ढोरपाटनमा पर्यटकको चहलपहल बढेको छ

यति बेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानीपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायी मात्र यहाँ छन् । पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो । तर यस वर्ष यो याममा पनि पर्यटकको चहलपहल छ । बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ ।

गत वर्ष पनि यति बेला ढोरपाटन सुनसान नै थियो । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल हुने गरे पनि चैतसम्म सुनसान हुन्थ्यो । चिसो याममा पनि पर्यटक आउन थालेपछि होटेल व्यवसायी उत्साहित छन् । अघिल्लो वर्षसम्म करिब चार महिना होटेल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटेल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताए ।

पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको भन्दै हिउँद याममा पनि पर्यटकको चहलपहल भएको पहिलो पटक भएको उनको भनाइ छ । यो सिजनमा शुक्रवार र शनिवार करिब दुई सय र अन्य बेला ३०–५० जना पर्यटक ढोरपाटन आउने गरेको अध्यक्ष अदैले बताए । यहाँको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशैभरबाट पर्यटक आउन थालेको उनको भनाइ छ ।

“गत वर्ष यो बेला त सुनसान नै भएको थियो, तर यसपालि दैनिक जसो पर्यटक आइरहेका छन्, हिउँ पर्दा बुर्तिबाङ र त्यस आसपासबाट मान्छे हिउँ खेल्न आउँथे तर यसरी घुम्न आउने गर्दैनन्थे”, अध्यक्ष अदैले भने, “अब त बिस्तारै सडक पनि राम्रो हुँदै छ, आगामी वर्षदेखि त ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा जागेको छ ।”

एक दशक अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून थियो । तर अहिले तीव्र प्रचारप्रसारका कारण बर्खाको समयमा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ढोरपाटन उपत्यकासँगै बुकी पाटन र जलजला जानेको सङ्ख्या पनि उस्तै छ । होटेल व्यवसायी धीरेन्द्र घर्तीमगरले खान र बस्नका लागि राम्रो सुविधा हुन थालेपछि जाडो याममा पर्यटक आउन थालेको बताए । टाढादेखि आउने पर्यटकले अग्रिम कोठा ‘बुकिङ’ गर्ने गरेको उनको भनाइ छ ।

नवलपुरदेखि घुम्न आएका आशिष पुरीले ढोरपाटनमा बढी चिसो भए पनि यहाँको सुन्दरताले लोभ्याएको बताए । जाडो बिदामा नौ जनाको समूह घुम्न आएको उनको भनाइ छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ढोरपाटनको मनमोहक तस्बिर तथा भिडियो देखेकाले घुम्न आएको उनले सुनाए । यो सिजनमा ढोरपाटन आउँदा न्यानो भएर आउन उनले सुझाए ।

जाडोका कारण स्थानीय बोबाङ, अधिकारी चौर र निसीखोला झरेका छन् । उनीहरू अब चैत लागेपछि मात्र ढोरपाटन उक्लिने गर्छन् । पोहोर सालसम्म पर्यटकको आगमन कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे । तर अहिले त्यस्तो अवस्था छैन । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटेल व्यवसाय गर्ने स्थानीय कम थिए  । तर अहिले ढोरपाटन उपत्यकामा मात्र करिब ४० हाराहारी होटेल सञ्चालनमा छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link