। तर खेलको प्रवाह विपरीत ३८औँ मिनेटमा बार्सिलोनाले बराबरी गोल फर्कायो। अर्डा गुलरले खतरनाक क्षेत्रमा बल गुमाएपछि मार्कस र्‍यासफोर्डको क्रसमा  लोपेजले बलिया सटबाट गोल गरे।

तर पाँच मिनेटमै बेलिंघमले रियललाई फेरि अगाडि ल्याए। इङ्गल्यान्ड यो युवा स्टारले भिनिसियसको क्रसलाई एडर मिलिटाओले हेडरबाट फर्काएपछि ट्याप इन गोल गरे। यो उनको बर्नाबेउमा अप्रिलपछि पहिलो गोल थियो, जुन मध्य हप्तामा जुभेन्टससँगको खेलमा पनि आएको थियो। दोस्रो हाफ सुरुमा रियलले अग्रता बढाउन सक्थ्यो तर एरिक गार्सियाको ह्यान्डबलका कारण दिइएको पेनाल्टी एम्बाप्पेले गुमाए। स्जेस्नीले उत्कृष्ट सेभ गरे। यमालले लामो दूरीबाट सट हाने तर क्रसबार माथिबाट बाहिरियो। रियलले रक्षात्मक रूपमा बलियो खेल्दै बार्सिलोनालाई गोलबाट टाढा राख्यो।

अन्तिम चरणमा रियलले रोद्रिगो गोइस र ब्राहिम डियाजलाई मैदानमा पठायो तर बार्सिलोनासँग आक्रमणका लागि कम विकल्प थिए। नौ मिनेटको अतिरिक्त समयमा बार्सिलोनाकाप्रशिक्षक सोर्गले रोनाल्ड अराउजोलाई अग्रपङ्क्तिमा पठाए तर उनी सेन्टरब्याक थिए र थिबाउ कुर्टोइसलाई खतरा हुन सकेन। खेल समाप्त हुनुअघि पेड्री दोस्रो पहेँलो कार्डमा रातो कार्ड पाएपछि दुवै टिमका बेन्च खेलाडीबिच झडप भयो। यो तनाव खेलपछि पनि जारी रह्यो, जसमा भिनिसियस जुनियर र यमाल पनि संलग्न थिए।

रियलका युवा मिडफिल्डर चियोमेनीले भने, “हामी यसरी नै अगाडि बढ्नुपर्छ; यो मात्र तीन अङ्क हो, अरू अङ्क जित्न बाँकी छ, हामीले स्तर बढाउनुपर्छ।” यमालको पूर्व म्याच टिप्पणी (रियलले “चोरी गर्छ” र “गुनासो गर्छ” भनेर) बारेमा उनले भने, “यो ठिक छ, यो केवल शब्द हो, कुनै खराब नियत छैन। यसले हामीलाई अलिकति बढी दृढ बनायो। यदि लमिन बोल्न चाहन्छन् भने कुनै समस्या छैन। खेल मैदानमा खेलिन्छ र हामीले जित्यौँ। हामी हाम्रो खेलसँग खुसी छौँ र अगाडि हेर्छौँ।”

यो खेलअघि यमालको टिप्पणीले रियल समर्थकहरूलाई क्रुद्ध बनाएको थियो। उनको नाम घोषणा हुँदा जयकारा होइन, तिरस्कारको स्वर सुनियो। बार्सिलोनाले पहिलो हाफमा बढी बल राखे पनि रियलका आक्रमणकारीहरू बढी खतरनाक थिए। रेफ्रीका निर्णयहरूमा पनि विवाद भयो – प्रारम्भिक पेनाल्टी रद्द, एम्बाप्पेको अफसाइड गोल र दोस्रो हाफको पेनाल्टी सेभ।

यो जितले रियलको सिजनलाई मजबुत बनाएको छ। अलोन्सोको टिमले ठुला खेलहरूमा पनि सफलता पाउन सक्छ भन्ने प्रमाणित गरेको छ। बार्सिलोनालाई भने चोट र निलम्बनका कारण चुनौती थपिएको छ। एल क्लासिकोको यो कडा भिडन्तले स्पेनिस फुटबलको रोमाञ्चकता पनि झल्कायो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link