विभिन्न जिल्लामा वर्षासँगै भारी हिमपात, जनजीवन प्रभावित

मुस्ताङ, हुम्ला, बाजुरा, बैतडी र बागलुङलगायतका जिल्लामा मंगलबार रातिदेखि वर्षासँगै भारी हिमपात भएको छ। हिमपातका कारण उच्च हिमाली तथा पहाडी क्षेत्रका डाँडाकाँडा सेताम्मे भएका छन् भने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। यसले हिउँदे बाली सप्रिने आशा भने बढाएको छ।

मुस्ताङमा मंगलबार रातिदेखि विभिन्न भेगमा भारी हिमपात भएको छ। अधिकांश स्थानमा वर्षा पनि भएको छ। सशस्त्र भारी हिमपातका कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ भने केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए।

हुम्लामा पनि मंगलबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ। यसले मुगु, डोल्पा, जुम्ला र कालिकोटलाई पनि प्रभावित पारेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शंकर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।

बाजुराका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ। हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ। वर्षासँगै हिमपात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए।

बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ। जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो। हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ।

बागलुङका उच्च पहाडी क्षेत्रमा पनि भारी हिमपात भएको छ। ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन्। हिमपातका कारण धारामा पानी जमेको छ भने निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ। ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ। हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link