नुवाकोटको घ्याङफेदीको एउटा विद्यालयमा कक्षा ६ पढ्दै गरेकी रिमाया (परिवर्तित नाम) विद्यालय आउन छाडिन्। १५ दिनसम्म पनि विद्यालय नआएपछि शिक्षक र साथीहरू उनको घर पुगे। तर १३ वर्षकी उनी घरमा थिइनन्।
यो २०७९ को माघको कुरा हो। रिमायाका बारेमा सोध्नेलाई उनका बाबुआमाले जवाफ दिन्थे, “आफन्तको घर गएकी छन्।”तर, उनै रिमाया दुई वर्षपछि चैत, २०८१ मा भारतको कोलकातास्थित सोनागाछीको १५ नम्बर गल्लीमा रहेको शान्ति कोठीमा भेटिइन्। जहाँबाट माइती नेपालको टोलीलाई उनलाई उद्धार गरेर नेपाल ल्यायो।
सोनागाछी त्यही हो, जुन ठाउँ एसियाकै ठूलो रेडलाइट एरियामध्येको एक मानिन्छ। यौन व्यवसायमा लगाउनका लागि नेपालबाट भारत लगिएकी
रिमाया एक्ली होइनन्। मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०८१/०८२ सम्मको पाँच वर्षको अवधिमा भारतबाट नुवाकोटका १४९ महिला र २० बालिका तथा किशोरीको उद्धार गरिएको छ। उनीहरूले आफूहरू बेचबिखनमा परेको भनी मुद्दा गरेका छन्। उक्त अवधिमा दर्ता गरिएको १ हजार २० मुद्दामा २ हजार १ सय ६३ पीडक छन्।
रिमायाकै सहोदर दिदीसमेत सोनागाछीमा पुगेकी छन्। उनी त्यहाँ छिन् भनेर गतवर्ष नै थाहा भए पनि उद्धार गर्न नसकिएको माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले बताए। “गत वर्ष नै पहिचान गरेका थियौँ, दुई पटकसम्म अनुसन्धान गरेर छापा हान्न जाँदा उनलाई लुकाइयो, फेला पार्न सकिएन,” खड्का भन्छन्।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिले कोलकाताको प्रहरीसँग समन्वय गरेर मात्रै कोठीमा छापा मार्न सक्छन्। “कहिलेकाहीँ सूचना चुहिँदा असफल हुने गरेको छ,” उनी बताउँछन्।
दिदीबहिनी नै एउटै कोठीमा बेचिएका छन् र नेपाली किशोरीको पहिचान नै बदलेर सोनागाछीका कोठीमा यौन व्यवसायमा लगाइन्छ भन्ने पछिल्लो प्रमाण पनि हुन् रिमाया। रिमायालाई उद्धार गर्न जतिबेला माइती नेपालसहित भारतीय प्रहरीको टोली शान्ति कोठीमा पुगेको थियो, त्यतिबेला कोठी सञ्चालकले उनको नाम र उमेर परिवर्तन गरेर बनाएको भारतीय आधार कार्ड देखाएका थिए।
त्यो कार्डमा उनको नाम मात्र होइन, जन्ममिति पनि फरक छ। नुवाकोटमा तत्कालीन गाविसमा गरिएको जन्मदर्ताको प्रमाणपत्रअनुसार उनको जन्ममिति २०६७ साल (गोपनीयताका लागि महिना र गते नखुलाइएको) हो। नुवकोटबाट बेपत्ता हुँदा १२ वर्ष पूरा भएर १३ लागेकी उनकै तस्बिर अंकित भारतीय आधार कार्डमा जन्ममिति ९ वर्ष बढाएर २००३ उल्लेख गरिएको छ।
माइती नेपालको समन्वयमा बाल मनोपरामर्शकर्ताको उपस्थितिमा निमजिनसित गरेको कुराकानीमा उनले कोठीमा महिला तथा किशोरीमाथि हुने यौन शोषणका बारेमा सुनाइन्। नाबालिग उनीमाथि कोठीमा पुगेकी दिनबाटै यौन शोषण भएको भएको थियो। उनलाई धेरै जनासँग यौनसम्बन्ध राख्न लगाइन्थ्यो। नमाने कुटपिट गरिन्थ्यो। बिरामी हुँदा पनि छौडिँदैनथ्यो।
माइती नेपालका कार्यकारी निर्देशक विश्वका अनुसार उनको उद्धार गर्दा दिदीलाई कोठीमा लगिएको ६ महिना मात्रै भएको थियो। “दुई दिदी–बहिनीलाई एकै पटक उद्धार गर्न खोजेका थियौँ,” उनले भने, “तर, सकेनौं।”
कोठीमा आफूले पीडादायी जीवन भोग्दा पनि रिमायाले उद्धारमा गएका टोलीलाई दिदीको खोजी नगर्न आग्रह गरेकी थिइन्। कारण, रिमायाको परिवारको एक मात्र आयस्रोत थियो— कोठीबाट हुने कमाइ।
उनको परिवारको कुनै आयस्रोत नभएपछि बुबाले ज्यामी काम गरेर पालनपोषण गरेका थिए। पाँच जना परिवारको गुजारा चलाउन मुस्किल परेका बेला उनलाई फुपू नाता पर्ने २ जनाले भारत गएर काम गरेमा पैसा कमाइने र परिवारको स्तर पनि सुर्धिने भनेर फकाएका थिए। ती दुई जनाकै पछि लागेर भारतको कोठीमा पुगेकी रिमाया आफूलाई पहिला कोठीमा लगिँदै छ भन्ने थाहा नभएको बताउँछिन्।
तर कोठीमा पुगेपछि उनीहरूले गाउँका अन्य महिला तथा किशोरीलाई पनि कोलकाताका विभिन्न कोठीमा ल्याएको आफूले थाहा पाएको रिमाया बताउँछिन्। रिमायालाई बेचबिखन गर्नेविरुद्ध प्रहरीमा अहिलेसम्म उजुरी परेको छैन। अहिले उनीहरू दुवै जना सम्पर्कमा नरहेको रिमाया बताउँछिन्।
मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण ऐन २०६४ को दफा ३ को उपदफा १ अनुसार कसैलाई पनि बेचबिखन तथा ओसारपोसार गराउन पाइँदैन। नेपालको संविधानको धारा ३९ को उपदफा ५ को मौलिक हकमा पनि कुनै पनि बालबालिकालाई गैरकानुनी रूपमा ओसारपोर गर्न नपाइने भनिएको छ।
पढाइ बीचैमा छाडेर कोठीमा
घ्याङफेदीकै अर्को विद्यालयमा कक्षा ६ मा पढ्दै गरेका १५ वर्षका दुई किशोरी गाउँबाटै हराएको दुई वर्ष बितेको छ। अर्की १४ वर्षकी र ८ कक्षामा अध्ययनरत १६ वर्षकी किशोरी गाउँबाट वेपत्ता भएको ४ वर्ष पुगेको छ।
वैशाख १७, २०८२ मा हामीले सोही विद्यालयमै पुगेर शिक्षक र स्थानीय बासिन्दासँग ती किशोरीका बारेमा सोधखोज गरेका थियौँ। तर, शिक्षकले मात्र होइन, गाउँका कसैले पनि यसबारेमा कुराकानी गर्न मानेनन्।
यी गाउँबाट हराएका किशोरीका बारेमा प्रहरीमा समेत उजुरी परेको छैन। मानव बेचबिखनको रोकथामका लागि काम गरिरहेका संघसंस्थाका अनुसार यहाँबाट हराएका किशोरीहरू भारत कोलकाताका साथै गोवासमेत पुर्याइएको पाइन्छ।
मानव बेचबिखन रोकथामको क्षेत्रमा काम गर्दै आएको भारतीय संस्था किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशीका अनुसार नेपाली बालिका तथा किशोरीहरूलाई कोलकाता सोनागाछी, दिल्ली, मुम्बई र पुनामा कोठी, फ्ल्याट तथा अपार्टमेन्टमा लगेर यौन व्यवसायमा लगाइने गरिएको छ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वका अनुसार घ्याङफेदीबाट हराएका बालिका तथा किशोरीहरू त्यहाँ भेटिन्छन्। “टुरिजम प्याकेजको नाममा गोवालगायतको सहरमा पठाउने गरिएको छ,” उनी भन्छन्, “ग्राहकले चाहेका ठाउँमा ती बालिका तथा किशोरीहरूलाई पुर्याएर सेवा दिने गरिन्छ।”
उनका अनुसार दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट रोजगारको प्रलोभनमा भारतको जेबी रोड, कोलकाता कोठीमा बेचबिखनमा परेका केही महिलाले पछि आफैं कोठी सञ्चालन गरेर सोही पेसालाई निरन्तरता दिइरहेको पाइएको छ।
घ्याङफेदीबाट महिला तथा किशोरी हराउन थालेपछि आधार विकास नेपालले विद्यालयमा छात्रालाई टिकाउने कार्यक्रम सुरु गरेको थियो। विद्यालयमा छात्रालाई प्रोत्साहित गर्नका लागि उच्च माविसम्मको अध्ययनका लागि पोसाक, पाठ्यपुस्तक, निःशुल्क खाना, खाजा र आवासको व्यवस्थासमेत गरियो। तर, पनि बालिका तथा किशोरी विद्यालयमा टिकेनन्। “त्यहाँको बेचबिखनलाई रोक्नका लागि छोरी पढाउनुपर्छ भनेर विद्यालयमा कार्यक्रम सञ्चालन गरियो तर पनि रोक्न सकिएन,” आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालले भने। उनका अनुसार घ्याङफेदी स्कुलमा कानुन विषय लिएर १२ कक्षामा अध्ययन गरिरहेकी छात्रासमेत पढाइ छाडेर भारत पुगिन्।
कार्यकारी निर्देशक प्रह्लादका अनुसार ती गाउँँका छोरीलाई रोजगारीको लागि कोठीमा पुर्याउने सामान्यजस्तै छ। बालिका रहेको ठाउँ पहिचान भए पनि उद्धार गर्न नसकिएको उनी बताउँछन्। प्रहरीकोमा उजुरी नै परेको छैन,” उनी भन्छन्, “न त फर्काउनका लागि पहल नै गरेका छन्।”
घ्याङफेदी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम तामाङका अनुसार विद्यालयले बालिका तथा किशोरीलाई भारत जानबाट रोक्ने प्रयास गरिरहेको छ। विद्यालयमा हाजिरी अनिवार्य छ। बालिका एक दिन विद्यालय नआएमा घरमै गएर शिक्षकले सोधपुछ गर्ने गरेका छन्। तर पनि उनीहरूलाई रोक्न नसकेकोमा प्रेम दुःखी छन्। “डर र त्रासका कारण अभिभावकहरू बोल्दैनन्,” उनी भन्छन्, “हामी बोल्दा हाम्रै ज्यानको खतरा छ।”
अधिकांश मानव बेचबिखन तथा ओसारपोसारका आपराधिक गिरोहमा नजिकका आफन्त तथा चिनेजानेको व्यक्ति संलग्न हुने गरेको पाइन्छ। मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता नगेन्द्र कुँवरका अनुसार कानुनी प्रक्रियामा जाँदा उसलाई असर पर्ने हुँदा पनि पीडित उजुरी गर्न हिच्किचाउँछन्। उनी भन्छन्, “त्यहाँ अवस्था पनि फरक छैन।”
कतिपयलाई दलालहरूले परिवारकै सहमतिमा फकाएर र बालिका किशोरीलाई राजीखुसी गराएर भारत लैजाने गरेका छ। बेचबिखन मुद्दामा पीडितसँग सहमति लिएको भए पनि त्यसलाई अपराधका रूपमा स्वीकार गरिएको अधिवक्ता सोमनाथ लुइँटेल बताउँछन्।
पालेर्मो प्रोटोकलले पनि शोषण गर्ने उद्देश्यले धम्की वा शक्ति वा अन्य कुनै प्रकारको बल प्रयोग गरी, पदको वा जोखिमयुक्त अवस्थाको दुरुपयोग गरी, कब्जा वा जालसाजी गरी, छलछाम गरी, पद वा जोखिमयुक्त अवस्थाको दुरुपयोग गरी वा अर्को व्यक्तिमाथि नियन्त्रण राख्ने, कुनै व्यक्तिको स्वीकृति प्राप्त गर्न रकम वा लाभ दिने गरी व्यक्तिलाई भर्ती गर्ने, ओसारपोसार गर्ने, स्थानान्तरण गर्ने, आश्रय दिने वा प्राप्त गर्ने कार्यलाई बेचबिखन भनेर परिभाषित गरेको छ।
सामाजिक चेतनाको अभावमा फस्टाएको बेचबिखन
डेनमार्कको अल्बोर्ग विश्वविद्यालयका विद्यार्थी उत्तमप्रसाद उप्रेतीले सन् २०१४ मा सिन्धुपाल्चोक र नुवाकोटको ८ वटा गाउँलाई आधार बनाएर गरेको सोधमा मानव बेचबिखनसम्बन्धी सामाजिक चेतना कम हुँदा बेचबिखन फस्टाएको उल्लेख छ। विकट भौगोलिक अवस्था, परिवारको आर्थिक सामाजिक दबाब र बेचबिखनलाई सामान्य रूपमा हेरिएकाले तस्करीलाई सहज बनाएको तथ्य उजगार गरेको छ।
२०७२ को भूकम्पपछि सिन्धुपाल्चोक र नुवाकोटका १५ किशोरीहरू भारतको उत्तर प्रदेश र मुम्बईका कोठीमा बेचिएको साबिक बाल कल्याण समितिको तथ्यांकमा छ। समितिका अनुसार भारत बेच्न ल्याइएका पाँच किशोरीलाई नुवाकोटबाट उद्धार हो।
यूएनडीपी र सांस्कृतिक अनुसन्धान केन्द्रको संयुक्त अध्ययनमा पनि नुवाकोटको १० गाउँमध्ये ७ वटा गाउँ मानव बेचबिखनमा सक्रिय रहेको पाइएको छ। दुप्चेश्वर गाउँपालिकाको शिक्षा शाखाको तथ्यांकअनुसार गत वर्ष बालबालिकाले विद्यालय छाड्ने दर १० प्रतिशत छ।
२०७९ को तथ्यांक नुवाकोट शिक्षा विकास तथा समन्वय इकाइका अनुसार माध्यमिक तहमा छोड्ने दर १४ प्रतिशत छ। संयुक्त राष्ट्र संघ २०२३ को प्रतिवेदनअनुसार नुवाकोट, मकवानपुर, धादिङ र सिन्धुपाल्चोकमा अन्य जिल्लामा भन्दा बेचबिखनको दर उच्च छ।
भारत लैजानुअघि होटलमा लगाइन्छ काम
सौतेनी आमासँग दिनहुँ झगडा हुन थालेपछि दुई महिनाअघि दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी की १४ वर्षीया बालिका विद्यालय जान छाडिन्। आमाले गाउँका एक आफन्तको जिम्मा लगाइन्। आफन्तले रसुवाको धुन्चेमा रहेको होटलमा काममा लगाइदिए उनी बेचबिखनको जोखिममा छिन् भन्ने सूचनाका आधारमा माइती नेपालले उद्धार गरेको छ। उनका अभिभावकलाई जानकारी गराउँदा पनि लिन नआएछि सेल्टर होममा राखेको माइती नेपालका निर्देशक विश्व खड्का बताउँछन्।
उनका अनुसार पछिल्लो समय नुवाकोटका बालिका तथा किशोरीलाई रसुवा तथा काठमाडौंको होटलहरूमा पनि ओसारपसार हुने गरेको छ। यहाँ काम सिकाउने र देह व्यापारका लागि भारतका कोठी तथा फ्ल्याटहरूमा लैजाने गरिएको उनी दाबी गर्छन्।
घ्याङफेदीमा बालिका र किशोरी हराउन थालेपछि उनीहरूलाई रोक्न मानव बेचबिखनबिरुद्धको कार्यक्रम सञ्चालन गरे पनि नसकिएको दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङ बताउँछिन्।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६ को उपदफा १ मा कुनै पनि बालबालिकालाई उनको इच्छाविपरीत बुबाआमाबाट अलग गर्नु हुँदैन भनिएको छ। विपन्न र सचेतनाको अभावमा आफ्नै परिवारले दलाललाई सुम्पिनुपरेको अवस्था छ। ऐनको दफा १५ को उपदफा २ मा प्रत्येक बालबालिकालाई प्रचलित कानुनबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क रूपमा बालमैत्री वातावरणमा पाउने अधिकार हुनेछ भनिएको छ।
देश संघीयतामा गएपछि जिल्लास्थित महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समिति खारेज भयो। विगतमा ती कार्यालयले बालगृहको अनुगमन गर्ने, गैरकानुनी ओसारपसार रोक्न संयन्त्र बनाउनेलगायत काम गर्दै आएका थिए। ती कार्यालय नै खारेज भएपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई बालबालिका जोगाउने दायित्व सुम्पेको छ।
उपाध्यक्ष माकुरी भन्छिन्, “बालबालिका संरक्षणका लागि बाल संरक्षण अधिकृतसमेत नियुक्त गरिएको छ तर सकिएको छैन।” उनका अनुसार यहाँका परिवारले छोरीलाई कमाइएको स्रोतका रूपमा हेर्न थालेका छन्। अभिभावकको सोचसमेत परिवर्तन गर्न सकिएको छैन। “गाउँमा कसैले सोधी–खोजी र उजुरी गरेमा ज्यानकै जोखिम छ,” उपाध्यक्ष माकुरी भन्छिन्, “तैपनि बालिका तथा किशोरीहरूको निगरानी गरिरहेका छौँ।”
घ्याङफेदीमा प्रहरी चौकी नहुँदा पनि समस्या भएको उनी बताउँछिन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटले घ्याङफेदीमा प्रहरी चौकी स्थापनाका लागि सिफारिस गरे पनि स्थानीय तह र प्रदेशले कार्यान्वयन गरेका छैनन्। उपाध्यक्ष माकुरी प्रहरी चौकी ल्याउने विषयलाई प्रथामिकताका साथ अगाडि बढाएको बताउँछिन्।
श्रोत: निमजिन
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कल्पना भट्टराई/निमजिन का अन्य पोस्टहरु:
