पुन हिलले सूर्योदय र सूर्यास्तका साथै गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्णा, माछापुच्छ्रे र नीलगिरिसहितका हिमशृङ्खलाहरूको मनमोहक दृश्य प्रदान गर्दै पछिल्लो समय पर्यटकहरूको प्रमुख आकर्षण बन्दै आएको छ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ६ मा अवस्थित घोडेपानी-पुन हिल क्षेत्रको अवलोकनका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिनाहरू सबैभन्दा उपयुक्त समय मानिन्छन्।
यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्यांक छ। प्रवेश शुल्क संकलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएको बताए।
यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए। घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदल यात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुन हिल पुग्ने गर्छन्। घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधा सम्पन्न होटेल छन्।
त्यसै गरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडे पानी-पुन हिल पुग्न सकिन्छ। कास्कीको वीरेठाँटी-उलेरी-घोडे पानी, नयाँपुल-घान्द्रुक-घोडे पानी, म्याग्दीको नागी-महरे-फूलबारी-घोडे पानी र तातोपानी-घार-शिख हुँदै घोडे पानी पुग्न सकिने गरी पदमार्ग सञ्चालनमा छन्।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडे पानी पुग्न सकिन्छ। संघीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडे पानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडे पानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए। “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ”, उनले भने, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ।”
यसैबीच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा वडा नं ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब रु. ४६ लाख आम्दानी गरेको छ। पुन हिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क संकलन र चिया पसल सञ्चालनका लागि रु. ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो।
ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटेल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताए। गत वर्ष रु. ४० लाख आम्दानी भएको थियो। समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुन हिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु. एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति रु. ५० का दरले प्रवेश शुल्क संकलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सरकारी विज्ञापन निषेधको निर्णय सर्वाेच्चद्धारा खारेज
- फिफा विश्वकप २०२६: पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबिच महाभिडन्त
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?