सिड्नीबाट एक महिनामा युवाहरूको दश शव नेपाल पठाइयो !

अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूबिच आत्महत्याका घटना बढ्दै गएर पछिल्लो एक महिनामा अस्ट्रेलियाको सिडनी सहरबाट मात्र दश जना नेपाली युवाको शव नेपाल पठाइएको तथ्य बाहिरिएको छ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषा किरणले भनिन- ती सबै मृतक २३ देखि ३० वर्ष उमेर समूहका नेपाली विद्यार्थी थिए। अध्ययनको उद्देश्यले अस्ट्रेलिया पुगेका उनीहरू विभिन्न व्यक्तिगत, सामाजिक र मानसिक कारणले गम्भीर तनावमा परेर आत्महत्यातर्फ धकेलिएको हुनसक्ने अनुमान गरिएको छ।

उषा किरणका अनुसार धेरै विद्यार्थीले बिचमै पढाइ छाड्ने, लागु औषध दुर्व्यसनमा फस्ने, जुवा तासजस्ता गतिविधिमा संलग्न हुने, वा अत्यधिक महत्त्वाकाङ्क्षा र अपेक्षाका कारण गहिरो निराशामा पुग्ने गरेका छन्। विशेष गरी समाजसँग घुलमिल नगर्ने, एक्लोपन रोज्ने र आफ्ना समस्या कसैसँग नबाँड्ने विद्यार्थीहरू बढी जोखिममा रहेको बताइएको छ।

कतिपय विद्यार्थी न पढ्ने न काम गर्ने अवस्थासम्म पुगेका छन्। यस्ता विद्यार्थीहरूले नेपालमा रहेका परिवारसँग निरन्तर पैसा माग्ने गरेका छन्। पढाइ बिग्रँदै गएको, व्यवहारमा आएको नकारात्मक परिवर्तन र आफ्नो अवस्थाका कारण परिवार ऋणमा डुबिरहेको महसुस भएपछि उनीहरू अझ बढी मानसिक दबाबमा पर्ने गरेको देखिन्छ।

पढाइ र काम दुवै ठप्प भएपछि धेरै विद्यार्थीको भिसा अवस्था समेत अवैधानिक बन्ने गरेको छ। लामो समय कलेज नगएपछि उनीहरू अध्ययन प्रणालीबाट बाहिरिन्छन् र अन्ततः रेल स्टेसन, सडक किनार वा अस्थायी आश्रयमा बस्न बाध्य हुने अवस्थासमेत देखिएको छ।

समुदायका अनुभव र प्रारम्भिक अध्ययनअनुसार यस्ता कठिन परिस्थितिले विद्यार्थीहरूलाई झन् खराब सङ्गत, लागु औषध दुर्व्यसन र मानसिक असन्तुलनतर्फ धकेल्ने गरेको छ।

युवाहरूको आत्महत्याको सङ्ख्या बढ्न थालेपछि अस्ट्रेलियाका नेपाली समुदाय र सरोकारवाला निकायहरू गम्भीर चिन्तामा छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link