टेक अर्बपतिहरू र युरोपमा बढिरहेको चरम दक्षिणपन्थको सम्बन्ध

जापानको पुतली गाउँदेखि युरोपको सङ्कटसम्म : बूढ्यौली र आप्रवासनको द्वन्द्व

के तपाईँलाई थाहा छ, युरोपको जनसङ्ख्या सन् २१०० सम्ममा कस्तो हुन सक्छ?

धेरैजसो देशमा कम हुँदै जाने अर्थात् जनसङ्ख्या घट्दै जाने सम्भावना रहेको छ। अर्को तर्फ हेर्दा आप्रवास बिना युरोपको अवस्था अझ भयावह देखिन्छ। युरोप बूढो हुँदैछ, जन्मदर घट्दै छ र काम गर्ने उमेरका मानिसहरूको अभाव हुँदैछ। फलस्वरूप अर्थतन्त्र कमजोर बन्दै छ। यसको समाधानका रूपमा धेरै सरकारले आप्रवास नीति बढाएका छन्। तर पछिल्ला वर्षहरूमा आप्रवासलाई आर्थिक नीति वा सीमा सुरक्षाको विषयबाट परिवर्तन गरी अर्कै रूप दिइएको छ – ‘बढी खतरनाक र षड्यन्त्रपूर्ण। “ग्रेट रिप्लेसमेन्ट थ्योरी” को बारेमा सबैलाई थाहा नै छ। यदि यसको बारेमा सुन्नुभएको छैन भने अहिले युरोप महादेशभरि यसको बारेमा सबैले सुनेका छन्।

अहिले युरोपको विभिन्न देशहरूमा आप्रवासीप्रतिको विरोध बढेर गएको छ। जस्तै – ‘कट्टर इस्लामको विरोध, कल्याणकारी सुविधा दाबी गर्ने आप्रवासीको विरोध, खुला सीमाको विरोध, सामूहिक निर्वासन बाहेक अरू केही पनि मान्दैनौँ।’ युरोपका यी प्रदर्शनकारीहरू अनुसार उनीहरूका सरकारले षड्यन्त्र गरेर युरोपबाहिरका मानिसहरूलाई सहरहरूमा बाढी जस्तै भित्र्याएका छन्। आप्रवासीहरू उनीहरूको जागिर खोस्नेछन्, घर किन्नेछन् र संस्कृति मेटाउनेछन्। अर्थात् उनीहरूलाई प्रतिस्थापन गर्नेछन्। सीमा खोलेका छन्। विभिन्न प्रदर्शनमा आ-आफ्ना सरकारहरूले आप्रवासीहरूको बाढी ल्याएका आरोप लगाउँदै आएका छन् र उनीहरू यी प्रदर्शनहरू आफ्नो प्रतिक्रान्तिको सुरुवात भएको समेत भन्दै आएका छन्।

युरोपका दक्षिणपन्थी समर्थकहरु दारा लण्डनमा निकालिएको एक प्रदर्शनको तस्बिर

युरोपको जनसङ्ख्या सङ्कट जति गम्भीर बन्दै जान्छ, अर्थतन्त्रको प्रदर्शन जति कमजोर बन्दै जान्छ, यी मानिसहरूको रिस उति बढ्दै जान्छ। उनीहरू दोष कसै न कसैलाई दिन खोज्छन्।

तर मुख्य कुरा यो हो कि यी आप्रवास विरोधी आन्दोलनहरू पूर्ण रूपमा स्वतःस्फूर्त छैनन्। तिनलाई शक्तिशाली व्यक्तिहरूको समर्थन छ।धेरै जसो यसमा प्रविधि क्षेत्रबाट धनी बनेका टेक अर्बपतिहरूको यी टेक अर्बपतिहरू आप्रवास विरोधी मात्र होइनन्, उदार लोकतन्त्रप्रति नै गहिरो वैचारिक विरोध राख्छन्। युरोपेली सङ्घजस्ता संस्थाले पश्चिमी सभ्यता नष्ट गर्दै छन् भन्ने उनीहरूको दाबी छ, तर उनीहरू युरोपेली लोकतन्त्र बचाउन होइन, नष्ट गर्न खोजिरहेका छन्। उनीहरूले आफ्नो बाटो पाइरहेका हुन सक्छन्।

यो जटिल कथा हो। यसमा सरकारी तथ्याङ्क, अमेरिकी अर्बपतिहरू र ट्रान्स-अट्लान्टिक डार्क मनीको सञ्जाल समावेश छ। आप्रवासनको चिन्ताबाट युरोपेली सङ्घलाई उखेल्ने सम्भावित षड्यन्त्रसम्म कसरी पुग्यौँ? सबै धागोहरू जोडिएका छन्, तर बुझ्नका लागि जापानबाट सुरु गरौँ।

स्केयरक्रो भिलेज” को कथा सुन्नुभएको छ? यो शिकोकु टापुको नागोरो गाउँ हो। अहिले यहाँ घुम्नुभयो भने मानिस आकारका पुतलीहरू बस स्टप, रेस्टुरेन्ट र कक्षाकोठामा देख्नुहुनेछ। तर वास्तविक मानिसहरू कमै भेटिन्छन्। बूढाहरू मर्दै छन्, युवाहरू धेरै अघि सहर गएका छन्। २० वर्षदेखि बच्चा जन्मिएको छैन। कलाकार त्सुकिमी आयानोले आफ्नो बाल्यकालको सम्झनामा यी पुतली बनाउन थालिन्। उनको बाल्यकालमा ३०० मानिस बस्थे। अहिले ३० भन्दा कम। एक दिन आयानोका पुतलीहरू मात्र बाँकी रहनेछन्। भयावह लाग्छ, हैन?

शिकोकु टापुको नागोरो गाउँमा राखिएका कलाकार त्सुकिमी आयानोले बनाएको निर्जीव पुतलीहरु

जापानमा यस्ता सयौँ गाउँ छन्। सन् २०२४ मा राष्ट्रिय स्तरमा तीन जनाको मृत्यु हुँदा एक नयाँ बच्चा जन्मियो। यो धनी राष्ट्रहरूको साझा प्रवृत्ति हो। युरोपमा पूरै महादेश प्रभावित छ। प्रजनन दर २.1 बाट १.४ मा झरेको छ। इटालीमा जनसङ्ख्या घट्ने क्रम अहिले सङ्कटकालीन बिन्दुमा पुगेको छ। पछिल्ला तीन दशकमा २५-३४ वर्षका इटालियनको सङ्ख्या लगभग ८० लाख बाट झर्दै ६० लाख भन्दा कममा पुगेको छ। तर अर्को तर्फ अब इटालीमै ७५ वर्षमाथिका मानिसको सङ्ख्या भने ३५ लाख बाट वृद्धि हुँदै ७५ लाख भन्दा माथि पुगेको छ। सन् २०५० सम्ममा एक तिहाइभन्दा कम इटालियन काम गर्ने उमेरका हुनेछन् र उनीहरूले बहुसङ्ख्यक बुढ्यौलीलाई पालनपोषण गर्नुपर्नेछ। छिटो समाधान नभए अर्थतन्त्र र स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुनेछ।

इटालीसँग दुई विकल्प छन्: अत्यधिक कर बढाउने वा युवा आप्रवासी भित्र्याउने। दक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीका लागि यो ठुलो समस्या हो। उनले आप्रवासन कटौतीको वाचा गरेकी थिइन्, तर कृषि र पर्यटनलाई बचाउन आप्रवासीको सङ्ख्या बढाउन बाध्य भएकी छिन्। अनुमानअनुसार आगामी २० वर्षमा इटालीलाई १ करोड काम गर्ने उमेरका आप्रवासी आवश्यक पर्नेछ।

यो नयाँ घटना होइन। दोस्रो विश्वयुद्धपछि युरोपेली राष्ट्रहरूले पुनर्निर्माण र युद्धमा मरेका काम गर्ने उमेरका पुरुषहरूको कमी पूरा गर्न आप्रवासनलाई प्रोत्साहन दिएका थिए। जर्मनीको ग्यास्टआर्बाइटर कार्यक्रमले एक करोड चालिस लाख विदेशी भित्र्यायो। फ्रान्स र बेलायतले पनि त्यस्तै गरे। त्यसैले त जर्मनीको बर्लिनमा उत्कृष्ट कबाब र बेलायतको म्यानचेस्टरमा उत्कृष्ट करी पाइन्छ। कोभिड महामारीमा स्वास्थ्य प्रणाली ध्वस्त हुँदा अस्थायी भिसा बढाइयो। सन् २०२१–२२ मा गैर–ईयू आप्रवासन दोब्बर भयो। ईयू नागरिकको मध्य उमेर ४५ वर्ष छ भने गैर–ईयू बासिन्दाको ३६ रहेको छ। युरोप बूढो हुँदै गर्दा आप्रवासीले कमी पूरा गर्दै छन्। महामारी, रुस–युक्रेन युद्ध र ब्रेक्जिटले युरोपको भविष्य अनिश्चित बनायो। जटिल समस्या थिए तर केहीका लागि सरल समाधान थियो भने वा केहीका लागि सजिलो उपाय भयो।

सन् २०१५ को युरोपेली आप्रवासी सङ्कटपछि दक्षिणपन्थीहरूले कडा सीमा नीतिको नारा लगायो। इटाली, डेनमार्क, हङ्गेरी, फिनल्यान्ड, सर्बियामा दक्षिणपन्थी दल सत्तामा पुगे। फ्रान्स, जर्मनी, बेलायतमा अति दक्षिणपन्थीले आधा शताब्दीपछि आफ्नो ठुलो प्रभाव जमाए। यी दलहरू दुई नीतिमा एकजुट छन्: शरणार्थी रोक्ने र ईयूसँगको सम्बन्ध पुनर्परिभाषित गर्ने। बेलायतमा नाइजाल फराज ब्रेक्जिटको सर्जक थिए। फराजले ईयूले सार्वभौमसत्ता खोसेको तथा धेरै आप्रवासी भित्र्याएर पहिचान परिवर्तन गरेको दाबी गरे। “देशमा युवाहरूको बढ्दो सङ्ख्याले बेलायती मूल्यहरूलाई स्वीकार गर्दैन। उल्टो, हामीले बोकेका धेरै मूल्यहरूलाई तीव्र घृणा गर्छन्। के हामी मुस्लिमहरूको सन्दर्भमा कुरा गर्दैछौं? हो, गर्दैछौं ”- फराजले एक टिभी अन्तर्वार्तामा भनेका थिए।मुखले नभने पनि फाराज र उनका सहयोगीहरूले अमेरिकाको उग्र दक्षिणपन्थी वृत्तमा फैलिँदै गरेको विचारलाई समर्थन गरिरहेका थिए। ती नयाँ मतहरूले भन्थे— आप्रवासन खराब नीति मात्र होइन, यो श्वेत युरोपीय जाति विरोधी ठुलो षड्यन्त्र हो।‘

ग्रेट रिप्लेसमेन्ट थ्योरी” अर्थात् ठुलो प्रतिस्थापन सिद्धान्त – यो सिद्धान्त के हो?

यो विचार पुरानो हो, तर फ्रान्सेली लेखक रेनो कम्यूले २०१० मा यो नाम दिए। कम्यूले भने कि युरोपलाई अफ्रिका र मध्य पूर्वका मानिसहरू, मुख्यतः मुस्लिमहरूले उल्टो कब्जा गर्दै छन्। उनीहरूले गोरा स्थानीयहरूलाई बढी सन्तान जन्माएर हराएर पश्चिम जित्न चाहेको उनको मत थियो। उदारवादी उच्च वर्गीयहरूले आप्रवासन नीतिहरूलाई सामाजिक परिवर्तनका लागि प्रयोग गरेको कम्यूले ठाने। कम्यू ब्रिटिश दक्षिणपन्थी एनोच पावेलबाट प्रेरित थिए जसको १९६८ भाषणले ‘इङ्गल्यान्डमा आप्रवासनले ‘रगतका नदीहरू बग्ने’ जातीय हिंसाको भविष्यवाणी गर्नुका साथै बेलायतमा १५-२० वर्षमा काला जातिका मानिसहरूले गोरा मानिसमाथि कोर्रा हान्ने छ’ समेत भनेका थिए।

सन् २०२१ मा चार्लोट्सभिल, भर्जिनिया दुई कन्फेडरेट जनरलहरूका कांस्य मूर्तिहरू सार्वजनिक स्थानबाट हटाइएका छन्। यी मूर्तिहरू सन् २०१७ मा भएको घातक “युनाइट द राइट” र्‍यालीको मुख्य कारण बनेका थिए जसले हिंसात्मक झडप निम्त्याउँदा एक व्यक्तिको मृत्यु भएको थियो।

यो विचारका अझ कालो जडहरू छन्। हिटलरको ‘माइन कम्फ’मा अफ्रो-जर्मनहरूको उपस्थितिलाई यहुदीहरूले गोरा जातिलाई नष्ट गरेर बदल्ने षड्यन्त्रको प्रमाण भनिएको थियो। २०१७ मा चार्लोट्सभिलमा युवाहरूले कन्फेडरेट मूर्ति हटाउने विरोधमा ‘यहुदीहरूले हामीलाई प्रतिस्थापन गर्न सक्दैनन्’ भन्दै नारा लगाएका थिए। हङ्गेरीका ओर्बानले सोरोस जस्ता यहुदी दाताहरूमाथि क्रिश्चियन पहिचान नष्ट गर्ने आरोप समेत लगाए। सोरोस दक्षिणपन्थीहरूको निशानामा छन्, उनको एनजिओ र दानका लागि। उनको विचार साम्यवाद र होलोकस्टबाट प्रभावित छ, तर षड्यन्त्रहरू जारी छन्।सन् २०२४ मा एलन मस्कले यहुदीहरूलाई गोरा घृणाको आरोप लगाउने एउटा ट्विटमा “सत्य भन्नुभयो” भन्दै जवाफ लेखेका थिए। पछि माफी मागे पनि तर मस्कले युरोपका आप्रवासन नीतिहरूलाई “आत्मघाती सहानुभूति” भन्दै आएका छन्।

मस्कद्वारा गरिएको ट्वीट जुन पछि हटाएको थियो

सोरोसले धेरै दशकहरूमा बनाएको एउटा पूरै प्रणाली छ। उनीहरू खुला सीमामा विश्वास गर्छन्। उनीहरू अपराधलाई मुद्दा नचलाउने कुरामा विश्वास गर्छन्। यो पागलपन हो। सन् २०२४ देखि मस्कले युरोपभरि चरम दक्षिणपन्थी राजनीतिक आन्दोलनहरूसँग सहकार्य र प्रवर्धन गर्न सक्रिय भूमिका लिएका छन्। जनवरी २०२५ मा उनले जर्मनीको मुस्लिम-विरोधी र आप्रवासी-विरोधी अल्टरनेटिभ फर जर्मनी पार्टीको चुनावी सभामा भर्चुअल रूपमा बोले। उनले समर्थकहरूलाई होलोकस्टको ऐतिहासिक अपराधबोधबाट माथि उठ्न र बहु सांस्कृतिकताका कारण आफ्नो जर्मन पहिचान नगुमाउन भने। त्यसपछि सेप्टेम्बरमा मस्कले लन्डनको आप्रवासन-विरोधी र्‍यालीमा भिडियो लिङ्कबाट उपस्थित भएर बेलायती संसद् विघटन गर्न आह्वान गरे। उनले देश ठुलो अनियन्त्रित आप्रवासनले क्षय हुँदै गएको बताए। “तपाईँ हिंसा रोज्नुहोस् वा नरोज्नुहोस्, हिंसा तपाईँकहाँ आउँदै छ। या त लड्नुहोस् या मर्नुहोस्। या त लड्नुहोस् या मर्नुहोस्। यो नै सत्य हो”, मस्क्ले भनेका थिए।

मस्कले जर्मनीको चरम दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीको चुनावी अभियान र्‍यालीलाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए।

अब पैसाको कुरा गरौँ किनकि यो आन्दोलनमा धेरै पैसा खन्याइएको छ।

टमी रोबिन्सन, जसले मस्कले सम्बोधन गरेको लन्डन र्‍यालीको नेतृत्व गरेका थिए, उनलाई अमेरिकी प्रविधि अर्बपति रोबर्ट शिलम्यानको आर्थिक सहयोग छ। शिलम्यानलाई तथाकथित काउन्टर जिहाद आन्दोलनको हिस्सा भनिन्छ, जुन पश्चिम र इस्लामबिच युद्ध छ भन्ने विश्वास गर्ने समूह र व्यक्तिहरूको छुट्टै गठबन्धन हो र मुस्लिम आप्रवासीहरूलाई पश्चिमी देशहरूबाट निकाला गर्नुपर्ने मान्यता राख्छ। उनले अमेरिका, बेलायत र युरोपका प्रभावशाली चरम दक्षिणपन्थी व्यक्तिहरूलाई प्रायोजित गरेका छन्, जसमा डच सांसद गीर्ट विल्डर्स, अमेरिकी रूढिवादी टिप्पणीकार बेन शापिरो र दिवङ्गत दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्क समावेश छन्।

अमेरिका, बेलायत र युरोपका धेरै मुस्लिम-विरोधी गैर-नाफामूलक संस्थाहरूलाई हरेक वर्ष दसौँ मिलियन डलर गोप्य दानबाट सहयोग हुने गरेको छ। यो दाताहरूको सञ्जाललाई रूढिवादी आन्दोलनको डार्क मनी एटिएम भनिन्छ। यो सञ्जालको नेतृत्वमा अर्का अमेरिकी प्रविधि अर्बपति रोबर्ट मर्सरले स्थापना गरेको मर्सर फ्यामिली फाउन्डेसन छ। मर्सरले ब्रेक्जिट अभियानलाई पैसा दिए र चरम दक्षिणपन्थी वेबसाइट ब्राइटबार्ट न्युज खोले। उनी अनलाइन डाटा माइनिङ कम्पनी क्याम्ब्रिज एनालिटिकाका प्रमुख लगानीकर्ता थिए, जुन फेसबुकको निजी डाटा प्रयोग गरेर मानिसहरूको राजनीतिक विचारलाई हेरफेर गरेको आरोपपछि बन्द भयो। डोनाल्ड ट्रम्पको २०१६ को राष्ट्रपति अभियानमा ब्राइटबार्टका सह-संस्थापक तथा प्रमुख रणनीतिकार स्टिभ ब्याननले मर्सरहरूले ट्रम्प क्रान्तिको आधार तयार पारेको बताएका थिए।

तपाईँलाई लागेको होला कि यी सबै वित्तीय सहयोगी अमेरिकी हुन्। उनीहरू युरोपीय राजनीतिमा यति लगानी किन गर्छन्? दुई व्यक्तिले यो विचार सबैभन्दा स्पष्ट रूपमा व्यक्त गर्छन्।

स्टिभ ब्यानन

पहिलो हुन् स्टिभ ब्यानन , जसले २०१६ देखि युरोप भ्रमण गर्दै चरम दक्षिणपन्थी राजनीतिक समूहहरूको सञ्जाल बनाइरहेका छन् जसलाई उनले द मुभमेन्ट भन्छन्। यसका सदस्यहरूमा यूरोस्केप्टिक पार्टीहरू जस्तै जर्मनीको एएफडी, फ्रान्सको नेसनल र्‍याली र स्विडेन डेमोक्र्याट्स छन्, जसले नाइजेल फराजको ब्रेक्जिट मोडेल अनुकरण गरेर फ्रेक्जिट, स्वेक्जिट र डेक्जिट अर्थात् जर्मनीको युरोपीय सङ्घबाट बहिर्गमन चाहन्छन्। यदि यो भयो भने युरोपीय सङ्घको अन्त्य हुन्छ, जुन ब्याननको ठ्याक्कै चाहना हो। ‘विश्ववादी परियोजनाको मुटु ब्रसेल्समा छ। यदि म भ्याम्पायरको छातीमा किला ठोक्छु भने यो सबै विघटन हुन थाल्छ। र त्यसै बेला हामी ईयूलाई कब्जा गर्छौँ।’

अर्का व्यक्ति कर्टिस यार्भिन हुन्, जो सफ्टवेयर विकासकर्ताबाट राजनीतिक विचारक बनेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स र ट्रम्प-मर्सर निकट जर्मन जन्मेका अर्बपति पिटर थिलले उनको विचारहरूलाई उल्लेख गरेका छन्। डार्क इनलाइटनमेन्ट आन्दोलनका मुख्य यार्भिन लोकतन्त्र अन्त्य गरेर राजतन्त्र फर्काउन चाहन्छन्। नयाँ राजा पहिले चुनावबाट चुनिने र त्यसपछि शक्ति सन्तुलन भत्काएर टेक कम्पनीको सिइओ जस्तै पूर्ण अधिकारसहित शासन गर्ने उनको योजना हो।

यार्भिन, भ्यान्स र थिलको मतमा उदार लोकतन्त्रहरू क्याथेड्रल भएका छन् जहाँ शिक्षाविद्, मिडिया आदि मानव अधिकार र प्रगतिवादको उपासना गर्छन्। मागा समर्थकहरूका लागि युरोपीय एकीकरण उदार विश्व व्यवस्थाको ठोस रूप हो, जुन अहिले मुख्यतः युरोपमा छ किनकि अमेरिकीहरू र मागाले यसलाई आक्रमण गरिरहेका छन्।

यो विचारधारा मात्र होइन, व्यापारिक स्वार्थ पनि हो। मस्क र थिलले धनको बलमा राजनीतिक प्रभाव खोज्दै आएका छन्। पेपाल बनाउँदा उनीहरूको सपना भुक्तानी प्रणालीभन्दा ठुलो थियो। चुनाव जित्न गाह्रो भएकाले प्रविधिबाट एकतर्फी दुनियाँ बदल्न सकिने उनीहरूको सोच थियो। थिलले २००३ मा पालान्टिर खोले, जसले एआई र डाटा प्रयोग गरेर आईसीईलाई गैर कानुनी आप्रवासीहरूमाथि निगरानी र निकाला गर्न मद्दत गर्छ। मस्कले एक्स किनेपछि युरोपमा आप्रवासी अपराधबारे झूटो सूचना बढ्यो।

एलन मस्क र पिटर थिल

दुवैले २०२४ चुनावमा सिलिकन भ्यालीलाई ट्रम्पतर्फ ढाले। मस्कले ट्रम्पलाई २०० मिलियनभन्दा बढी दिए भने थिलले भ्यान्सलाई उपराष्ट्रपति बनाउन प्रभाव पारे। मुख्य उद्देश्य डेमोक्र्याटहरूलाई रोक्नु थियो, जसले बाइडेन शासनकालमा टेक कम्पनी तोड्ने र नियमन गर्ने नीति लिएका थिए जुन ईयूले २०१६ देखि सफलतापूर्वक गर्दै आएको थियो।

हरेक वेबसाइटमा कुकीज स्वीकार गर्न किन बारम्बार सोधिन्छ भन्ने सोच्नुभएको छ? यो ईयूको जीडीपीआर कानुनका कारण हो, जुन २०१८ मा लागू भयो जसले नागरिकको डाटा सहमति बिना लिन रोक्छ। केही वर्षमै विश्वका कम्पनीहरूले युरोपमा व्यापार गर्न वेबसाइट बदल्नुपर्‍यो र यो विश्व मापदण्ड बन्यो। हामी सबैलाई असर पार्‍यो।

मस्कले २०२२ मा ट्विटर किन्दा ईयूसँग सोझो द्वन्द्व सुरु भयो किनकि उनले ईयूको अनलाइन सुरक्षा कानुन पालना गर्न मानेनन्। यो ऐनले सामाजिक मिडिया कम्पनीहरूलाई जोखिम रिपोर्ट ईयूमा बुझाउन र तथ्य जाँच सुविधा दिन बाध्य बनाउँछ। २०२४ मा युरोपियन आयोगले मस्कलाई नियम भङ्ग र गलत सूचना रोक्न असफल भएकोमा अदालत लग्यो तर मुद्दा खासै टुङ्गिएन।

त्यही अगस्टमा कमिसनर थियरी ब्रेटनले ट्रम्पसँगको लाइभ इन्टरभ्युअघि मस्कलाई पत्र लेखेर चेतावनी दिए- ‘ईयू नियम अनुसार मस्कमाथि एक्सका ३० करोड प्रयोगकर्तामाझ घृणा, अशान्ति वा हिंसा भड्काएको जिम्मेवार ठहरिन सक्छ।’ मस्कले ब्रेटनलाई युरोपको तानासाह भने। पछि उनले जर्मनीको एएफडी प्रमुखसँग अर्को लाइभ इन्टरभ्यु गर्दै चरम दक्षिणपन्थी दलको समर्थन जनाए र ईयूलाई लोकतन्त्र विरोधी भने। त्यसपछि जर्मन गैर-सरकारी संस्थाले मुद्दा जितेर एक्सलाई ईयू डिजिटल सेवा ऐनअनुसार चुनावअघि सार्वजनिक डाटा दिन बाध्य पार्‍यो। यो बेला एक्सले आप्रवासीहरूलाई ग्यास चेम्बर वा कन्सन्ट्रेसन क्याम्पमा थुन्ने चरम दक्षिणपन्थी विज्ञापन स्वीकृत गरिरहेको थियो।  मस्कले टेस्लाको मुख्य कारखाना रहेको चीनमा बनेका इलेक्ट्रिक गाडीमाथि ईयूको कर-ट्यारिफ विरुद्ध पनि मुद्दा दायर गरेका छन्।

२०२५ नोभेम्बरमा उर्सुला भोन डर लेयेनले डेमोक्रेसी शिल्ड ल्याइन्— विदेशी प्रभाव र अनलाइन झूट रोक्ने, मुख्यतः रुसी प्रोपागन्डा विरुद्ध। मस्कले यसलाई आफूमाथि ठानेर प्रत्यक्ष चुनावको माग गरे। ईयू अध्यक्ष निर्वाचित नेताहरूले छान्छन् र संसदले अनुमोदन गर्छ। मस्क र थिल दुवैलाई ईयूसँग रिस छ। थिलले नियमनलाई ईर्ष्या र एआई नियमनलाई एन्टिक्राइस्ट भनेका छन्। ट्रम्प फर्किएपछि अमेरिकी नीति टेकसँग मिलेको छ। ह्वाइट हाउसले एआई नियमन गर्ने राज्यहरूमाथि मुद्दा हाल्ने भयो। भ्यान्सले नेटो सहयोग रोक्ने धम्की दिए र युरोपलाई अभिव्यक्ति स्वतन्त्रता नमान्ने भने, बरु आप्रवासी हटाउने जनइच्छाको सम्मान गर्न सुझाए।

म्युनिखको भ्रमणमा जेडी भ्यान्सले एएफडीसँग लामो छलफल गरे र २०२५ चुनावमा पार्टीलाई प्रतिबन्ध लगाउन खोज्ने जर्मन अधिकारीहरूको आलोचन समेत गरे। त्यसो भए युरोपका उदारवादी नेताहरूले चरम दक्षिणपन्थीको उदयलाई कसरी प्रतिक्रिया दिएका छन्? धेरै अवस्थामा उनीहरूले दक्षिणपन्थीको भाषा अपनाएका छन्।

२०२५ मेमा बेलायती प्रधानमन्त्री किर स्टार्मरले आप्रवासी सङ्ख्या घटाउने र नागरिकता कडा पार्ने श्वेत पत्र ल्याए। एनोच पावेलसँग दाँजिएको भाषणमा उनले भने – “बेलायत अपरिचितहरूको टापु हुँदैछ। दुरुपयोगलाई प्रोत्साहन गर्ने, व्यवसायहरूलाई सस्ता विदेशी कामदार ल्याउन दबाब दिने वा झूटो वाचासहित बेच्ने आप्रवासन प्रणालीले देशलाई टुक्र्याउने शक्तिलाई बल दिइरहेको छ”। स्टार्मरले आप्रवासनमा कडा भएको सन्देश दिन र फराजको रिफर्म युके रोक्न खोजेका थिए। तर यसले उल्टो सन्देश दियो।

फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँ २०१७ मा आप्रवासी पक्षधर नीतिमा सत्तामा पुगेका थिए, तर पछि दक्षिणतर्फ सरे र विरोधीहरूकै मुस्लिम-विरोधी भाषा प्रयोग गर्न थाले। यस्ता विचार मुख्य धारामा पुगेका छन्। २०२२ मा दुई फ्रान्सेली दलले ठुलो प्रतिस्थापन सिद्धान्त बोकेर लडे। २०२३ को अध्ययनले बेलायतका एक तिहाइ नागरिकले यो सत्य मानेको देखायो। आप्रवासनलाई अभिजातहरूको षड्यन्त्र ठान्ने यो विश्वासले जीवनयापन सङ्कटको आक्रोशलाई बढाएको छ, जसले बेलायतमा शरणार्थी होटेल आक्रमण र युरोपमा मुस्लिम विरोधी अपराध वृद्धि गराएको छ। चरम दक्षिणपन्थीहरूले आप्रवासी यौन अपराधका झूटा आँकडा फैलाइरहेका छन्। यसको बिचमा आप्रवासी समुदायहरू असुरक्षित महसुस गर्दै छन् तर केही भने आवाज उठाउँदै छन्।

जर्मनीमा फेब्रुअरी भएको चुनावमा एएफडीले १०% सिट जित्दा अस्पतालहरूले आप्रवासी बिनाका वार्डहरूको कस्तो देखिन्छन् भन्ने अभियान नै चलाए। सो अभियानको दृश्यले आवश्यक कामदार र बूढो महादेशमा आप्रवासी योगदान छर्लङ्गै देखाउँछ।

यसले युरोपको दुई सम्भावित भविष्यको नक्सा चित्र देखाउँछ। एकातिर ईयू नेताहरू छन् जसलाई आप्रवासी कामदारको आवश्यकता छ तर जनतालाई आशाको दृष्टिकोण बेच्न छोडेका छन्। अर्कोतिर विश्वका शक्तिशाली र धनाढ्यसँग जोडिएका चरम दक्षिणपन्थीहरू छन् जो साधारण मानिसहरूको जनचिन्तालाई उपयोग गर्दै, आक्रोशलाई इन्धन दिँदै उदार युरोपको स्वरूप भत्काउन खोज्ने राजनीतिक शक्तिका रूपमा परिणत हुँदै छन्।

उनीहरूको यो डरलाग्दो अन्धकारले भरिएको योजना सफल भयो भने त्यसपछिको अवस्था के हुनेछ, कसैले अनुमान गर्न सक्दैन।

श्रोत:अल जजिरा

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link