हरेक वर्ष फेब्रुअरी २ मा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार र परम्परागत ज्ञान : सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नारासहित नेपालमा पनि मनाइँदै छ। पानीको मुहान, दलदल, ताल, तलैया, नदी, र धानखेतजस्ता पानी जमेका क्षेत्रलाई सिमसार भनिन्छ।
जैविक विविधताले भरिपूर्ण यी क्षेत्रले जीवजन्तुलाई बासस्थान र मानिसलाई जीविकोपार्जनको स्रोत प्रदान गर्छन्। सन् १९७१ मा इरानको रामसार सहरमा भएको महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो।
नेपाल सन् १९८८ देखि यस महासन्धिको पक्ष राष्ट्र बनेको छ र हालसम्म नेपालका कोशीटप्पु, रारा, फोक्सुन्डो, गोसाइँकुण्ड लगायत १० वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन्, जसले ६० हजार ५ सय ६१ हेक्टर क्षेत्रफल ओगटेका छन्।
सिमसार क्षेत्रलाई प्रकृतिको मिर्गौला मानिन्छ किनभने यसले जल र जमिनबीचको अन्तरक्रियाबाट पानीलाई शुद्धीकरण गर्ने, बाढी नियन्त्रण गर्ने र तापमान सन्तुलनमा राख्ने काम गर्छ। विश्वका ४० प्रतिशत वनस्पति र वन्यजन्तु सिमसारमै आश्रित छन्।
नेपालमा पाइने १७२ लोपोन्मुख प्रजाति, १९३ प्रजातिका चरा र २५ प्रतिशत वनस्पति सिमसार क्षेत्रमै निर्भर रहेको तथ्यांक छ। यसले पर्यावरणीय सुरक्षा कवचको काम गर्नुका साथै पर्यटकीय गन्तव्यका रूपमा पनि आर्थिक टेवा पुर्याइरहेको छ।
यति धेरै महत्त्व बोकेको भए पनि नेपालका सिमसार क्षेत्रहरू मानवीय अतिक्रमण र जलवायु परिवर्तनको चपेटामा परेका छन्। अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, ढल निकास र अत्याधिक दोहनका कारण सिमसारहरू सुक्ने र लोप हुने अवस्थामा पुगेका छन्।
पानीका स्रोत घट्दै जानु र सिमसारको क्षेत्रफल खुम्चिनुले पर्यावरणमा गम्भीर असर पारिरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार जनचेतनाको कमीले गर्दा सिमसार क्षेत्रमा मिचाहा प्रजातिको अतिक्रमण र रासायनिक मलको प्रयोग चुनौतीका रूपमा देखिएको छ।
सिमसार संरक्षणका लागि नेपाल सरकारले संविधान, सिमसार नीति, वातावरण संरक्षण ऐन लगायतका कानुनी व्यवस्थाहरू गरेको छ। तीनै तहका सरकारको समन्वयमा पुराना पोखरीको संरक्षण र नयाँ निर्माण गर्ने कार्य भइरहेको दाबी सम्बन्धित निकायले गरेका छन्।
यद्यपि, बढ्दो सहरीकरण र मानवीय गतिविधिका कारण यी प्रयासहरू पर्याप्त देखिँदैनन्। भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न र जैविक विविधता जोगाउन सिमसार क्षेत्रको संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य देखिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान