पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ। चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए। आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए।
आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक किसिमका भाँडाकुँडाहरू प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको कार्कीले बताए। ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडाहरू दही र मही राख्नका लागि प्रयोग गरिन्छ। काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ।
पछिल्लो समयमा बिस्तारै गाउँघरमा काठबाट निर्मित सामग्रीहरू बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का ज्ञानबहादुर नेपाली बताउँछन्। नयाँ पुस्ताहरू बिस्तारै गाउँ छोडेर सहर झर्ने, विदेश जाने र पुराना पुस्ताहरू बिस्तारै उमेरसँगै सकिँदै जान थालेपछि यस्तो समस्या आएको उनले बताए। परम्परागत पेसा र पुराना सामग्रीहरूको संरक्षण गर्नका लागि स्थानीय पालिकाहरूले खासै चासो देखाएका छैनन्। पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा खासै प्राथमिकता नदिएको चुँदारा समुदायको गुनासो छ।
परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा बिस्तारै काठका भाँडाहरू लोप हुँदै जान थालेका हुन। बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडाहरू झट्ट देख्दा आकर्षक र राम्रा र चिटिक्क देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए। यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरूको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनका लागि पालिकाहरूले थप सहयोग पुर्याउनुपर्नेमा उनले जोड दिए।
परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरूको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ। परम्परागत रूपमा उक्त पेसा गर्दै आएका व्यवसायीहरूले पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउन समेत गाह्रो भएको बताउँछन्। आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि बोकेर गाउँगाउँमा डुलाउँदा कहिलेकाहीँ बिक्री नहुँदा त्यत्तिकै फर्कनु परेको छत्रकोट गाउँपालिका‐१ हुँगाका यमन सुनारले गुनासो गरे।
काठबाट निर्मित भाँडाको महत्वको बारेमा जानकारी नभएका कारण पछिल्लो समयमा चुँदारा समुदायको पेसा सङ्कटमा परेको हो। गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा आकारअनुसार रु ७०० देखि रु सात हजारसम्म पर्ने गर्दछ। जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोसेली घरमा भने फाट्टफुट्ट रूपमा यस्ता प्रकारका सामग्रीहरू बिक्रीका लागि राखिने गरिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीमितलाई एक लाख उपचार सुविधा कायम, ओपिडीमा सीमितता
- टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली
- अपराध गरेर विदेश लुकेका १० जनालाई इन्टरपोल सहयोगमा नेपाल फर्काइयो
- सञ्चारमाध्यम उल्लङ्घनमा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन
- निर्वाचन आयोगद्वारा नागरिक शिक्षा स्रोत सामग्री सार्वजनिक
- आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
- बुवाको पहिचान नहुँदा एघार वर्ष आमाको नामबाट नागरिकता
- कृषि क्षेत्र सुस्त, उद्योग र सेवा चलायमान, चालु आवको वृद्धिदर ३.५%
- आज उच्च पहाड र हिमालमा बदली, तराईमा तुँवालोको सम्भावना
- मुस्ताङ निर्वाचन : ३६ देखि ६८९ मतदातासम्मका केन्द्र, ३९ स्थान कायम