दसैँ–तिहारपछि पाकेको धान भित्र्याउने तयारीमा रहेका म्याग्दी र खोटाङका किसानहरू बेमौसमी वर्षातका कारण चिन्तित बनेका छन्। तीन–चार दिनदेखि अविरल झरी र हावाहुरीले खेतबारीमा पाकेको धान र कोदो ढलेर सोर हुन थालेपछि उत्पादनमा ठुलो क्षति हुने आशङ्का बढेको छ। जिल्लाका धेरैजसो किसानले काटेर सुकाएको धान र पराल पानीले भिजेपछि कुहिने डर छ। कृषि विज्ञहरूले मौसम सुधार नहुँदासम्म भित्र्याउने काम स्थगित गर्न सल्लाह दिएका छन्।
म्याग्दीमा खेतबारीमा पाकेको धान भित्र्याउने समयमा परेको वर्षाले किसानहरूलाई सबैभन्दा बढी प्रभावित पारेको छ। दसैँ–तिहारपछि ढल्को र बेसी क्षेत्रका खेतमा धान काट्ने तयारीमा रहेका किसानहरूको योजना वर्षाले ध्वस्त बनाएको छ। मङ्गला गाउँपालिका–२ रणवाङका किसान लक्षिन बहादुर मल्लले भने, “हावाहुरीले धान ढलेर सोर भएको छ। काटेर सुकाएको बाली पानीले भिजेपछि कुहिने चिन्ता छ। गत वर्ष राम्रो उत्पादन भएकोमा यसपालि घट्ने निश्चित छ।” अर्का किसान ध्रुव खत्रीले गत वर्ष १०० मुरी धान फलाए पनि यसपालि वर्षाका कारण काट्नै नपरेको बताए।
जिल्लामा ३,८०६ हेक्टर क्षेत्रमा धान खेती हुने गर्दछ। कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार गत वर्ष १२,९७८ दशमलव ५ मेट्रिक टन धान उत्पादन भएको थियो। गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सि, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ जस्ता उन्नत तथा स्थानीय जातका धान खेती हुने म्याग्दीका रत्नेचौर, ज्यामरुकोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना आदि क्षेत्र धानका पकेट मानिन्छन्। धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा भने चिसोका कारण धान फल्दैन। केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले भने, “बोटमै भएको धानलाई वर्षाले असर गर्दैन। काटिसकेको छ भने कुन्यु बनाएर भिज्नबाट बचाउनुपर्छ। वर्षा सकिएपछि घाममा सुकाएर मात्र भित्र्याउनुहोस्।”
यसैबिच, खोटाङमा पनि तीन दिनदेखि अविरल वर्षाले पाकेर थन्क्याउन लागिएको धानबालीमा ठुलो क्षति पुर्याएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका किसान चेतनाथ आचार्यले भने, “३५ रोपनीमा लगाएको धान ढलेर सोतर भएको छ। प्रमुख बाली गुमेपछि भोकमरीमा पर्ने अवस्था छ। सरकारले क्षतिपूर्ति दिनुपर्छ।” जिल्लाका दश वटै स्थानीय तहका किसानहरू प्रभावित छन्। अधिकांशले ढालेर खेतमै सुकाएको धानको पाँजा पानीले डुबाएको छ।
खोटाङमा ९,९८८ दशमलव ०३ हेक्टर जमिनमा धान खेती हुने गर्दछ। यस वर्ष २५,६४९ मेट्रिक टन उत्पादन हुने अनुमान थियो। तर, वर्षाले क्षति गरेपछि उत्पादन घट्ने निश्चित छ। कृषि ज्ञान केन्द्रका प्रमुख विशाल मोदीले भने, “रोपाइँ समयमा वर्षा भएकोले उत्पादन बढ्ने अपेक्षा थियो। क्षतिको विवरण जुटाइँदै छ।” दुई नगरपालिका र आठ गाउँपालिकामा विभिन्न प्रजातिका धान खेती हुने जिल्लामा वर्षाले गहुँ, फलफूल र सागसब्जीलाई भने राहत दिएको छ। यद्यपि, धान प्रमुख बाली भएकाले यस वर्ष भोकमरीको जोखिम बढेको छ।
रोपाइँ समयमा पर्याप्त वर्षा, रोग–कीराको प्रकोप नहुनु र तिहारअघिको अनुकूल मौसमले किसानहरू उत्साहित थिए। तर, भित्र्याउने समयमा परेको वर्षाले अपेक्षित उत्पादनलाई धराशायी बनाएको छ। विज्ञहरूले किसानहरूलाई मौसम पूर्वानुमान सुन्न र वैकल्पिक बालीतर्फ ध्यान दिन सुझाव दिएका छन्। यसले ग्रामीण अर्थतन्त्रमा पनि असर पार्न सक्ने भएकाले सरकारले तत्काल राहत प्याकेज ल्याउनु आवश्यक देखिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हेम्जाकोट गाउँ र माछापुच्छ्रे हिमाल
- पनौती प्रेस पूर्ण सञ्चालनतर्फ : छ महिनामा नागरिकता-लाइसेन्ससहित नौ सेवा
- आज गणेशमान सिंहको १११औँ जन्म जयन्ती मनाइँदै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- ट्रम्पको भाषण सम्पादनको आलोचना पछि बिबिसीका निर्देशकले दिए राजीनामा
- विभिन्न सडक दुर्घटनामा एकको मृत्यु, १७ घाइते
- महाकाली करिडोर: सुदूरपश्चिमको लाइफलाइन अलपत्र
- ‘एनटिभी वर्ल्ड’ आजदेखि: पिएसबी नेपालको स्थापनाको प्रथम वर्षोत्सव
- आजको विदेशी मुद्राको विनिमय दर
- स्याउले सिप्तिङ होमस्टे: आठपहरियाको संस्कृति र पर्यटनको नयाँ ढोका