विश्वशान्तिको मुहान लुम्बिनी केवल धार्मिक स्थल मात्र नभई प्राकृतिक एवं वातावरणीय सम्पदाको जीवित अवशेष पनि हो। यसै प्राचीन परिवेशको महत्त्वपूर्ण जलस्रोत तथा बुद्धकालीन यात्रा पथको साक्षी ’तेलार नदी’ यति बेला आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ।
“विगतमा बाह्रै महिना कञ्चन पानी बग्ने यो नदी अहिले ढल र फोहोर फाल्ने ठाउँ बनेको छ।” लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.८ महिलवार निवासी लक्ष्मी थारुका अनुसार “नदीजन्य पदार्थको दोहन, प्रदूषण र अतिक्रमणले गर्दा तेलार नदी, साँघुरो नालामा परिणत हुँदै गएको छ।”
बौद्ध ग्रन्थ ’निदानकथा’ र स्थानीय किंवदन्तीका अनुसार, राजकुमार सिद्धार्थ गौतमको जन्मपछि देवताहरूले नुहाउनका लागि तातो र चिसो पानीका साथै तेलका धाराहरू पनि बगाएका थिए। त्यही तेलको धाराबाट यसको उत्पत्ति भएको र नाम ‘तैल’ वा ‘तेलार’ रहन गएको विश्वास गरिन्छ।
पुरातत्वविद्हरूले यसलाई ‘स्थलचिन्ह’ मान्छन्। सन् १८९६मा लुम्बिनीलाई आधिकारिक रूपमा प्रमाणित गर्नुअघि तेलार नदी नै त्यो एक मात्र प्राकृतिक चिनारी थियो, जसले लुम्बिनीको वास्तविक अवस्थितिको सङ्केत गरिरहेको थियो। त्यसैले यसलाई बुद्ध जन्मस्थलको ‘अदृश्य साक्षी’ भनिन्छ।
यति मात्र होइन, तेलारलाइ बुद्धको राजधानी कपिलवस्तु समेतको पहिचान गर्ने एक मुख्य भौगोलिक आधार मानिन्छ। सन् १८९६मा डा.ए.फुहरर र अन्य पुरातत्वविद्हरूले तिलौराकोटलाई नै वास्तविक कपिलवस्तु हो भनेर पुष्टि गर्दा तेलार नदीको अवस्थितिलाई मुख्य प्रमाण मान्नु भएको थियो।
स्थानीय जानकार मेघनाथ आचार्य भन्नुहुन्छ, “मायादेवी देवदह जाँदा होस् वा सिद्धार्थले कपिलवस्तुबाट यात्रा गर्दा, यो नदी पार गर्नु अनिवार्य थियो। यसैले तेलार नदीलाई केवल भौगोलिक र प्राकृतिक स्रोतका रूपमा नभई बौद्धकालीन सम्पदा–नदिका रूपमा अध्ययन, संरक्षण र प्रवर्द्धन गर्न जरुरी छ।”

सन् १८७९ मा स्कटिस लेखक तथा पुरातत्त्वविद् ए.सी.एल. कार्लाईलले आफ्नो पुस्तक ‘आर्कोलोजिकल सर्भे इन इन्डिया’मा तेलार नदीको चर्चा गर्नु भएको छ। चिनियाँ यात्री ह्वेनसाङको यात्रा विवरणमा उल्लेखित ‘तैल नदी’को दूरी र दिशा वर्तमान तेलार नदीसँग हुबहु मेल खाने कार्लाईलको ठम्याइ छ।
लुम्बिनीका बौद्ध अध्येता भोला गुप्ताका अनुसार, “कार्लाईलले तेलार नदिलाई लुम्बिनी पहिचानको मुख्य ‘प्राकृतिक प्रमाण’ मानेका थिए। यही तथ्यलाई आधार मानेर गरिएको खोजका क्रममा सन् १८९६ मा अशोक स्तम्भ फेला पर्यो, जसले लुम्बिनीलाई आधिकारिक रूपमा बुद्ध जन्मस्थल प्रमाणित गरेको हो।
त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक डा.त्रिभुवन बरइले तेलार नदिलाई प्राचीन समयको ‘जीवित नक्सा’ को संज्ञा दिँदै यसलाई केवल सिँचाइको माध्यम मात्र नभई ‘बौद्धकालीन सम्पदा–नदी’ को रूपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो। डा.बरइले भन्नुभयो, “यदि समयमै तेलार नदीको सरसफाइ र संरक्षण नगरिए बुद्ध जन्मस्थलको यो मौन साक्षी इतिहासको पानामा मात्र सीमित हुने खतरा छ।”
लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले यसलाई लुम्बिनीको ‘इको–करिडोर’ को अभिन्न अङ्ग मान्नुहुन्छ। यस्तै, पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीका अनुसार, “तेलार केवल एउटा जलमार्ग मात्र होइन, यो लुम्बिनीको बुद्धकालीन भू–दृश्यको एउटा जीवन्त अङ्ग पनि हो। हाल लुम्बिनीमा भइरहेको भौतिक विकास र मानवीय हस्तक्षेपका कारण यो ऐतिहासिक नदीको प्राकृतिक पहिचान सङ्कटमा छ। यसलाई ‘इको–सांस्कृतिक कोरिडोर’का रूपमा विकास गर्न ढिलाइ गर्नु हुँदैन।”

यसै सन्दर्भमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामी लुम्बिनीको आध्यात्मिक र भौतिक विकासको कुरा त गर्छौँ, तर यसको अस्तित्वसँग जोडिएको तेलार नदिलाई विनाश गर्दै छौँ। यदि सरोकारवाला निकायले तत्कालै अनियन्त्रित उत्खनन र प्रदूषण रोक्न ठोस कदम चालेनन् भने, आगामी पुस्ताले तेलारलाई केवल इतिहासका पानामा मात्र सीमित पाउनेछन्। अब यसलाई ‘हेरिटेज रिभर’ (सम्पदा नदी) घोषणा गरेर संरक्षण अभियान चलाउनुपर्छ।”
स्थानीय सरकारको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “तेलार नदी हाम्रो कृषि प्रणाली र धार्मिक–सांस्कृतिक पहिचानको मेरुदण्ड हो। नगरपालिकाले यसको अतिक्रमण रोक्न र यसलाई ‘ग्रीन बेल्ट’ का रूपमा विकास गर्न विशेष नीति ल्याउनेछ। तेलार नदीको ऐतिहासिक गरिमा जोगाउनु हामी सबैको साझा दायित्व हो।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- बुद्ध भगवानको जन्मबिन्दुकोे मौन साक्षी: ‘जन्मस्मारक शिला’
- आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’ बाजा: सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति
- विद्यालयद्वारा अनधिकृत शुल्क असुली, अभिभावकको विरोध
- मर्चवार क्षेत्रको महदेई सबस्टेशन निर्माण कार्य ४० प्रतिशत सम्पन्न
- मर्चवार लिफ्ट सिँचाई: निर्वाचनको सुरुमै विवाद
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय