डाँडाभरि लटरम्म कफीः गाउँपालिकाको अनुदानले किसानमा उत्साह

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन्। उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन्।

अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ। मकै, कोदोलगायत खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले थोकरले कफीखेतीलाई निरन्तरता दिँदै आएको बताए।

उनी अहिले कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन्। यस वर्ष करिब रु २५ लाखसम्म आम्दानी हुने अनुमान गरिएको थोकरले उल्लेख गरे। “गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ”, उनले भने, “खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ।” गाउँमा थोकरको परिवारले पहिलोपटक व्यावसायिक कफीखेती सुरु गरेकाे हाे।

सोही ठाउँका ज्ञानबहादुर बोम्जनले छ वर्षदेखि व्यावसायिक कफीखेती गर्दै आएका छन्। “कोदो, मकै लगाउँदा वर्षभरि खट्नुपर्छ, कफीखेतीमा तीन महिना खट्दा लाखौँ आम्दानी हुन्छ”, उनले भने, “छ रोपनी जग्गामा करिब दुई हजार बोट रोपेर त्यसबाट आम्दानी लिँदै आएको छु।” गत वर्ष रु पाँच लाख आम्दानी गरेको जनाउँदै उहाँले यस वर्ष करिब रु १० लाख आम्दानी हुने बताए।

महाभारतको महादेवराटका पातली माया घिसिङले धान रोप्न छोडेर कफीखेती गरेकी छिन्। दश वर्षदेखि खेती गर्दै आएकी उनले धानभन्दा दोब्बर आम्दानी हुने भएकाले कफीखेतीलाई प्राथमिकता दिएको बताएन्। “पहिलापहिला मकै, कोदो रोप्दा खानालाई मात्रै ठिक हुन्थ्यो। छोराछोरीलाई पढाउन ऋण लिनुपर्ने अवस्था थियो। त्यसलाई छोडेर कफीखेती गर्न थालेपछि खर्च कटाएर मनग्य आम्दानी हुन्छ”, उनले भनिन्। उनका अनुसार वर्षको करिब एक हजार ५०० किलोसम्म कफी उत्पादन हुन्छ।

गाउँपालिकाका कृषि शाखा प्रमुख खिम डाँगीले विसं २०७८ देखि कफीको बिरुवा वितरण गर्न थालेकामा अहिलेसम्ममा तीन लाख ३१ हजार वितरण गरिसकिएको बताए। उनका अनुसार गाउँपालिकाको चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको छ। पालिकाका एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका जनाउँदै पछिल्लोसमय यसप्रति किसानको आकर्षण बढ्न थालेको उनले बताए।

किसान कफीखेतीमा आकर्षित भएपछि गाउँपालिकाको समन्वयमा बगमती प्रदेश सरकारको सहयोगमा समुदायमा आधारित ‘एक वडा एक कृषि कफी उत्पादन कार्यक्रम’समेत सञ्चालन हुँदै आएको कृषि शाखा प्रमुख डाँगीले जानकारी दिए।

उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत अहिलेसम्म ३८ हजार कफीका बिरुवा, पाँच हजार छहारीका बिरुवा, १२ थान मिनी टिलर, चार थान कफी पल्पर मेसिन, ५० थान ड्रम, दुई रोपनी क्षेत्रफलमा थोपा सिँचाइ, दुई रोपनी क्षेत्रफलमा प्लास्टिक मल्चिङसहित कफी बगैँचा, एउटा कफी नर्सरी र तीन वटा सिँचाइ पोखरी कार्यक्रम सम्पन्न भएका छन्।

यहाँका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित हुन थालेपछि गाउँपालिकाले अनुदानमा कफीका बोट र आवश्यक उपकरण वितरण गर्नुका साथै एक बोट बराबर रु २० का दरले अनुदानसमेत दिन थालेका कृषि शाखा प्रमुख डाँगीले बताए।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विगत केहीवर्षदेखि माटो परीक्षण गर्ने, किसानलाई अनुदानमा बिरुवा तथा कफी प्रशोधन गर्ने उपकरण वितरण गर्नेदेखि कफीको बोट रोप्ने किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ कार्यक्रमसहित प्रतिबोट रु २० का दरले अनुदान दिने गरिएको जानकारी दिए।

एकातिर पालिकाको सहयोग अर्कोतर्फ कफी खरिदका लागि घरआँगनमा आउन थालेपछि किसानमा उत्साह छाएको छ। कफीबाट किसानलाई आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ।

महाभारत गाउँपालिकाबाहेक अन्य सरोकार भएका निकायले पनि आवश्यक सहयोग र समन्वय गरेकाले कफीखेतीतर्फ आकर्षित हुन थालिएको किसानको भनाइ छ। टिपेर काँचै बिक्री गर्न सकिने र पेलेर, सफा गरेर पनि बिक्री गर्न सकिने भएकाले सबैले कफीखेती गर्न थालेका किसानहरू बताउँछन्।

पछिल्लो समय यहाँ कफी टिप्ने मौसम भएकाले आपसमा आलोपालो गरेर दैनिकजसो पाकेको कफी टिप्ने, पल्पर मेसिनमा हालेर बोक्रा फाल्ने र चेरी सुकाउने काममा किसानको व्यस्तता बढेको छ।

पहिलादेखि खेती गर्दै आएको भए पनि पछिल्लो समयमा बजारीकरण र सडक सञ्जाल खुलेपछि अधिकांशको आम्दानीको स्रोत कफीखेती भएको छ। पछिल्लो समयमा डाँडापारि क्षेत्रमा उत्पादन भएको कफी खरिदका लागि विदेशी सङ्घसंस्थाका प्रतिनिधिहरू बगैँचासम्म पुग्ने गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link