बागलुङमा यस वर्ष रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ। यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष रु २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो। पछिल्लो समय बाँझो खेतबारीमा किसानले सुन्तलाखेती गर्न थालेपछि बर्सेनि उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए। बसाइँसराइले रित्तिँदै गएका गाउँमा समेत राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ।
पहिले कोदो, मकै, गहुँलगायतका खाद्य बाली लगाउने बारीमा हिजोआज सुन्तलाखेती गर्न थालिएको प्रमुख पुन मगरले बताए। कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषकहरू सुन्तलाखेतीप्रति आकर्षित उनी बताउछन्। यस वर्ष चार हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिए। किसानले न्यूनतम रु प्रतिकिलो रु ६५ ले बिक्री गरेको उनको भनाइ छ।
उनले भने, “पछिल्लो समय सुन्तलाखेतीप्रति धेरै किसान आकर्षित हुनुभएको छ, पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेका छन्, हरेक वर्ष सुन्तलाखेती हुने क्षेत्रफल बढ्दै गएको छ, कोदो, मकै, गहुँ र फापर फल्ने बारी हिजोआज सुन्तलाका बोटले ढाकिएका छन्, धेरै झन्झट नहुने, कम मेहनतमा धेरै उत्पादन गर्न सकिने हुँदा सुन्तला खेतीतर्फ आकर्षण बढ्दो छ।”
विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ। अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ।
काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष रु छ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा रु आठ लाखमा बगान नै व्यापारीलाई दिएको बताए। सुन्तलाका लागि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ। अघिल्लो वर्ष औसा किराले झण्डै एक लाखको सुन्तला नष्ट गरी दिएको कँडेल बताउछन्।
सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको सुनाए। फल दिने बोट बढेको र मौसमले राम्रो साथ दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीमितलाई एक लाख उपचार सुविधा कायम, ओपिडीमा सीमितता
- टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली
- अपराध गरेर विदेश लुकेका १० जनालाई इन्टरपोल सहयोगमा नेपाल फर्काइयो
- सञ्चारमाध्यम उल्लङ्घनमा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन
- निर्वाचन आयोगद्वारा नागरिक शिक्षा स्रोत सामग्री सार्वजनिक
- आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
- बुवाको पहिचान नहुँदा एघार वर्ष आमाको नामबाट नागरिकता
- कृषि क्षेत्र सुस्त, उद्योग र सेवा चलायमान, चालु आवको वृद्धिदर ३.५%
- आज उच्च पहाड र हिमालमा बदली, तराईमा तुँवालोको सम्भावना
- मुस्ताङ निर्वाचन : ३६ देखि ६८९ मतदातासम्मका केन्द्र, ३९ स्थान कायम