आज माघ १ : मकर संक्रान्तिमा देशभर माघ स्नान र मेलाको उत्साह

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ। आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ। आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।

माघ महिनामा माघमाहात्म्यको पनि ठुलो महत्त्व छ। स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबिच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ। यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।

यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रत कथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्छन्। यसैले यसलाई माघस्नान पनि भनिन्छ।

माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link