देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् ।
स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ ।
“यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्”, उनले भने, “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उनले बताए। भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठूलो परिमाणमा माग आउँदा बजारको माग पूरा गर्न कठिन हुने पनि उनको भनाइ छ ।
परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणसहित तयार हुने भोजपुरे खुकुरी अहिले पनि नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ । भोजपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गरेका छन् । यसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याएको स्थानीय बताउँछन् ।
पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । फलाम तताउने, छेउ धारिलो पार्ने, फलाम पिट्ने, बिँड लगाउने, दाप बनाउने काम अहिले पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन् । भोजपुरे खुकुरी देशका विभिन्न ठाउँसँगै अमेरिका, बेलायतलगायत देशबाट पनि माग हुने गरेको व्यवसायीहरूको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण: रणनीतिक साझेदारीको नयाँ अध्याय
- नेपाल प्रिमियर लिग क्रिकेट : सुदूरपश्चिम क्वालिफायरमा, काठमाडौँ प्लेअफमा, आज लुम्बिनी-जनकपुर भिडन्त हुँदै
- महानगरपालिकाले जाँच्दैछ मेयर–कर्मचारीको बडी फ्याट र मधुमेह !
- फागुन २१ को निर्वाचन : आयोगको पूर्ण कार्यसूची सार्वजनिक
- भारत सरकारको सञ्चार साथी एप प्रि -इन्स्टल आदेश फिर्ता : गोपनीयताको चिन्ताले चर्कियो बहस
- मुस्ताङको स्याउको कमाल : ६४४ टन कम फल्दा पनि १६ करोड बढी आम्दानी
- तनहुँ र गुल्मीमा सुन्तला उत्पादनले किसानलाई राहत, तर चुनौतीहरू कायम
- नेपाल प्रिमियर लिग : हिजो लुम्बिनीको शानदार जित, आज दुई रोमाञ्चक खेल हुँदै
- आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै
- वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने