आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’ बाजा: सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

कुनै समय मधेशका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो। शुभ कार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजा अहिले अस्तित्व रक्षाका लागि सङ्घर्षरत छ।

“समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई बिस्तारै मधुरो बनाउँदै लगेको छ,” लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का दिनेश लोधले भन्नुभयो, “लोक–संस्कारको पर्याय मानिने डफला अहिले लोपोन्मुख अवस्थामा छ।”

‘डफला’ नेपालमा अवध (मधेश) को विशिष्ट पहिचान बोकेको एउटा प्राचीन र मौलिक ताल बाजा हो। यसको बनावटमा जति सादगी देखिन्छ, ध्वनि त्यति नै गम्भीर र मिठासपूर्ण हुन्छ। यो बाद्ययन्त्र खास गरी सिसौ वा कर्माको काठलाई गोलाकार घेरा (फ्रेम) बनाएर तयार पारिन्छ।

डफलाको एकतर्फ बाख्रा वा गाईको प्रशोधित छाला मढिएको हुन्छ। देब्रे हातले समातेर दाहिने हातका औँला, हत्केला वा दुई वटा पातला लट्ठी (स्टिक) को सहायताले यसलाई तालबद्ध रूपमा बजाइन्छ। यो मुख्यतया उल्लास, बिरह र वीर गाथा गायनमामा प्रयोग हुने मौलिक–सांस्कृतिक बाजा हो।

डफलाको जीवन्त सम्बन्ध विशेष गरी होली, दीपावली र पञ्चमी लगायत अवध मधेशको संस्कृति र विभिन्न पर्वसँग पनि गाँसिएको छ। वसन्त पञ्चमीदेखि नै गाउँका चौतारा र दलानहरूमा डफलाको तालमा ‘होरी’ (फागु गीत) गाउने परम्पराले आपसी सद्भाव र एकताको सञ्चार गर्दछ।

लुम्बिनी सांस्कृतिक बिरहा समूहका ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार यसको उत्पत्तिको कथा आध्यात्मिक छ। उहाँले भन्नुभयो, “हाम्रा पुर्खाहरूले सुनाए अनुसार ‘डफला’ भगवान शिवको डमरु र खैँजडीको विकसित स्वरूप हो। जब भगवान शिवले ताण्डव नृत्य गर्नुभयो, त्यसको ताललाई धर्तीमा उतार्न काठ र छालाको मिश्रणबाट घेराकार ‘डफला’ बाजा बनाइएको हो।”

अर्का वादक चिट्टू चमारका अनुसार आदिम कालमा खुसी व्यक्त गर्ने माध्यम खोज्दा प्रकृतिको प्रतिध्वनिलाई पछ्याउँदै काठको टोड्कामा छाला मढेर बजाउँदा यसको पहिलो आवाज निस्किएको लोक विश्वास छ। तर, आधुनिकताले आफ्नो पेसा नै विस्थापित गरिदिएको उहाँको दुखेसो छ।

सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाँका ८० वर्षीय झगरु मुरावका अनुसार, “नयाँ पुस्तामा आधुनिकताप्रतिको आकर्षण, वैदेशिक रोजगारीको मोह, सामाजिक सम्मानको कमी र न्यून आर्थिक लाभका कारण डफलाको ताल र यसको पुरानो वैभव सम्झनामा मात्र सीमित हुन थालेको छ।”

लोक–संस्कृतिका जानकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.त्रिभुवन बरईले यो सीप निश्चित समुदायमा मात्र सीमित रहनुलाई सङ्कटको कारण बताउनुभयो। उहाँले भन्नुभयो, “आधुनिक सङ्गीतले भन्दा डफलाले दिने आत्मिक शान्ति र सांस्कृतिक गहिराइ बिस्तारै हराउँदै गएको छ।

डफलालाई सङ्ग्रहालयमा मात्र सीमित हुन नदिन स्थानीय सरकारले चासो देखाएको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यवाहक प्रमुख कल्पना हरिजनले कलाकारहरूलाई प्रोत्साहन भत्ता र सामाजिक सम्मान दिनु आवश्यक रहेको बताउनुभयो। पेसागत पुस्तान्तरण नहुँदा यो कला लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले सामूहिक डफला वादन प्रतियोगितालाई बढवा दिने बताउनुभयो।

त्यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री वसीउद्दीन खाँले ‘डफला’ लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “यो सीपलाई जातीय घेराभन्दा बाहिर ल्याएर इच्छुक जो कोहीलाई पनि तालिम दिने व्यवस्था मिलाउनुपर्छ। राज्य र समुदाय दुबैले यसको संरक्षणमा सक्रियता नदेखाए डफलाको इतिहास किताबका पानामा मात्र सीमित हुनेछ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link