डिजिटल युगले डेनमार्कको हुलाक सेवालाई ऐतिहासिक अन्त्य

डेनमार्कको सरकारी हुलाक सेवा ‘पोस्टनर्ड’ ले मंगलबार आफ्नो अन्तिम चिठी वितरण गर्दै ४०० वर्षभन्दा लामो चिठीपत्र सेवा इतिहासको अन्त्य गरेको छ। डिजिटल युगको प्रभावले चिठीपत्रको प्रयोगमा भारी गिरावट आएपछि यो निर्णय गरिएको हो। सन् २००० को तुलनामा २०२४ मा पोस्टनर्डले ९० प्रतिशतभन्दा बढी कम चिठी वितरण गरेको थियो।

डेनमार्क विश्वकै सबैभन्दा डिजिटलाइज्ड देशहरूमध्ये एक हो। यहाँ लगभग सबै नागरिक पूर्ण रूपमा डिजिटल छन्। सरकारी कामदेखि दैनिक सञ्चारसम्म इमेल, एप र अनलाइन पोर्टलमार्फत हुने गर्दछ। पोस्टनर्डका प्रवक्ता एन्ड्रियास ब्रेथभाडका अनुसार, “लगभग हरेक डेन पूर्ण डिजिटल भएकाले भौतिक चिठीको पहिलेजस्तो महत्व रहेन। अहिले अधिकांश सञ्चार इलेक्ट्रोनिक मेलबक्समा आउँछ र ई–कमर्स तथा पार्सल बजारले परम्परागत चिठीपत्रलाई ओझेलमा पारेको छ।”

यो परिवर्तनको संकेत जुन महिनादेखि नै देखिएको थियो। देशभर छरिएका १,५०० रातो हुलाक बाकसहरू हटाइएका छन्। डिसेम्बर १० मा ती बाकसहरूलाई च्यारिटीका लागि बिक्री गरिएको थियो। एउटा बाकसको मूल्य अवस्थाअनुसार १,५०० देखि २,००० डेनिस क्रोन (लगभग २३६ देखि ३१५ अमेरिकी डलर) राखिएको थियो। हजारौं डेनहरूले यी ऐतिहासिक बाकसहरू किनेका छन्। कोपनहेगनको सेन्ट्रल पोस्ट बिल्डिङ, जुन सन् १९१२ मा खुलेको थियो, अहिले लक्जरी होटलमा परिणत भएको छ।

कोपनहेगनको केन्द्रीय हुलाक भवनलाई लक्जरी होटलमा रूपान्तरण गरिएको छ

अब डेनमार्कका नागरिकले चिठी पठाउनुपरेमा पसलहरूमा रहेका कियोस्कमा लगेर जम्मा गर्नुपर्नेछ। त्यहाँबाट निजी कम्पनी ‘डीएओ’ले घरेलु तथा अन्तर्राष्ट्रिय ठेगानामा चिठी पुर्‍याउनेछ। डीएओले सन् २०२५ मा करिब ३० मिलियन चिठीबाट बढाएर २०२६ मा ८० मिलियन चिठी वितरण गर्ने योजना बनाएको छ। तर यो सेवाका लागि डिजिटल भुक्तानी अनिवार्य हुने भएकाले वृद्धवृद्धा र डिजिटल पहुँच नभएकाहरूलाई असुविधा हुन सक्ने चिन्ता व्यक्त भएको छ। डेनएज एसोसिएसनकी प्रवक्ता मार्लेन रिसहोएज कोर्डेसले भनिन्, “डिजिटल नभएकाहरूलाई यो सुविधा दिन बिर्सियौं। घरबाट चिठी संकलन सेवा पनि डिजिटल भुक्तानीमै निर्भर छ।”

पोस्टनर्डले भने पार्सल वितरणलाई निरन्तरता दिनेछ। अनलाइन शपिङको लोकप्रियतासँगै पार्सल बजार फस्टाइरहेको छ। यो निर्णयले करिब १,५०० जागिर कटौती भएको छ। पोस्टनर्डका डेपुटी सीईओ किम पेडरसनले यो निर्णयलाई “कठिन” बताउँदै भने, “हामी ४०० वर्षदेखि डेनहरूको हुलाक सेवा थियौं, यो इतिहासको एउटा अध्याय बन्द गर्नु दुःखद छ।”

डेनमार्क चिठी वितरण बन्द गर्ने विश्वको पहिलो देश बनेको छ। विज्ञहरूका अनुसार यो डिजिटल परिवर्तनको विश्वव्यापी ट्रेन्ड हो। भौतिक चिठी अब विशेष र व्यक्तिगत सन्देशका लागि मात्र सीमित हुन सक्छ। यद्यपि विश्वका २.६ बिलियन मानिस अझै अफलाइन छन्, डेनमार्कको यो कदमले डिजिटल युगको प्रभाव स्पष्ट देखाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link