धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन्।
ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो। उनले गत कात्तिक दोस्रो साता छ किलोग्राम प्याजको बीउ जमाएकी आचार्यले पुस दोस्रो हप्तासम्म रु एक लाखको बिरुबा बिक्री भएको बताइन्।
“पहिलो चरणमा उत्पादन गरेको बिरुवा बिक्री हुने अन्तिम चरणमा छ, माघमा लगाउनका लागि बिरुवाको माग आएपछि थप बीउ जमाएको छु”, उनले भनिन्, “एक रोपनी क्षेत्रफल बारीमा उमारेको प्याजको बिरुवाबाट दुई महिनामै रु एक लाखको बिरुवा बिक्री भयो।”
रु २५ हजार लगानी गरेकी आचार्यले सबै बिरुवा बिक्री गरिसक्दा करिब रु एक लाख ५० हजार आम्दानी हुने अनुमान गरेकी छन्। आचार्यले पछिल्लो तीन वर्षयता प्याजको बिरुवा उत्पादन गर्दै आएकी छिन्।
उनको नर्सरीमा उत्पादन भएको प्याजको बिरुवा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, धारापानी, मराङ, मल्कवाङ, मालिकाको देवीस्थान र बिमका साथै पोखरामा पनि बिक्री भएको छ। फोन गरेर माग गर्ने किसानले घरबाटै खातामा पैसा पठाइदिन्छन्। बिरुवालाई प्याक गरेर गाडीमा राखेर किसानलाई पठाउने गरेकी छिन्। एक मुठा प्याजको बिरुवा रु एक सयका दरले बिक्री भएको छ। सानो बिरुवा दुई सय र ठुला बिरुवा एक सयभन्दा बढीको मुठा बनाउने गरिएको छ।
हरियाली कृषि समूहका अध्यक्षसमेत रहेकी आचार्यले सङ्गम म्याग्दीले आयोजना गरेको तालिममा सहभागी भएर प्याजको बिरुवा उत्पादनसम्बन्धी सीप हासिल गरेका थिए। यसअघि ताकम कौछिनीका भेषनाथ गौतमले करिब दुई दशकसम्म प्याजका बिरुवा उत्पादन गर्ने गरेका थिए।
गौतमले बिरुवा उत्पादन गर्न छाडेपछि धवलागिरि क्षेत्रका किसानले करेसाबारीमा प्याज खेती गर्न समस्या भएको थियो। नर्सरी सञ्चालनका लागि प्राविधिक ज्ञान, सीप र उपयुक्त हावापानी हुने भूगोलमा जमिन आवश्यक पर्छ। आचार्यले बिरुवा उत्पादन गर्न थालेपछि धवलागिरि र छिमेकी गाउँपालिकाका बासिन्दाले करेसाबारीमा प्याज खेती गर्न पाएका छन्। घरायसी उपभोगका लागि बजारबाट प्याज खरिद गर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले बताए।
समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको ताकमको हावापानी नर्सरी र बिरुवा उत्पादनका लागि अनुकूल मानिएको छ। चिसो हावापानीमा उत्पादन भएको बिरुवामा रोग, कीराको प्रतिरोधात्मक क्षमता र गुणस्तरीय हुने बताइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सरकारी विज्ञापन निषेधको निर्णय सर्वाेच्चद्धारा खारेज
- फिफा विश्वकप २०२६: पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबिच महाभिडन्त
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?