लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता

मगर समुदायको मौलिक लोक संस्कृति पुर्ख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए। प्रतियोगितामा बिम तल्लो गाउँ पहिलो, पन्थोक राजदाङ दोस्रो र चिउरीबोट तेस्रो भएको नेपाल मगर संघ मालिकाका अध्यक्ष ओमकार रोकाले जानकारी दिए।

उनका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने कलाकार समूहलाई क्रमशः रु। ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ। मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्षहरू पथबहादुर रोका, उदयबहादुर रोका लगायतले पुरस्कार वितरण गरेका थिए।

“मगर समुदायको जन्म, मृत्यु, विवाह, छेवारमा अनिवार्य प्रस्तुत गर्नुपर्ने पुर्ख्यौली नाच संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्ने उद्देश्यले मालिकामा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो,” उनले भने “अग्रज र नयाँ पुस्ताका कलाकार सँगै पुर्ख्यौली प्रतियोगितामा सहभागी भएर पुस्तान्तरणको वातावरण बनेको छ।”

पुर्ख्यौलीमा माया प्रेम, प्रकृति र सामाजिक घटनाहरूलाई सोरठी, यानीमाया, खेली, ठाडो खेली, दरखेली, भालै भाका, चुड्के खेली, लस्के खेलीको भाकामा गीत गाउने गरिन्छ। गीत मार्फत प्रकृति र देवी देवताको सम्मान गर्दा सरस्वती जागेर शरीर काम्ने यो नाचको अनौठो विशेषता रहेको मालिका गाउँपालिका–२ रुमका कलाकार तविलाल पुनले बताए।

“पुर्ख्यौली गीत, नृत्यले देवी देवताहरुको सम्मान गर्छ,” उनले भने “लोककथाका विषयलाई गीत र नृत्यका माध्यमबाट प्रस्तुत गर्नु नै पुर्ख्यौलीको प्रमुख विशेषता हो।” दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ। गीतको भाका र नाच्नेहरूबिच मादलको ताल मिल्नुपर्छ। पुर्ख्यौली सात रात सात दिनसम्म पनि गाएर/ नाचेर नसकिने मान्यता छ।

पुर्ख्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन्। पुरुषहरू कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भांङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन्।

विशेष गरी यो नाच सुरु गर्नु पूर्व सरस्वती जगाउने गरिन्छ। मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरू एक्कासि काम्ने गर्छन्। वैदेशिक रोजगारीका कारण युवा र पुरानो पुस्ताबिचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालीम, सहजीकरण लगायतका माध्यमबाट संस्कृति संरक्षणमा पहल गरेको मालिका गाउँपालिका–७ बिम तल्लोगाउँका बुद्धीबहादुर जुग्जालीले बताए।

“केही वर्ष अघिसम्म बुढापाकाहरू मात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौ,” उनले भने “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुर्ख्यौली संस्कृतिको ज्ञान, सिप र मौलिकता हस्तान्तरण गरेर लोप हुन दिँदैनौ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link