माघ १ मा घरको योजना बनाउने थारू परम्परा विलुप्त हुँदै

थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना बनाउने चलन थियो। घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो।

तर अहिले त्यो चलन हराउँदै गएको थारू अगुवा रामबहादुर दहितले बताए। “हामीले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछौँ, पहिलो दिन माघ १ गते विगत वर्षको समीक्षा गर्ने, वर्षभरि गर्ने कामको समीक्षा गर्ने, सन्तानको विवाह गर्ने, घर निर्माण गर्नुपरेमा कसरी बनाउने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्ने भनेर निर्णय गर्ने चलन थियो”, उनले भने, “तर अहिले त्यो चलन विस्तारै हराउँदै गएको छ।”

यो थारू समुदायको संस्कारसँग जोडिनुका साथै गणप्रथाका रूपमा रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको पनि उनले बताए। माघ १ गते घरमा निर्णय गरेपछि २ गते महतवाको घरमा जम्मा भएर घरको निर्णय सुनाउने चलन हुन्छ। महतवाको घरमा वर्षभरिका कामको समीक्षा गर्ने, आगामी वर्षका लागि बिहे गर्नुपर्ने चेली भए कसरी गर्ने भन्ने सल्लाह हुने गर्छ। त्यसैगरी, २ गते नै महतवा चुन्ने पनि चलन हुन्छ। त्यसपछि ३ गतेदेखि खानपिन गर्ने, रमाइलो गर्ने चलन हुन्छ।

यसरी माघ महिनाभर थारू समुदायले माघी पर्वका रूपमा मनाउँछन्। यो पर्व थारू समुदायको नयाँ वर्षका रूपमा रहेको पर्व हो। अहिले थारू समुदायमा नाचगान चलिरहेको छ। पाँच दिन यसरी नाचगान चल्ने गर्छ। माघीमा खासगरी मघौटा नाच नाच्ने चलन हुन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link