प्रथम कावासोती गोल्डकप आजदेखि सुरु, उद्घाटनमा गण्डकी पुलिस र आयोजक भिडन्त

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताए।

सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती नगरपालिकाको प्रवर्द्धन तथा कावासोती नगरपालिका-१६ र नवलपुर जिल्ला फुटबल सङ्घको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा देशभरका १२ वटा टिमको सहभागिता रहने छ। सबै खेलहरू कावासोती–१६, डण्डा बजारस्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा सञ्चालन हुनेछन्।

प्रतियोगिताको विजेता टिमले रु तीन लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले रु एक लाख ५० हजार नगद पुरस्कार हात पार्नेछ। यस्तै सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई जनही रु २५ हजार प्रदान गरिने खेलका आर्थिक संयोजक तेजबहादुर केसीले जानकारी दिए।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र कावासोती क्षेत्रलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ।

पहिलोपटक कावासोती गोल्डकप गर्न लागिएको र आगामी वर्षहरूमा समेत यसलाई निरन्तरता दिँदै जाने आयोजक संस्थाका अध्यक्ष अर्यालले बताए। “हामीले पहिलोपटक प्रतियोगिता सुरु गर्दैछौँ, खेल क्षेत्रको विकास गर्न, स्थानीय खेलाडी उत्पादन गर्न प्रतियोगिता फलदायी हुन्न भन्ने छ, त्यसैले यसलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने छौँ”, अध्यक्ष अर्यालले भने।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link